काठमाडौँ । स्वार्थ बाझिने प्रतिनिधि बोर्डमा नराख्नेदेखि ‘इन्साइडर ट्रेडिङ’ (सेयर बजारमा भित्री कारोबार) गर्नेलाई कडा कारबाही गर्नेलगायतका धेरै प्रावधान थपेर धितोपत्रसम्बन्धी ऐन, २०६३ मा संशोधन गर्न बनेको विधेयकको मसौदा तयार गरिएको छ । बोर्ड अध्यक्ष र सञ्चालक बन्न अहिले सेयर कारोबारमा संलग्न व्यक्तिले नपाउने व्यवस्थाका साथै धितोपत्र कारोबारको प्रणालीगत वा अन्य संरचनागत जोखिमबाट लगानीकर्तालाई हुन सक्ने क्षतिबाट जोगाउन क्षतिपूर्ति कोष तोक्न सक्नेसम्बन्धी व्यवस्था पनि विधेयकमा राखिएको छ ।
धितोपत्रको कारोबारमा मार्जिनको सीमा, त्यसमा लाग्ने ब्याज शुल्क तथा मार्जिन कारोबारसम्बन्धी अन्य व्यवस्था तोक्न सकिने व्यवस्था पनि विधेयकमा उल्लेख छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाको बैठकमा दफाबार छलफलका लागि पेस गर्नुभएको धितोपत्रसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसद्का दुवै सदनमा छलफल भई पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र लागु हुने छ ।
सूचीकृत संस्थाका पदाधिकारी रोक
विधेयकमा धितोपत्र बोर्डका अध्यक्ष र सञ्चालक बन्न सेयर कारोबारमा संलग्न व्यक्तिले नपाउने व्यवस्था छ । साथै बोर्ड अध्यक्ष तथा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा अरू थप गरिएको छ । “कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमतिपत्र प्राप्त गरेको व्यक्ति, कालो सूचीमा परेको व्यक्ति र ६५ वर्ष उमेर पूरा गरेको व्यक्तिले पनि नपाउने गरी थपिएको छ । यस्तै प्रस्तावित विधेयकले धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा स्वार्थ बाझिने व्यक्तिका लागि बन्देज गरिएको छ । विधेयकको दफा ६ मा स्वार्थ बाझिनेसम्बन्धी कार्य गर्न नहुने विशेष व्यवस्था गरिएको छ । धितोपत्र बोर्ड सदस्य वा कर्मचारीले बोर्डमा सुरु नियुक्ति हुँदा नै स्वार्थ बाझिने सम्बन्धमा स्वघोषणा गर्नुपर्ने छ ।
कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्ड बैठकमा छलफल हुने रहेछ भने त्यस्तो छलफल सुरु हुनुभन्दा अघि नै बोर्डलाई जानकारी दिई निर्णय प्रक्रियाबाट अलग हुनुपर्ने व्यवस्था विधेयकमा छ । कुनै सदस्य बैठकबाट अलग भएका कारण गणपूरक सङ्ख्या नपुग्ने भए बोर्डका बाँकी सदस्यले त्यस्तो विषयमा निर्णय गर्न बाधा नपर्ने व्यवस्था प्रस्तावित विधेयकमा थपिएको छ । आजको गोरखापत्र दैनिकबाट