काठमाडौँ - सस्तो मूल्यमा खरिद गरी गोदाममा राखेको चिनी (पुरानो मौज्दात) निकालेर व्यापारीहरूले चर्को मूल्यमा बेच्न थालेका छन् । चाडपर्व नजिकिँदै जाँदा बजारमा व्यापारीले चिनीको मूल्य अचाक्ली बढाएका हुन् । दशैं र तिहारजस्ता चाडपर्वमा चिनी बढी खपत हुने गर्छ ।
एक महिनाअघि बजारमा ९० देखि १०० रुपैयाँ प्रतिकेजी रुपैयाँमा पाइने चिनीको मूल्य बढेर अहिले खुद्रा मूल्य नै १३० रुपैयाँभन्दा बढी पुगेको छ ।
कतिपय खुद्रा व्यापारीले चिनीको मूल्य आफूखुसी बढाएर १३० देखि १५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताको गुनासो छ । स्वदेशी चिनी उद्योगीहरूले पहिले नै भारतबाट सस्तो मूल्यमा चिनी भित्र्याएर स्टक राख्ने र चाडबाडको मुखमा मूल्य बढाएर बजारमा पठाउँदा उपभोक्तालाई मर्का पर्ने गरेको छ । व्यापारीले बजारमा चिनी अभाव भएको हल्ला फैलाइ कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाउने गर्छन् ।
नेपालमा खपत हुने चिनी स्वदेशी उत्पादनले नपुगेर भारतबाट समेत आयात हुने गरेको छ । चिनी आयातमा सरकारले ५० प्रतिशतसम्म भन्सार छुट दिने गरेको छ । वर्षभर हुने खपतको ६० प्रतिशत चिनी दसैं, तिहार र छठजस्ता पर्वको छेकोमा माग हुन्छ ।
स्वदेशी चिनीबाट बजार माग पूरा हुने गरेको छैन । नेपाल उखु उत्पादक महासंघका अनुसार नेपालमा वार्षिक एक लाख ७० हजार मेट्रिकटन चिनी उत्पादन हुने गरेको छ । तर, चिनीको वार्षिक कारोबार भने दुई लाख ८० हजार मेट्रिक टन हुने गरेको छ । उद्योगीहरूले अपुग हुने एक लाख मेट्रिक टनभन्दा बढी चिनी भारतलगायतका अन्य मुलुकबाट खरिद गर्ने गरेका छन् । हाल स्वदेशमा ९ वटा मिलहरूले उखु क्रसिङ गरी चिनी उत्पादन गर्दै आइरहेको छ ।