आजदेखि शहीद सप्ताह शुरू

1.8k Shares

काठमाण्डाै – देशमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूको सम्झनामा आजदेखि शहीद सप्ताह शुरू भएको छ । काठमाण्डौ महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ ।

शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकुमा रहेको उहाँको सालिकमा काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोललगायत महानगरका पदाधिकारी एवम् स्थानीयवासीले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे ।

विसं १९५० मा वनारसमा जन्मनुभएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय हुनुहुन्थ्यो । उहाँलाई काठमाण्डौको इन्द्रचोकबाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उहाँलाई विसं १९९७ माघ १० गते टेकु पचलीमा रहेको खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।

शास्त्रीको श्रद्धाञ्जलीसभा भएको ठाउँलाई विसं २०३५ मा तत्कालीन काठमाण्डौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।

सम्बन्धित समाचार