मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, चिसापानीमा शनिबार करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ । चिसापानी पश्चिम–दक्षिणस्थित कभर्ड हलछेउमा जडित ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिन गई नजिकै रहेको फलामको पोलमा सर्ट भएको थियो । र, पोलको फेदमा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो ।
उक्त पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की सात वर्षीया बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।
सँगै हिँडिरहेका दुवै बालिकाले अचानक जमेको पानीमा टेक्न पुग्दा करेन्ट लागेर बेहोस भएका थिए । बेहोस भएका दुवै बालिकालाई उपचारका निम्ति हेटौँडा अस्पतालमा पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत्यु घोषणा गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए ।