काठमाडौं । सन् २०२२ को अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने आइसिसी टी-२० विश्वकप अन्तर्गत विश्व छनोटमा सहभागी टिमको समूह विभाजन गरिएको छ ।
विश्व छनोटको समूह विभाजनमा नेपाल समूह 'ए' मा परेको छ । विश्व छनोटको समूह 'ए' मा नेपालसहित आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई परेका छन् ।
यो समूहको खेल आगामी फेब्रुअरी १५ देखि २५ मा ओमानमा हुनेछ । मस्कटको ओमान क्रिकेट एकेडेमी मैदानमा हुने छनोटबाट शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।
यता समूह 'बी' मा भने आयोजक जिम्बावेसहित हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका परेका छन् । यो समूहको खेल भने आगामी जुलाई ८ देखि १८ सम्म जिम्बावेको हारारे स्पोर्ट्स क्लबमा हुनेछ । यो समूहबाट पनि शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।
१६ टिमबीच प्रतिस्पर्धा हुने टी-२० विश्वकपमा १२ टिम भने छनोट भइसकेका छन् । सन् २०२१ को टी-२० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, भारत, नामिबिया, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्यान्ड, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिजले सन् २०२२ को टी-२० विश्वकपमा स्थान सुरक्षित गरेका थिए । अस्ट्रेलिया आयोजकको हैसियतमा यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो ।
विश्व छनोटमा नेपालले प्रतिस्पर्धा गर्ने दुई महिनाअघि नै पक्का भएको थियो । आइसिसीले दुई महिनाअघि नेपालसहित चार देशलाई वरीयताका आधारमा विश्व छनोटमा प्रवेश दिएको थियो । हाल नेपाल टी-२० विश्व वरीयताको १२औं स्थानमा रहेको छ ।
विश्व छनोट आउन दुई महिना बाँकी रहेको अवस्थामा नेपालले अझै तयारी थालेको भने छैन । डेभ वाटमोरले राजीनामा दिएपछि नेपाली टिमको प्रमुख प्रशिक्षक पद खाली छ । क्यानले प्रमुख प्रशिक्षकका लागि दरखास्त आह्वान गर्दै प्रशिक्षक नियुक्त प्रक्रिया अघि बढाएको अवस्था छ । सम्भवत: नेपालले टी-२० विश्व छनोटको तयारी नयाँ प्रशिक्षक नियुक्त भएपछि गर्नेछ । सन् २०१४ को टी-२० विश्वकप खेलेपछि नेपालले टी-२० विश्व छनोटमा सफलता हात पारेको छैन ।
नेपालले दुई वर्षअघि सिंगापुरमा एसिया छनोट खेलको थियो । जहाँ नेपालले खराब प्रदर्शन गर्दा सन् २०१२ पछि विश्व छनोट खेल्ने अवसर गुमाएको थियो । नेपालले सन् २०१२ भएको युएईमा भएको विश्व छनोट खेलेको थियो । त्यतिबेला नेपाल सातौं भएको थियो । नेपालले सन् २०१३ को विश्व छनोटमा भने उत्कृष्ट खेलेको थियो । जहाँ नेपाल तेस्रो हुँदै सन् २०१४ को टी-२० विश्वकप पुगेको थियो ।
सन् २०१५ को विश्व छनोटमा भने नेपालको प्रदर्शन राम्रो हुन सकेन । आयरल्यान्ड र स्कटल्यान्डमा भएको प्रतियोगितामा समूहको पुछारमा रहदै बाहिरिएको थियो । सन् २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउन लागि नेपालले विश्व छनोटमा उत्कृष्ट प्रदर्शन गर्नु पर्ने हुन्छ । ८ टिमको समूहमा उत्कृष्ट दुईभित्र पर्न सके मात्र नेपालले ८ वर्षपछि टी-२० विश्वकप खेल्नेछ ।
२०२२ विश्व छनोट
समूह ए (ओमान - १५ देखि २५ फेब्रुअरी २०२२) - नेपाल, आयरल्यान्ड, ओमान, बहराइन, क्यानडा, जर्मनी, फिलिपिन्स र युएई - दुई टिम विश्वकपमा पुग्ने
समूह बी (जिम्बावे - ८ देखि १८ जुलाई २०२२) - जिम्बावे, हङकङ, नेदरल्यान्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर र अमेरिका - दुई टिम विश्वकपमा पुग्ने