काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को १०औं महाधिवेशनको मिति नजिकिदै जाँदा विभिन्न पदका लागि नेताहरूको दौडधुपले तीव्रता पाएको छ । पार्टी विधानअनुसार १९ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटीको चयन हुनेछ ।
पदाधिकारी तथा सदस्यका लागि नेताहरू आन्तरिक छलफल, भेटघाटमा व्यस्त भएका छन् । अध्यक्षका लागि माधवकुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसालले भेटघाटलाई तीव्रता दिएका छन् ।
अगामी नेतृत्वका लागि महाधिवेशनबाट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल पुनः अध्यक्षमा सर्वसम्मत आउन खोजेका छन् । एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री रहेका खनालसमेत अगामी नेतृत्वका लागि आन्तरिक तयारीमा जुटेका छन् । एमालेबाट साढे दुई वर्षअघि विभाजन भएको एकीकृत समाजवादीको अगामी नेतृत्वका लागि नेपाल र खनाल प्रतिस्पर्धाबाट भए पनि नेतृत्वमा आउन खोजेका छन् ।
नेपाल र खनाल दुवैले एमालेको नेतृत्व गरिसकेको र पूर्वप्रधानमन्त्री भएर सरकारसमेत चलाइसकेका अनुभवी नेता हुन् । १०औं महाधिवेशनबाट दुवै नेताले अध्यक्षमा आउने अकांक्षा आफूनिकटका नेतासँग राख्ने गरेका छन् ।
नेपाल र खनालले नेतृत्वका लागि आन्तरिक जोडघटाउमा लागेकै बेला पार्टीका महासचिव घनश्याम भुसालसमेत अगामी नेतृत्वका लागि तयारी अवस्थामा रहेका छन् । नेपाल र खनाल दुवै नेता नेतृत्वका लागि जोडबलका साथ लागिरहेका बेला भुसालले आफू सर्वसम्मत अध्यक्षमा आउन खोजेका छन् ।
एमाले विभाजन भएर एकीकृत समाजवादी गठन भएपछि भुसाल एमालेमै रहेका थिए । एमालेले गत आमनिर्वाचनमा टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसपछि उनी एकीकृत समाजवादीमा प्रवेश गर्दै महासचिवको जिम्मेवारी पाए ।
एमालेको सौराहामा भएको महाधिवेशनमा भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका थिए तर पराजित भए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आत्मसम्पर्ण नगरेका भुसालले ओलीको कार्यशैली एवं गलत क्रियाकलापको सधैं चर्को रूपमा विरोध गरिरहेका थिए । पार्टीमा खनालनिकट मानिने भुसाल वैचारिक नेतामा पर्छन् । एकीकृत समाजवादीमा सर्वसम्मत अध्यक्ष चयन नभएको अवस्थामा खनालले भुसाललाई समर्थन गर्ने चर्चासमेत भइरहेको छ ।
यस्तै, अध्यक्षपछिको कार्यकारी भूमिका रहने महासचिव पदका लागिसमेत नेताहरूको दौडधुप तीव्र रूपमा भइरहेको छ । अध्यक्षजस्तै महासचिवका आकांक्षी पनि धेरै भएकाले सहमति जुट्ने सम्भावना कम रहेको छ ।
महासचिवका लागि जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला र डा. विजय पौडेल आकांक्षी रहेका छन् । यी चारै जना नेताहरू अहिले पार्टीमा उपमहासचिवको जिम्मेवारीमा रहेका छन् ।
यस्तै, राजेन्द्र राई, रामकुमारी झाँक्रीसमेत महासचिवका आकांक्षी छन् । दुवै जना अहिले पार्टीमा सचिवको जिम्मेवारीमा रहेका छन् । राई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हुन् भने झाँक्री संघीय सरकारको पूर्वमन्त्री हुन् ।
उपाध्यक्ष, उपमहासचिव, सचिवका लागि ५० भन्दा बढी आकांक्षी देखिएका छन् । केन्द्रीय सदस्यका लागि सयौंले आकांक्षा राखेका छन् । अहिलेकै पदाधिकारी रहेका कतिपय नेताहरू आफू सोही पदमा दोहिरिन खोजेका छन् भने कतिपय नेताहरूले एक तहमाथि उक्लिन खोजेका छन् । आजको राजधानी दैनिकबाट