काठमाडाैँ – म्याग्दीको रघुगङ्गा गाउँपालिका–५ की गौमाया पाईजाले २० वर्ष पहिलेसम्म १० रोपनी भन्दा बढी पाखोबारीमा मुला खेती गर्ने गर्थिन् । अहिले दुई रोपनीमा लगाएको मुला पनि बिक्री नभएर उनी चिन्तित छिन्।
रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सिमानामा पर्ने टोड्के मुला खेतीका लागि धौलागिरि क्षेत्रमै प्रसिद्ध थियो । कुनै समय प्रशस्न मुलाखेती हुने टोड्केको पाखोबारी पछिल्लो समय बाझिदै गएको छ । टोड्केबासीले धान, गहुँ, मकै, फापर, कोदोसँग मुला सटही गर्ने चलन थियो । बसाईसराई, जनशक्तिको कमी र बजारको समस्याका कारण किसानहरुले टोड्केमा मुला खेती घटेको स्थानीय तिजमाया पाइजाले बताइन्।
‘घरमा उपभोग गर्ने, आफन्तलाई कोशेली पठाउने र टोड्के घुम्न आउने पर्यटकलाई बेच्नका लागि थोरै जमिनमा मात्र मुला खेती गरेका छौ,’ उनले भनिन् ‘चिसो हावापानीमा जैविक मलको प्रयोग हुने भएकाले यहाँको मुलाको छुट्टै महत्व छ ।’