आउँदो जेठ २ गतेदेखि सगरमाथा संवाद आयोजना गर्ने तयारी

2.1k Shares

काठमाण्डाै – नेपालले जलवायु परिवर्तनको विषयमा विश्वस्तरीय पहल गर्दै आउँदो जेठ २, ३ र ४ गते सगरमाथा संवाद आयोजना गर्ने तयारी गरेको छ । यसअघि २०७६ सालमा कोभिड–१९ का कारण स्थगित गर्नुपरेको संवाद अब हरेक दुई वर्षमा आयोजना गर्ने मन्त्रिपरिषद्को निर्णयानुसार आउँदो जेठको शुरूमै गर्न लागेको सरकारले जनाएको छ ।

‘जलवायु परिवर्तन, पर्वतीय र मानवीय भविष्य’ विषयक यस संवादमा पर्वतीय र सामुद्रिक देशका राष्ट्रप्रमुख, सरकार प्रमुख, जलवायु विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालले यस संवादलाई अभियानको अङ्गका रूपमा विकास गर्न लागेको सरकारले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि यसको घोषणा गर्ने कार्यक्रम तय भएको छ । नेपालले सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य लिएको छ । पेरिस सम्झौताले विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा कम राख्ने लक्ष्य राखे पनि सन् २०५० अघि नै हिमाली क्षेत्रको तापक्रम १.८ डिग्री सेल्सियसभन्दा बढी हुने अनुमान छ ।

स्विट्जरल्यान्डको ‘वर्ल्ड इकोनोमिक फोरम’, भारतको ’राइसिना डाइलग’, सिङ्गापुरको ’साङ्ग्रीला’ र चीनको ’बोआओ फोरम’ जस्तै नेपालले पनि जलवायु परिवर्तनको क्षेत्रमा विश्वस्तरीय संवाद थाल्न लागेको हो । यसले विशेषगरी हिमाली क्षेत्रमा देखिएका समस्या र समाधानका उपायहरूबारे छलफल गरी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार