
काठमाण्डाै – गोल्यान समूहले सौर्य ऊर्जाबाट ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । भारतको हरित ऊर्जाको अग्रणी कम्पनी प्रोजिल ग्रीन इनर्जीसँग मिलेर गोल्यान समूहले आउँदो २४ देखि ३० महिनाभित्र ५ सय मेगावाट बिजुली उत्पादन गर्ने बुधवार एक कार्यक्रमका बीच जानकारी दिइएको छ ।
बिजुली उत्पादनका लागि गोल्यान समूह र प्रोजिलबीच यसअघि नै सम्झौता भइसकेको छ । कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धितालले सरकारले नवीकरणीय ऊर्जाका परियोजनाहरूलाई अगाडि बढाउनका लागि विभिन्न नीतिहरू ल्याइरहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा इप्पानका अध्यक्ष गणेश कार्कीले गोल्यान समूहले ५ सय मेगावाट बिजुली उत्पादन गर्ने भन्ने समाचार आउँदा निकै उत्साहित बनेको बताउनुभयो । बन्दै गरेको विद्युत् विधेयकमा सौर्य ऊर्जाको विषय समेट्नुपर्नेमा उहाँको जोड छ ।
प्रोजिल इनर्जीले भारतका विभिन्न ठाउँमा सौर्य ऊर्जाबाट २ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र १ हजार मेगावाट बिजुली उत्पादनको चरणमा रहेको जनाएको छ ।