नयाँदिल्ली – भारतको दक्षिणी राज्य आन्ध्र प्रदेश र तेलङ्गानामा भारी वर्षाका कारण कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । भारी वर्षाका कारण आन्ध्र प्रदेशमा नौ जना तथा तेलङ्गानामा तीन जनाको मृत्यु भएको हो ।शनिबार आन्ध्र प्रदेशको विजयवाडा र गुन्टुर सहरका धेरैजसो भाग अत्यधिक वर्षाका कारण डुबानमा परेका थिए ।
बङ्गालको खाडीमा रहेको न्यून चापीय रेखाको प्रभावले आइतबार बिहानै कलिङपट्टनमको तटीय क्षेत्र पार गरी राज्यका विभिन्न स्थानमा वर्षा भइरहेको छ । विजयवाडाको मोगलराजपुरममा शनिबार पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गुन्टुर जिल्लाको मङ्गलागिरीको गण्डलयपेटामा एउटा घरमा ढुङ्गा खसेर एक वृद्धाको मृत्यु भएको छ ।
अर्को घटनामा गुन्टुर सहर नजिकै उप्पलापाडु गाउँमा बाढीले कार बगाउँदा तीन जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार स्थानीय प्रहरी तथा विभिन्न निकायले तल्लो क्षेत्रका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारेका छन् । हालसम्म विभिन्न स्थानबाट करिब ८० जनाको उद्धार गरिएको छ ।