वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड

2.5k Shares

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्ररमण सिंहको अध्यक्षतामा गठित विशेषज्ञ समितिले स्वास्थ्य परीक्षण क्षेत्रमा हुने विकृतिहरू उजागर गरेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २०८१ भदौ १३ गतेको निर्णय अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि अध्ययन गर्न सिंहको अध्यक्षतामा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले मंसिर ११ गते प्रतिवेदन श्रममन्त्री शरत सिंह भण्डारीलाई बुझाएको थियो ।मन्त्रालयले ‘वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण, नवीकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२’ लाई संशोधनको गृहकार्य अघि बढाएको हो । 

त्यस्तै शुल्कमा समेत एकरूपता ल्याउनुपर्ने भनेको छ । इजरायल, कोरिया, जापान, अमेरिका, अस्ट्रेलिया लगायतका देशहरूको स्वास्थ्य परीक्षण शुल्क कम्तीमा १२ हजार र त्यो भन्दा मागी रहेको देखिएको छ । प्रमुख श्रम गन्तव्य मुलुकहरू अरब देश र मलेसिया जानेको हकमा ६ हजार ५०० तोकिएको छ ।

१४ वर्षमा १४ हजार बढीको मृत्यु 
पछिल्लो १४ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजार बढी नेपालीले विदेशमा ज्यान गुमाएका छन् । वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार सन् २००८÷९ देखि २०२१÷२२ सम्म १४ हजार ६ सय ६६ जना श्रमिकको मृत्यु भएको थियो । तीमध्ये सबैभन्दा बढी हृदयाघात, प्राकृतिक कारण (नेचुरल डेथ), कार्यस्थल दुर्घटना, सडक दुर्घटना, आत्महत्या तथा अन्य कारणबाट मृत्यु भएको देखिन्छ । 

वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्न २१५ स्वास्थ्य संस्थालाई श्रम मन्त्रालयले सूचीकृत गरेको छ । यीमध्ये मलेसिया आफैँले ३६, साउदी अरब, कुवेत, बहराइन र ओमान (गाम्का) ले १९, कोरियाले ४ संस्थामार्फत स्वास्थ्य परीक्षण गराइरहेका छन् । अमेरिकाले आईओएममार्फत स्वास्थ्य परीक्षण गराउँदै आएको छ । कतार जाने श्रमिकको परीक्षण भने कतार भिसा सेन्टरबाट भइरहेको छ । बाँकी १ सय ५७ स्वास्थ्य संस्थाले करिब सयभन्दा बढी देश जाने श्रमिकको परीक्षण गर्दै आएका छन् ।

सम्बन्धित समाचार