काठमाडौं । काठमाडौं उपत्यका अहिले सुनसान भएको छ । बडा दशैं मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडाैँ सुनसान भएकाे हाे ।
सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । धेरैजसो मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर घरमै केन्द्रित छन् । त्यसैले सार्वजनिक यातायातका साधन पनि फाट्टफुट्टमात्र चलेका छन् ।
काठमाडौं उपत्यकाबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, कोटेश्वर, बालाजु, बल्खु लगायतका क्षेत्र पनि आजदेखि सुनसान देखिन्छन् । यी नाकाहरुबाट दैनिक एक लाख मानिसहरु काठमाडौं उपत्यकाबाट बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुमानित तथ्यांक छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको अनुमान छ ।