जिबी र छविको आडमा रविको चलखेल: सहकारीको रकम ससुरालीसम्म

2.6k Shares

काठमाडौँ - सहकारीको रकमबाट रवि लामिछाने र उनी संलग्न रहेको कम्पनीले राजस्व छली गर्नेदेखि ससुरालीको कम्पनीलाई अनधिकृत रूपमा भुक्तानीसम्म गरेका देखिएको छ। सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले गोर्खा मिडियाको सेयर खरिद–बिक्रीमा रवि लामिछानेले राजस्वसमेत छली गरेको र उद्धव पौडेल सञ्चालक रहेको गोपीकृष्ण मुभिजको नाममा समेत पेस्की रकम दिई अपचलन गरेको पाइएको छ।

समितिले सार्वजनिक गरेको प्रतिवेदनमा कम्पनीमा सेयर खरिद–बिक्री गर्दा भुक्तानीका माध्यमको परीक्षण नगरी किर्ते रूपमा तयार गरिएको उल्लेख गर्दै आयकर दाखिला नगरेको उल्लेख छ। ‘देखावटी कागजलाई समेत कम्पनी रजिस्ट्रारको कार्यालयले मान्यता दिने अभ्यास रहेको समितिसमक्ष सोधपुछका क्रममा गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीको भनाइसमेतबाट देखिन्छ। त्यसले एकातर्फ कम्पनी प्रशासनमा वित्तीय सुशासनविपरीतका क्रियाकलापलाई प्रोत्साहन हुने र आयकरबापत सरकारले प्राप्त गर्ने राजस्वमा समेत छली भएको देखिन आयो,’ प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको सो प्रतिवेदनमा उल्लेख छ।

सार्वजनिक गरिएको प्रतिवेदमा उल्लेख भएअनुसार सहकारी संस्थाहरूबाट गोरखा मिडिया नेटवर्क प्रालिलगायत कम्पनीहरूमा रकम प्रवाह भएको देखिएको छ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था, सुप्रिम बचत तथा ऋण सहकारी संस्था, सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था र सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट ६५ करोड ५४ लाख चार हजार पाँच सय ३८ रूपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवाह भएको देखिएको छ। त्यसमध्ये सहकारी संस्थाबाट २२ करोड ४६ लाख ३० हजार गोरखा मिडिया नेटवर्कको बैंक जम्मा भएको देखिएको छ। सहकारीकै ४३ करोड सात लाख ७४ हजार पाँच हजार ३८ रूपैयाँ रकम अन्य व्यक्ति तथा संस्थाका नामबाट गोरखा मिडिया नेटवर्क प्रालिको बैंक खातामा जम्मा भएको देखिएको छ।

कुनै कम्पनीलाई सापटीका रूपमा, कुनै कम्पनीलाई ऋणका रूपमा, कतिपय रकम सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमा र कतिपय कम्पनीका सञ्चालकका नाममा ऋण खडा गरी कम्पनीमै रकम प्रवाह भएको देखिएको उल्लेख छ। आजको नागरिक दैनिकबाट 

सम्बन्धित समाचार