ललितपुर । राजधानीकै सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकाका मेयर र उपमेयरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेपछि सरकारविहीन अवस्थामा रहेको छ ।
राजनीतिक प्रतिशोध साँध्ने उद्देश्यले राजनीतिक पूर्वाग्रह राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर र उपमेयरविरुद्ध मुद्दा दायर गरेपछि गोदावरी नगरपालिकाका स्थानीयले सरकारले दिँदै आएको सेवा सुविधाबाट बञ्चित बन्नुका साथै अन्योलमा परेका छन् ।
राजधानीको सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारीलगायतलाई अख्तियारले भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेपछि स्थानीय जनता स्थानीय सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित बनेका छन् ।
अख्तियारले हचुवाभरमा गोदावरी नगरपालिकाको मेयर र उपमेयर दुबैलाई भ्रष्टाचारको मुद्दा दायर गरेपछि स्वतः निलम्बनमा परेका हुन् । मेयर र उपमेयर निलम्बनमा परेपछि सो नगरपालिका नेतृत्वविहीन अवस्थामा पुगेको हो । मेयरलाई मात्र मुद्दा दायर गरेको भए कार्यबहाकको रुपमा उपमेयरले नगरपालिका संचालन गर्ने अधिकार रहेको छ । तर, दुबैलाई मुद्दा दायर गरेपछि दुबै जना निलम्बनमा परेको अवस्थामा अब कसले कार्यबाहक लिने त्यो कानुनमा स्पष्ट उल्लेख नभएका कारण गोदावरी नगरपालिकाका स्थानीय स्थानीय सरकारबाट पाउने सेवा सुविधाबाट बञ्चित बनेका हुन् । यतिमात्र होइन सो नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिहरुले मासिक रुपमा पाउँदै आएका तलव भत्ता, बजेट निकासा, स्थानीय सरकारले गर्ने विकास निर्माण कार्य पनि ठप्प भएको छ । यस्तै सो नगरपालिका नेतृत्वविहीन बन्दा विभिन्न शिर्षकमा उठाउँदै आएको कर उठाउन नपाउँदा दैनिक लाखौं रुपैयाँ राजश्व उठ्बाट बञ्चित बनेको छ भने प्रायः निर्माण कार्यहरु पनि ठप्प अवस्थामा छन् । यस्तै, सो नगरपालिकामा कार्यरत करार कर्मचारीहरुको जागिरसमेत धरापमा परेको छ । उनीहरुको म्याद थप्ने अधिकार मेयर र उपमेयर नभएको अवस्थामा अन्यलाई अधिकार नदिएको हुँदा करार कर्मचारीको समेत जागिर धरापमा परेको हो ।