एमाले–कांग्रेस दूरी बढ्दै

2.4k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख सत्तासाझेदार नेपाली कांग्रेससँग असन्तुष्ट बनेका छन् । कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संयुक्त गठबन्धनको सरकारको नेतृत्व ओलीले गरिरहेका छन् । कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेको एमाले अध्यक्ष ओलीले आफ्नो बचाउमा कांग्रेस नलागेको भन्दै असन्तुष्टि पोखेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि विपक्षी नेताहरू ओलीको खरो आलोचना र विरोधमा लागेका छन् । सोही कारण प्रधानमन्त्री ओलीले आफूलाई घेराबन्दी गरिरहेको भन्दै त्यसको बचाउमा लाग्नुपर्ने एमालेको पोलिटब्युरो बैठकमै बताए ।

प्रचण्डले ओली नेतृत्वको सरकार अपराधी र भ्रष्टाचारी जोगाउन बनेको सरकार भएको टिप्पणी गरेका थिए । प्रचण्डले संसद्देखि सडक एवं सार्वजनिक कार्यक्रममै ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन् । ओलीको विरोधमा प्रचण्ड मात्रै नभई विपक्षी दलका नेताहरूले आलोचना एवं विरोध निरन्तर रूपमा गर्दै आइरहेका छन् ।

कांग्रेसका कतिपय नेता एवं सांसदले समेत ओली नेतृत्वको सरकारमाथि तीखो प्रश्न उठाउन थालेका छन् । विपक्षीले प्रश्न उठाउनु, घेराबन्दी गर्न थालेपछि त्यसको प्रतिकार गर्नुको साटो कांग्रेसकै नेताहरूले समेत प्रश्न उठाउनुले ओली कांग्रेसबाट असन्तुष्ट बनेका हुन् ।

‘यो कांग्रेस र एमालेको संयुक्त गठबन्धनको सरकार हो, विपक्षीले आलोचना र विरोध गरेपछि त्यसको प्रतिकार गर्न आवश्यक छ, सबैले मिलेर त्यसको प्रतिकार गर्नुपर्छ, तर कांग्रेसकै कतिपय नेताहरूले सरकारको आलोचना र विरोधमा समय खर्चिरहेका छन्, त्यो जायज होइन,’ ओलीले आफूनिकटका नेताहरूसँग गुनासो पोख्ने गरेका छन् ।

एमाले र कांग्रेस दुवै दल माओवादी केन्द्रबाट पालैपालो धोखा पाएपछि राजनीतिक स्थायित्व, संविधान संशोधनलगायतका मुद्दामा सहमति गरेर गठबन्धन गरेका हुन् । तर, सत्तासहकार्य सुरु भएको दुई महिना नपुग्दै एमाले र कांग्रेसका बीचमा दूरी बढ्दै गएको छ ।

उच्च स्रोतका अनुसार नयाँदिल्ली भ्रमणमा गएकी परराष्ट्रमन्त्री एवं कांग्रेस नेतृ आरजु राणा देउवाले नयाँदिल्लीमै प्रचण्डका छोरीसँग गोप्य भेटघाट गरेको सत्ता समीकरण हेरफेर’boutमा छलफल गरेको सूचनाले समेत प्रधानमन्त्री ओली कांग्रेस सभापति देउवासँग असन्तुष्ट छन् ।

सोही कारण एमाले र कांग्रेस नेताहरूले बारम्बार यो गठबन्धन कायम रहने र दुई दलका बीचमा भएको सहमति कार्यान्वयन हुने बताउँदै आएका छन् । कतिपयले सत्तासमीकरण बदलिनसक्ने बताउँदै नयाँदिल्लीले कांग्रेस र माओवादी केन्द्रलाई मिलाउन लागेको समेत बताउँदै आएका छन् । त्यसकारणसमेत ओली कांग्रेससँग सशंकित भएका छन् ।

राजनीतिक स्थायित्वका लागि मिलेका कांग्रेस र एमालेबीचमा छोटो समयमै मतभेद देखिनथालेको संकेत देखिनथालेको छ । अहिले कांग्रेस नेताहरू मात्रै नभई रास्वपाका नेतासमेत ओली सरकारका विरुद्धमा आक्रमण शैलीमा प्रस्तुत हुने गरेका छन् । आजको राजधानी दैनिकबाट 

सम्बन्धित समाचार