काठमाडौँ । तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने गरी एकै दिन शिलान्यास भएका ३९६ आधारभूत अस्पताल पाँच वर्ष पुग्न लाग्दा पनि निर्माण हुन सकेका छैनन् । नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच पुर्याउने उद्देश्यले सरकारले त्यस्ता अस्पताल बनाउन लागेको हो ।
जस अनुसार तीन वर्षभित्र सम्पन्न हुने गरी २०७७ मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीबाट ती अस्पतालका भवनको शिलान्यास भएको थियो । निर्माणको काम स्थानीय तहले गर्नुपर्ने गरी सङ्घीय सरकारले बजेटको व्यवस्था गरेको थियो । ६५७ वटा पालिकामा ५, १० र १५ शय्याका आधारभूत अस्पताल बनाउने निर्णय गरेर शिलान्यास गरे पनि हालसम्म नौ वटा मात्र निर्माण सम्पन्न भई ठेकेदारबाट सम्बन्धित पालिकालाई हस्तान्तरण भएका छन् ।
स्थानीय तहले बाँकी ४० वटा अस्पताल निर्माणको अन्तिम भुक्तानी दिइसके पनि सम्बन्धित पालिकामा हस्तान्तरण हुन सकेका छैनन् । सरकारले आधारभूत अस्पताल नभएका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेको थियो ।
नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन हरेक पालिकामा आधारभूत अस्पताल बनाउने र हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र बनाउने निर्णय सरकारको थियो । त्यसका लागि २०७७ साउन २८ गते आधारभूत अस्पताल नभएका ६५५ वटा पालिकामा अस्पताल बनाउने नीतिगत निर्णय भएको थियो । त्यसमा पछि दुई वटा पालिका थप भई ६५७ पालिकामा अस्पताल सञ्चालन गर्ने लक्ष्य लिएको थियो ।
त्यस्तै २०७७ पुस १२ गते थप २५९ वटा आधारभूत अस्पताल बनाउने मन्त्रीस्तरीय निर्णय भएको थियो । यीबाहेकका बाँकी स्थानीय निकायमा जहिलेदेखि प्राथमिक स्वास्थ्य सेवा केन्द्र थिए, त्यसैलाई स्तरोन्नति गर्ने निर्णय भएको थियो । आजको गोरखापत्र दैनिकबाट