काठमाडौंं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विश्वविद्यालयमा हस्तक्षेप बढाएको टिप्पणी गरेका छन् । तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाट गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालयलगायत शैक्षिक संस्थामा ‘मेरिटोक्रेसी’ लागु गरेको भन्दै ती प्रयासहरूमाथि सरकारले आक्रमण थालेको आरोप लगाए ।
“सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्नेलगायत अवान्छित क्रियाकलाप भइरहेका छन्,” उनले भने ।
प्रचण्डले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने गतिविधि सचेत नेपालीका निम्ति सैह्य नहुने बताए । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहने उनको भनाइ छ ।
“भ्रष्टाचार र बेथितिविरूद्ध नयाँ शिराबाट संघर्षको झण्डा उठ्नेछ,” प्रचण्डले भने । उनले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए ।