
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–९ ठाकुरद्वारामा पर्यापर्यटनको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रम भोलिदेखि शुरू हुने भएको छ ।
भोलि लुम्बिनी प्रदेश र ठाकुरबाबा नगरपालिकाको संयुक्त आयोजनामा ‘घुम्न जाऔँ बर्दिया’ कार्यक्रमको उद्घाटन हुने ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्ज रहेको नगरभित्रको पर्यापर्यटनको सम्वर्द्धन, प्रवर्द्धन तथा विकास गर्नुका साथै बर्दिया जिल्लाकै पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाऔँ बर्दिया कार्यक्रम आयोजना गरिएको ठाकुरबाबा नगरपालिकाका मेयर तीलकराम लम्सालले बताउनुभयो ।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रले धेरैजसाे क्षेत्र ओगटेको ठाकुरबाबा नगरपालिकाले पछिल्लो समय विकास र पूर्वाधारको हिसाबले बिस्तारै गति लिन थालेको छ । तर पर्यापर्यटनको क्षेत्रमा प्रचुर सम्भावना भएर पनि राष्ट्रिय नीति र बजेट विनियोजनका हिसाबले यो क्षेत्रले स्थान पाउन नसकेको गुनासो नगरवासीको छ ।