
बिरगंज । चोरी तस्करी व्यापक भएसंगै बिरगंज भन्सारले आफ्नो लक्ष्य अनुसारको झण्डै ८० अर्व राजश्व संकलन गर्न नसकेको तथ्य भन्सारले निकालेको डाटाले नै पुष्टि गरेको छ ।
लक्ष्य अनुसारको राजश्व संकलन हुन नसक्नुको पछाडि चोरी तस्करी पनि प्रमुख कारण हो भन्ने कुरा भन्सारले नै पुष्टि गरेको छ । सीमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी त्याहां खटिएका सुरक्षाकर्मीको संरक्षण र संलग्नता नभई हुनै सक्दैन भन्ने कुरा सबैलाई जगजाहेर नै भएको कुरा हो । बिरगंज भन्सारले मात्रै लक्ष्य अनुसारको ८० अर्व राजश्व कम उठाउने भए पछि देशको आर्थिक अवस्था किन नबिगरने त भन्ने प्रश्न उठेको छ ।
अहिले पर्साका विभिन्न नाकाबाट तस्करी धन्दा मौलाई रहेको अवस्था छ । अमरपट्टी नाकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संरक्षणमा खुलेयाम तस्करी भैरहेको छ । केही निश्चित तस्करहरूलाई तस्करीको लाइन दिने काम भएको छ ।चल्लाको तस्करीको ठूलो लाइन अनुप साहले पाएका छन् । हप्ताको ३ दिन रातको २ देखि ४ बजेको समयमा साहलाई तस्करीको लाइन र समय दिइएको छ । त्यसैगरी गहुँको तस्करीको लाइन विजय समेतलाई दिइएको छ । सिसुवा नाका हुदै गहुँको ठूलो तस्करी भैरहेको छ । त्यसैगरी बेचनलाई ड्रमको तस्करीको लाइन दिइएको छ भने अशोक साह र विजयलाई कपडाको ठूलो तस्करी लाइन दिइएको छ । अमरपट्टी क्षेत्रमा मात्रै झण्डै सय भन्दा बढी कुखुराको फर्महरू रहेका छन् र ती सबैलाई चल्ला दिने अनुप साह नै हुन । साहले दुबै प्रहरीको सेटिङमा भारतबाट ठूलो मात्रामा चल्लाको तस्करी गरिरहेका छन् ।
गहुँको तस्करीमा सन्दिप साह कानु समेतका चार जनाको अर्को समूह समेत रहेको छ । २५ देखि ३० वटा साइकलमा गहुँको तस्करी हँुदै आएको छ । यसरी दैनिक ३ ट्याक्टर गहुँ तस्करीको माध्यमबाट नेपाल भित्रिने गरेको छ । दैनिक ३ देखि ४ घण्टा गहुँको लागि तस्करीको लाइन दिने गरिएको छ । नेपाल ल्याएपछि नेपाली बिल बनाएर बैध गराउने धन्दा पनि हुदै आएको छ । यसबाहेक यहाँ ४ वटा रक्सीका अबैध भट्टीहरू समेत रहेका छन् । भगवती , भोला , रहमान र शत्रुधनका रक्सीका अबैध भट्टीहरू रहेका छन् । हरेक रक्सी भट्टीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्थानीय प्रमुखलाई मासिक ५ हजारको दरले रकम दिदै आएको समेत खुलेको छ ।त्यसैगरी पर्साैनी घर भएका अलि मियाँलाई भैंसीको तस्करीको लाइन दिइएको छ । अहिले अमरपट्टी नाका तस्करहरूको लागि उर्वर क्षेत्र बनेको छ । नेपाल प्रहरीको स्थानीय चौकीको प्रमुखमा सई हरि चौहान छन् भने सशस्त्र प्रहरीको बिओपी इटिआई प्रमुखका निरीक्षक दिपेन्द्र मल्ल रहेका छन् । उप तथा गृहमन्त्री नारायण काजी श्रेष्ठलाई समेत यो तस्करीको सूचना पुगेको स्थानीय हरि साह बताउँछन् ।