
वासिङ्टन डीसी । अमेरिकाको पेनिसल्भेनिया राज्यमा चुनावी र्यालीका क्रममा जुलाई महिनामा डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको थियो । ट्रम्पको भाग्य बलियो थियो कि सो घटनामा आक्रमणकारीले हानेको गोलीले ट्रम्पको कानलाई चुस्स छोएर मात्रै गयो ।
सो घटनामा ट्रम्पको सुरक्षामा खटिएका सेक्रेट सर्भिसका कमान्डोमध्ये एक सिन कुर्रानलाई ट्रम्पले अमेरिकाको गोप्य सेवाको निर्देशक बनाएका छन् । उक्त घटना लगत्तै ट्रम्पलाई घेरेर सुरक्षित रूपमा बाहिर निकाल्ने कमान्डोमध्ये कुर्रान पनि एक थिए ।
आक्रमणकारीले हानेको गोलीबाट आफूलाई बचाउन आफ्नै ज्यान जोखिममा राखेर कुर्रानले आफ्नो निर्भक साहसलाई प्रमाणित गरेको ट्रम्पले एउटा विज्ञप्तिमा भनेका छन् । कुर्रानले अमेरिकाको सेक्रेट सर्भिसलाई पहिलाको भन्दा बलियो बनाउँछन् भन्नेमा आफ्नो पूरा पूरा विश्वास रहेको पनि ट्रम्पले भनेका छन् । ट्रम्पमाथि आक्रमण भएपछि सेक्रेट सर्भिसको निकै आलोचना भएको थियो ।
कुर्रानले २००१ देखि सेक्रेट सर्भिसको नेवार्क फिल्ड अफिसमा विशेष एजेन्टको रूपमा करियर सुरु गरेका थिए । आफ्नो पहिलो कार्यकालमा पनि कुर्रानले राष्ट्रपतिको सुरक्षा एकाइका सहायक विशेष एजेन्टको रूपमा काम गरेको ट्रम्पले भनेका छन् ।