‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या

2.1k Shares

काठमाडौँ । सरकारले जारी गरेका ‘स्मार्ट लाइसेन्स’ को चेकजाँच ट्राफिक प्रहरीबाट हुन्छ तर ती सक्कली वा नक्कली हुन् भन्ने थाहा पाउने प्रविधि नै प्रहरीसँग छैन । ट्राफिक प्रहरीले आँखाले हेरेर लाइसेन्स जाँच गरिरहेको छ । लेखिएको विवरण त प्रहरीले पढ्छ तर सक्कली हो कि नक्कली पहिचान गर्ने विशेष यन्त्र सडकमा खटिने ट्राफिक प्रहरीसँग छैन । 

यातायात व्यवस्था विभागले हालसम्म झन्डै ४० लाख स्मार्ट लाइसेन्स वितरण गरेको छ । प्रविधिका हिसाबले नक्कली बनाउन नमिल्ने गरी सुरक्षित दाबी गरिए पनि कर्मचारीको मिलेमतोमा नै नक्कली लाइसेन्स वितरण भएका छन् । सामान्य चेकजाँचले ती पत्ता लागेका होइनन्, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष अनुसन्धानबाट मात्र पत्ता लागेको हो ।

स्मार्ट लाइसेन्समा चिप्स राखिएको हुन्छ । उक्त चिप्समा लाइसेन्सवाहकको विवरण हुन्छ तर हालसम्म उक्त चिप्स पढ्ने (रिड गर्ने) मेसिन उपलब्ध नहुँदा २०७२ सालदेखि वितरण भएका स्मार्ट लाइसेन्सको सक्कली नक्कलीको विशेष चेकजाँच छैन । विभागका महानिर्देशक उद्धव रिजालले भन्नुभयो, “सुरुमा कसरी यसको योजना गरियो थाहै भएन, अब अहिले विश्वासको भरमा चलेको छ चिप्स रिड गर्ने मेसिन नै छैन । वैज्ञानिक तरिकाले चेकजाँच हुन सकेको छैन । चिप्स पढ्न छुट्टै डिभाइस चाहिन्छ ।”

चेकजाँचमा खटिएका प्रहरीले नक्कली वा सक्कली शङ्का लागेमा थप अनुसन्धान त गर्न सक्छ तर सडकमै पहिचान गर्न भने सक्दैन । लाइसेन्समा लेखिएको विवरण मात्र चेकजाँच गर्ने गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता विश्वराज खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्मार्ट लाइसेन्सको चिप्स पढ्न सक्ने मेसिन हामीसँग छैन । 

म्यानुअल्ली चेकजाँच हुँदै आएको छ । नक्कली पनि ठ्याक्कै उस्तै भयो भने खुला आँखाले छुट्याउन सकिन्न । शङ्का लाग्यो भने क्रस चेकजाँच गर्ने छुट्टै कुरा हो ।” उक्त समस्या सम्बोधनका लागि अब क्युआर कोड राखेर स्मार्ट लाइसेन्स छाप्ने निर्णय भएको छ । गत साउन ३२ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको प्रदेशका मन्त्रीहरूसँगको बैठकमा केन्द्रीय तथ्याङ्क (सेन्ट्रल डाटाबेस) यातायात व्यवस्था विभागमा रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले क्युआर कोडसहित लाइसेन्स छपाइका लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो तर सबै प्रदेश त्यसका लागि तयार नै छैनन् । आजको गोरखापत्र दैनिकबाट 

सम्बन्धित समाचार