
मुगु । हिमाली जिल्ला मुगुका विभिन्न उच्च स्थानमा हिमपात भएको छ । उच्च पाटन लेकाली बस्तीमा १ फिटबराबर हिउँ जमेको छ । सोमबार राति यो वर्षकै पहिलो हिमपात भएको हो । गत वर्ष पुसपछि मात्रै पहिलो पटक हिउँ परेको थियो ।
सोमबार बिहानैदेखि मौसममा बदली हुँदा दिउँसो उच्च भूभाग र पर्यटकीय स्थल रारामा पनि हिउँ परेको थियो । हिमपातका कारण रारा ताल पूरै सेताम्मे देखिएको छ । ताल वरिपरि चाँदीको घेरा जस्तै सुन्दर बनेको छ । स्वर्गकी अप्सरा उपनाममा चिनिने रारा साँच्चिकै अप्सरा जस्तै टल्किएको छ ।
खुला आकाशजस्तै नीलो सुन्दर, मनोरम बनेको छ । रारासँगै जिल्लाका दर्जनौं बस्ती, लेक, पाटन, मुगुम कार्मारोङ गाउँपालिकामा पर्ने यार्सा पाटनहरू, कोइकी हिमाल मुगुगाउँ, डोल्फु, किम्री, तखा, खारी, चितै, सेरोग, दाउरा, रिउस पापु, छाइल, पुव, मह, माँगीलगायत दर्जन बढी गाउँ बस्तीमा पनि हिमपात भएको छ ।
छायाँनाथ रारा नगरपालिकाका बाम, रोवा, झाकोट, तल्लेख, सोबा, मुन्दु, कोटिल्ला, घुच्चीलेक, भुल्भुले, पिना, झ्यारी, टोप्ला, मुर्मालगायत दर्जनौं गाउँ बस्तीमा पनि हिउँ परेको छ । सोमबार रातिदेखि लगातार रारा ताल र आसपासका ठाउँहरूमा हिउँ परिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
खत्याड गाउँपालिकाका खेस्मालिका, खमाले, कोटिल्ला, भागोटी, निगालिबोट, साट्बाडा, जम्फै, बाउपानी, जोगिलेख, रोल, सैन, गम्था, श्रीकोट, जिउका, कर्खा, जामिर, रास्कोटीबाडा, नखर्जीलगायत गाउँमा हिउँ परेको छ ।
सोरु गाउँपालिकाको सोरुकोट, पोग्री, नेर, फोतु रुम, कालैलेकलगायत ठाउँमा हिमपात भएको छ । मंसिर अन्त्यतिरै हिमपात भएकाले गहुँ, जौलगायत हिउँदे बालीमा राहत पुग्ने भएको छ ।