काठमाडौं– तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर मनाइँदै छ । यस दिन दाजुभाइ दिदीबहिनीले एक अर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।
टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, मर मसला एवं सेल रोटीलगायतका खानेकुरा दिने पनि चलन छ । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।
यसपालिको उत्तम साइत ११ बजेर ३७ मिनेटमा
आज बिहान ११ः३७ बजे भाइटिकाको साइत शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल बताउँछन् ।
कता फर्केर लगाउने ?
भाइटीका लगाउने र लगाइदिने व्यक्ति कुन दिशामा फर्किने भन्ने कुराको पनि ख्याल गर्नुपर्छ । नेपाल पञ्चांग निर्णायक समितिले यस पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने भनेको छ ।
भाइटीकामा दाजुभाइ कता फर्किने ? दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने ? यो वर्षको भाइटीकामा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए।
‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ’, उनले भने, त्यसैले लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’
सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ । आइतबार चन्द्रमा वृश्चिक राशिमा छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ।
चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व-पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।