
काठमाण्डौ – स्वास्थ्य बीमामा सुधारका लागि स्वास्थ्य मन्त्रालयले आन्तरिक कार्यदल गठन गरेको छ । मन्त्री प्रदीप पौडेलले मन्त्रालयका अतिरिक्त सचिव दिपेन्द्ररमण सिंहको संयोजकत्वमा आन्तरिक कार्यदल गठन गर्नुभएको हो ।
कार्यदलमा मन्त्रालयको गुणस्तर मापन तथा नियन्त्रण महाशाखा प्रमुख डा.सरोज शर्मा, निर्देशक डा.अनुप बास्तोला, कानून उपसचिव गोपीकृष्ण रेग्मी सदस्य तथा उपसचिव शालिकराम दाहाल सदस्य सचिव रहनुभएको छ ।
स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनअनुसार सुधारका लागि अगाडी बढ्ने तयारी थाल्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
प्रतिवेदनका आधारमा तत्काल गर्न सकिने व्यवहारिक र नीतिगत सुधार तथा दीर्घकालिन सुधारका लागि आन्तरिक गृहकार्य अघि बढेको छ ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको कुराकानीका क्रममा सरकारले प्रतिवेदनका आधारमा कार्ययोजना बनाएर कार्यान्वयनमा लैजाने तयारी थालेपछि मन्त्री पौडेलले मन्त्रालयगत तयारीलाई अघि बढाउनुभएको हो ।
कार्ययोजना एक हप्ताभित्र तयार पारेर मन्त्रीपरिषद्मा लैजाने मन्त्रालयको तयारी छ । यसका लागि गठित कार्यदलले प्रतिवेदनलाई टेकेर तत्काल तथा दीर्घकालमा लागू गर्न सकिने विषय कार्ययोजनामा समावेश गरेर प्रतिवेदन दिनेछ ।