सुर्खेत । दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो ।
बेलैमा उपचार गर्न नमानेपछि शाहीको स्वास्थ्य गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशङ्का गरी थप उपचार गर्न चिकित्सकको सल्लाह नमानेपछि शाहीलाई बस्ती ल्याउँदै गर्दा ज्यान गुमेको हो ।
गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही र माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाको राउटे परियोजनाले जनाएको छ ।
परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ सालयता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताउनुभयो । धेरै जसो राउटे बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागु गरिएपछि राख्न थालिएको तथ्याङ्क अनुसार हालसम्ममा ४३ जनाको मृत्यु भएको हो ।
औषधी र खोप लगाउँदैनन्
छ वर्षको अवधिमा मृत्यु भएका ४३ जना राउटेमा धेरै जसो पुरुष छन् । त्यसमा पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । कोही बिरामले, कोही सिकार खेल्ने क्रममा र कोही अधिक रक्सी पिएर राउटेको मृत्यु भएको पाइन्छ । त्यसै गरी पोषिलो खानेकुराको अभावले राउटे समुदायका बालबालिकाको मृत्यु हुने गरेको जोडी शिक्षक खत्रीले बताउनुभयो । बिरामी भए उपचारका लागि उनीहरूलाई अस्पताल लान पनि निकै कठिन हुन्छ । उहाँले बरु मृत्यु सहजै स्विकार्ने राउटेलाई उपचार गर्न मनाउन साह्रै कठिन हुने गरेको जनाउनुभयो । आजको गोरखापत्र दैनिकबाट