नेशनल अस्पतालको फोहर संकलनमा रोक

2.5k Shares

काठमाडौँ । कलंकीस्थित नेपाल नेशनल अस्पतालको फोहर संकलनमा रोक लगाइएको छ । जोखिमपूर्ण फोहर व्यवस्थापन गएको वर्षभन्दा अझ खराब देखिएपछि संकलनमा रोक लगाइएको हो । काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सोमबारदेखि सुरु गरेको अनुगमनका क्रममा उत्पादित फोहरको व्यवस्थापनमा चरम लापरबाही देखिएको विभागका वरिष्ठ शाखा अधिकृत सानुमैया महर्जनले जानकारी दिइन् । 

‘उक्त अस्पतालका वार्डहरुबाट उत्पादन भएको फोहर राख्न भवनको पछाडिपट्टि जस्ताले बारेको टहरा छ । टहरामा ४ वटा कोठा छन् । तीमध्येको पहिलो कोठामा सिरिञ्ज र बोतलहरू छरपस्ट थिए । दोस्रो कोठाको कुनामा कालो प्लास्टिकमा पोको बाँधेर फोहोर राखिएको थियो भने तेस्रो कोठामा धेरै फोहरका पोका थिए,’ महानगरले भनेको छ ।  

उक्त अटोक्लेभ मेसिन गएको वर्षको अनुगमन हुँदा अस्पतालले बिग्रिएको जानकारी दिएको थियो । त्यसबेला तत्काल बनाएर सञ्चालनमा ल्याउने अस्पतालले प्रतिबद्धता जनाएको थियो । यस्तै २०८० फागुनमा जोखिमपूर्ण फोहर निर्मलीकरण गरेर व्यवस्थापन गर्छु भनेर पनि अस्पतालले प्रतिबद्धता जनाएको थियो । यसपछि चैत १० गते गरिएको अनुगमनमा सुधार भएको थिएन । अस्पतालले प्रतिबद्धता दोहोर्‍याएपछि अनुगमन टोली सुधारको मौका दिएर फर्किएको थियो । यसपछि चैत १६ गते अस्पतालबाट एक जना व्यवस्थापक र एक जना फोहर व्यवस्थापनका फोकल पर्सनलाई बोलाएर स्वास्थ्य संस्थाजन्य फोहर व्यवस्थापन सम्बन्धी १ दिने तालिम प्रदान गरिएको थियो । 

यी सबै प्रयासपछि  सोमबार अनुगमनमा जाँदा गएको वर्ष बिग्रिएको अटोक्लेभ मेसिन सञ्चालन गर्नुको सट्टा फोहरको पोकोले पुरिएको भेटिएको महानगरको भनाइ छ । यस्तै अनुगमनका क्रममा वातावरण निरीक्षक सृष्टि श्रेष्ठले अस्पतालले संक्रमित फोहर व्यवस्थापनमा चरम लापरबाही गरेको प्रतिक्रिया दिइन् । 

 

 
सम्बन्धित समाचार