
काठमाडौं- काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सम्पदामैत्री घर र बाटो-सडक निर्माण अघि बढाउनुपर्ने बताएका छन् ।
बिहीबार बागेश्वरीमा काठमाडौं महानगरपालिका–८ को नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले घर र बाटो-सडक सम्पदामैत्री र नेवा: संस्कृतिअनुसारका भएमा पर्यटकीय क्षेत्र राम्रो देखिने बताएका हुन् ।
‘पशुपति क्षेत्र आफैंमा सम्पदा क्षेत्र भएकाले जसरी यो घरको मुहार देखिएको छ, आगामी दिनमा हाम्रा वडा अध्यक्षज्यूहरू, जनप्रतिनिधि र कर्मचारीको सहकार्यले हाम्रो सम्पदामैत्री बाटाघाटा र घरको पनि अनुहार यस्तै देखियोस् भन्ने चाहना छ’, उनले भने, ‘त्यसका लागि बजेट पनि राखिएको छ । घर सम्पदामैत्री नेवा: शैलीमा बनेमा अझै पर्यटकीय क्षेत्र राम्रो देखिन्छ ।’
उद्घाटन समारोहमा मेयर शाहले आफू लामो नबोल्ने बताए । ५ मिनेटको समयमा आफ्ना भनाइ सकेका उनले बोल्नेभन्दा काम गरेर देखाउनुपर्ने बताए ।