
काठमाडाैँ । सरकारले आउँदो माघ २३ गतेदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने 'ह्युमन पापिलोमा भाइरस' (एचपीभी) खोप अभियान शुरू गर्दैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीलाई निःशुल्क खोप दिन लागेको हो । किशोरीलाई खोप दिएमा क्यान्सरबाट जोगाउन प्रभावकारी हुने मन्त्रालयको विश्वास छ । यसै विषयमा मल्लिका थापाले स्वास्थ्य मन्त्रालयको बाल स्वास्थ्य तथा खोप महाशाखा प्रमुख अभियान गौतमसँग गरेको संक्षिप्त कुराकानी –
पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउने तयारी कहाँ पुग्यो ?
हामीले पाठेघरको मुखको क्यान्सरविरुद्धको विद्यालय केन्द्रित एचभीपी खोप अभियान माघ २२ गतेदेखि १५ दिनसम्म देशैभर एकैपटक सञ्चालन गर्दैँछाैँ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० का छात्रा र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरेर खोप अभियान सञ्चालन गर्न लागिएको हो । झन्डै १६ लाख ८८ हजार ६ सय ७८ जना किशोरीलाई खोप लगाउने लक्ष्य छ । देशैभरि खोप तयारी अवस्थामा रहेको छ । नेपालले पाउनुपर्ने सबै खोप आइसकेको छ । हाम्रो सबै तयारी सकिएकाले अब खोप दिन हाम्रा संयन्त्र तयारी अवस्थामा छन् ।
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरको भए के गरिन्छ ?
कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी १४ वर्षभन्दा बढी उमेरका हुन सक्छन् । धेरैजसाे १० वर्ष उमेरका किशोरी कक्षा ६ मा पढ्ने गरेको देखिएको छ । तर कक्षामा १/२ वर्ष उमेर तलमाथि भयो भने पनि खोप दिन्छौँ ।
अविवाहित किशोरीलाई खोप दिइने भनिएको छ, यदि कुनै कक्षामा विवाहित किशोरी रहेछन् भने के गर्ने ?
कुनै किशोरी विवाहित अथवा गर्भवती भएको हकमा खोप दिँदैनौँ । विवाहित भएका किशोरीलाई खोप दिए पनि कमै मात्रा काम गर्ने हुनाले खोप नदिने भनेका छौँ । ठूलाे सङ्ख्यामा खोप जाने भएकाले गर्भवती नरहेमा खोप पाउँछन् । अध्ययनका अनुसार गर्भवती किशोरीले खाेप लगाउँदा कम प्रभावकारी देखिएको छ । अहिलेको समयमा हेर्दा कतिपय किशोरी विद्यालयमा भर्ना भएको तर नगएको पनि देखिएको छ । ती किशोरीलाई खोप दिने लक्षित समूह मान्दैनौँ ।