काठमाडौँ । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु जीतका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय १५ रन बनाएको हो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रनको योगदान दिइन् । उनले ३७ बलमा दुई चौका हिर्काइन् । त्यस्तै ओपनर कविता कुँवरले ३१ बलमा २३ रन बनाइन् । उनले पनि दुई चौका नै हिर्काइन् । रुबिना क्षेत्रीले १८ बलमा २० रन बनाइन् । उनले यस क्रममा दुई चौका प्रहार गरेकी थिइन् । खेलको अन्त्यतिर डली भट्टले विस्फोटक पाली खेलिन् । उनले रनआउट हुन अघि १४ बलमा २५ रन बनाइन् । उनले दुई छक्का र एक चौका हिर्काइन् ।
मलेसियाका लागि माहिरा इजाती इस्माइलले २ विकेट लिइन् भने विनिफ्रेड दुराइसिंगमले १ विकेट लिइन् । यो प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छ । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् । यसअघि पहिलो सेमिफाइनल खेलमा यूएईले थाइल्यान्डलाई पराजित गर्दै टी–२० एसिया कपमा स्थान पक्का गरिसकेको छ ।