काठमाडौं । नेपाल प्रहरीले मधेस प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) यज्ञविनोद पोखरेललाई कारबाहीको तयारी गरिएको छ । मधेसमा घुमुवा र बिचौलियामार्फत लाइन खुलाएर तस्करी गरेको भेटिएको भन्दै उनीमाथि कारबाहीको तयारी गरिएको हो ।
उनीविरुद्ध उजुरी परेपछि भएको अनुसन्धानपछि प्रहरीले उनीसँग निकट बिचौलियालाई पक्राउ गर्दै १० जना घुमुवालाई प्रहरी प्रधान कार्यालय झिकाएर सोधपुछ थालेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले गत बुधबार रूपन्देहीमा आयोजित एक कार्यक्रममा डीआईजी पोखरेलको नाम नलिई एक डीआईजीमाथि कारबाहीको प्रक्रिया अघि बढिरहेको बताएका थिए ।
त्यसबेला प्रहरी महानिरीक्षक कुँवरले सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एक जना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । उनले संकेत गरेका डीआईजी अरू कोही नभएर उनकै ब्याची पोखरेल हुन् ।
डीआईजी पोखरेल आगामी १४ असोजमा डीआईजीको ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । डीआईजी पोखरेलले आफ्नो बै ंक खाताबाटै लेनदेन गरेको प्रमाण भेटिएको प्रहरी स्रोतको दाबी छ । उनीमाथि भइरहेको छानबिनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको प्रमाण नै भेटिएको प्रहरी मुख्यालयको दाबी छ ।
पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ । डीआईजी पोखरेलमाथि भइरहेको छानबिनकै क्रममा नेपाल प्रहरी प्रधान कार्यालय उजुरी छानबिन शाखाले मधेस प्रदेशका ९ र कोशी (भोजपुर)का एक जनासमेत गरी १० प्रहरीलाई छानबिनका लागि मुख्यालय तानेको छ ।