धान नबिकेपछि झापाका किसान चिन्तित

13.6k Shares

झापा । चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन एक हजार ५० देखि एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ का किसान दुर्गाप्रसाद थापाले बताए । 

“मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उनले भने, “किसानले धान बाटोमा राख्नुपर्ने अवस्था आइसकेको छ ।” खेतमा धान पाकेर अलपत्र परेको उनले बताए । 

धान स्थान सुपरजोन समन्वय समितिका सदस्यसमेत रहेका उनले किसानलाई सरकारले प्रोत्साहन गरेकै कारण उत्पादन बढ्ने बताए । उनले किसानले उत्पादन गरेको धानको उचित व्यवस्थापन सरकारले गर्नुपर्नेमा जोड दिए । 

करिब तीन बिघा क्षेत्रफलमा चैते धानखेती गरेका कचनकवल–३ का अर्का किसान तोयानाथ मिश्रले यो वर्ष २५० मन धान उत्पादन हुने अनुमान गरेका छन् । “सुरुसुरुमा एक हजार दुई सय प्रतिमन धान बिक्री भयो, सबैतिर धान पाक्न थालेपछि अहिले प्रतिमन नौ सय भएको छ”, उनले भने । 

एक बिघाको धान काटेर थुपार्नु भएका उनले व्यापारीले धान धेरै भयो, मिलले किन्न मानेन भनेर मूल्य कम दिनुका साथै अहिले बिक्री नै ठप्प भएको बताए । एक साताभित्र धानको मूल्य प्रतिमन तीन सयले घटेको उनको भनाइ छ ।

चैते धानमा चिस्यान बढी हुने भएकाले भण्डार गरेर राख्ने अवस्था नरहेको किसान बताउँछन् । मूल्य कम पाए पनि बेच्नैपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ । विगत एक दशकदेखि धान सुपरजोन घोषणा भएपछि कचनकवल क्षेत्रमा धान उत्पादन वृद्धि भएको छ ।

गत चैत १५ गते मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको थियो ।

सम्बन्धित समाचार