काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो ।
जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमान्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र३ छक्का मदतमा सर्वाधिक २७ रन बनाए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमान्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिए ।
त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।
काठमान्डुका लागि जेरार्ड एरासमसले सर्वाधिक २०, करण केसील १९ र स्टेफेन इसक्नाजीले १७ रन बनाए । बाँकीले दोहोरो अंकमा रन बनाउन सकेनन्।