काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औं वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्यमा निर्वाचित बनेका थिए । साथै उनी नवनिर्वाचित सञ्चालक समितिको पहिलो बैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।
शपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिटेन्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आईएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आईएमई बैंकको अवस्थासम्म आइपुगेको स्मरण गरेका थिए । ग्लोबल आईएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक मात्र नभई एक सबल र सक्षम बैंक बन्न सफल भएको उनको भनाइ थियो ।
ग्लोबल आईएमई बैंकलाई अहिलेको अवस्थासम्म पुर्याउन राष्ट्र बैंक र नेतृत्वले पुर्याएको सहयोगको स्मरण गर्दै उनले बैंकिङ क्षेत्रलाई थप विस्तार गर्न भविष्यमा पनि यस किसिमको सहयोग आवश्यक रहने बताए ।