काठमाण्डौँ – काठमाण्डौ महानगरपालिकाले सानो गौचरन रङ्गशालाको पुनर्निर्माण शुरू गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलले शिलान्यास गरेसँगै आजदेखि सानो गौचरन रङ्गशालको पुनर्निर्माण शुरू भएको हो ।
रङ्गशाला पुनर्निर्माणका लागि शुभ कन्स्ट्रक्शनले १८ करोड ८६ लाख ७४ हजार आठ सय २७ रुपैयाँमा ठेक्का पाएको छ । रङ्गशालको पुनर्निर्माण आउँदो वर्षको चैत मसान्तभित्र सम्पन्न गरिसक्नुपर्नेछ ।
रङ्गशाला पुनर्निर्माणको शिलान्यास गर्दै उपमेयर डङ्गोलले महानगरपालिकाले खेल पूर्वाधारमा लगानी बढाएको बताउनुभयो । विद्यालयस्तरबाट खेलाडी उत्पादनका लागि कार्यक्रम सञ्चालन भइरहेको बताउँदै उहाँले यो प्रयासबाट राष्ट्रिय पहिचान दिन सक्ने खेलाडी प्राप्त हुने अपेक्षा राख्नुभयो ।
रङ्गशालामा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी निकास प्रणालीसहितको कृत्रिम घाँस राखिनेछ । रङ्गशालामा २८ वटा चार पाङ्ग्रे र एक सय ७८ वटा दुई पाङ्ग्रे गाडी अट्ने क्षमताको पार्किङ हुनेछ । रङ्गशाला नौ हजार दुई सय ११ दशमलव पाँच वर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ । रङ्गशालामा एक हजार पाँच सय पाँच जना दर्शक अटाउन सक्छन् ।