काठमाडौं । ललितपुरको पाटन संयुक्त क्याम्पसमा बीएस्सी सीएसआईटी कार्यक्रममा अनियमितताको आरोपपछि त्रिभुवन विश्वविद्यालयले छानबिन समिति गठन गरेको छ । इन्स्टीच्युट अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डिन डा. खगेश्वर मण्डलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको हो ।
समितिले मंगलबारबाटै छानबिन प्रक्रिया सुरु गरिसकेको छ । भर्ना प्रक्रियामा कुनै पनि आधारमा अनियमितता देखिए परीक्षा फारम भर्ने अवधिअघि नै कारबाहीको सिफारिस गरिने समिति संयोजक डा. मण्डलले बताए ।
छानबिन प्रतिवेदनको समयसीमा तोकिएको छैन । सो कार्यक्रमका निम्ति छुट्याइएको १४४ सिटमध्ये ३० विद्यार्थी क्याम्पसले मेरिट लिष्टभन्दा बाहिरका भर्ना गरेको विद्यार्थीको आरोप छ । बीएस्सी सीएसआइटी र आईटी कार्यक्रमको कक्षा भने मंसिर ३ गतेबाटै सञ्चालन भइसकेको छ ।