काठमाडौं, १४ भदौं । बाढी–पहिरोका कारण बितेका चार दिनमा नेपालमा १२ जनाले ज्यान गुमाएका छन् । यस अवधिमा तीन जना बाढी–पहिरोमा बेपत्ता भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
बाढी–पहिरोमा परेर ९ जना घाइते भएका छन् । बाढीको कारण तराईका विभिन्न जिल्लामा पाँच हजार भन्दा धेरै घर डुबानमा परेका प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले जानकारी दिए । गएको बिहीबारदेखि आइतबारसम्म बाढीपहिरोको कारण देशभर ९० हजारभन्दा धेरै मानिस प्रभावित भएका छन् ।
महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका –३ को सीमाना भएर बग्ने खोलामा आइतबार राति आएको बाढीले श्रीबगडस्थित खोला किनारका थप तीन पसल र एक घर बगाएको स्थानीय लोकेन्द्रबहादुर बमले जानकारी दिएका छन् । खोलाले स्थानीय दीपकबहादुर बमको घर तथा सुन्दरबहादुर बम, देवबहादुर बम र जितबहादुर बमको पसल बगाएको उनले बताए । खोलामा बाढी आउँदा सो क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानमा गएका छन् ।
श्रीबगडका अन्य घरहरु समेत बाढी पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । लगातार भइरहेको वर्षाले महाकाली नदीमा पानीको बहाव बढेर भारततर्फको तपोवन क्षेत्रमा रहेको एनएचपिसी डुबानमा परेको छ । निजाङ्ग खोलामा आएको बाढीले केही बेर महाकाली थुनिएपछि एनएचपिसी डुबानमा परेको स्थानीयको भनाइ छ ।
एनएचपिसी डुबानमा परेपछि केही कर्मचारीभित्रै फसेपछि उनीहरूको सकुशल उद्धार गरेको बुझिएको छ । बाढीले पु¥याएको क्षति र स्थानीयको अवस्था बारे बुझ्न प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।