अमेरिका–इजरायलपछि सिरियामा टर्कीले पनि थाल्यो आक्रमण

2.7k Shares

काठमाडौं । सिरियामा असद सरकारको पतनपछि अरू देशले आक्रमणलाई तीव्र बनाएका छन् । इजरायलले सिरियाको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ । यस्तै, अमेरिकाले मध्य क्षेत्रमा र टर्कीसँग सम्बन्धित विद्रोही सेनाले उत्तरी क्षेत्रमा आक्रमण गरेको छ ।

रोयटर्सका अनुसार, टर्कीका विद्रोही सेनाले सिरियाको उत्तरी क्षेत्र मानबिज कब्जा गरेको छ । कुर्दिस सिरियन डेमोक्रेटिक फोर्सेस (एसएफडी)ले सन् २०१६ मा आईएसआईएसलाई हराएर मानबिज ​​नियन्त्रणमा लिएको थियो ।

मानबिजमा एसडीएफको हारपछि कुर्द लडाकुहरूलाई निष्कासन गर्न अमेरिका र टर्कीबीच सोमबार सम्झौता भएको थियो । यसैबीच, टर्कीका राष्ट्रपति रेसेप एर्दोगानले यस जितमा आफू मनबिजबाट ‘आतंकवादी’ उन्मूलन भएकामा खुसी भएको बताएका छन् ।

इजरायली वायुसेनाका लडाकु विमानहरूले सोमबार सिरियामा १०० भन्दा बढी हवाई हमला गरेका छन् । अल्जजिराका अनुसार, राजधानी दमास्कस नजिकै बरजाह वैज्ञानिक अनुसन्धान केन्द्र नजिकै हमला भएको हो । इजरायलका विदेशमन्त्री गिडोन सारले इजरायलले हतियार प्रयोग गर्ने ठाउँमा आक्रमण गरेको बताएका छन् ।

यसअघि, ५० वर्षमा पहिलोपटक इजरायलले सिरियाको सीमा नाघेर गोलान हाइट्स क्षेत्रमा आफ्नो सेना पठाएर बफर जोन कब्जा गरेको थियो । लेबनानसँग सम्बन्धित सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल्जजिराले इजरायली सेना अब बफर जोनको सीमाभन्दा बाहिर गएको जनाएको छ ।

सम्बन्धित समाचार