भारतमा कोरोना बढेसङ्गै घर फर्किंदै कर्णालीबासी

सुर्खेत। छिमेकी भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै त्यहाँ इलम गर्दै आएका कर्णालीबासी धमाधम घर फर्किन थालेका छन्। भारतका विभिन्न राज्यमा कामका लागि गएका उनीहरू कोरोना संक्रमण पुनः बढ्दै गएपछि स्वदेश फर्किन थालेका हुन् । 
१३ चैतदेखि हालसम्म १४०० पुरुष र १६० जना महिला कर्णालीमा भित्रिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । 
 
भारतलगायत तेस्रो मुलुकबाट १३ जना गरी १६२१ जना घर फर्केको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रामप्रसाद घर्ती मगरले बताए । ‘भारतमा संक्रमित थपिएसँगै नेपालमा पनि संक्रमण फैलिने डर भएकाले पहिलेजस्तै सामाजिक दूरी कायम गर्ने, मास्क प्रयोग र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छौँ’, मगरले भने ।
 
भारतमा संक्रमितको संख्या बढेकाले नेपालमा पनि बढ्न सक्ने अवस्था रहेको हुँदा कोरोनाबाट बच्न नागरिकले पहिलेजस्तै उपाय अपनाउनुपर्ने प्रदेश अस्पताल कालागाउँ सुर्खेतका डा.नवराज केसी सुझाउँछन् ।
 
‘कोरोनाबाट जोगिन नागरिकले पहिलेजस्तै साबुनपानीले मिचीमिची हात धुनुपर्छ । भीडभाडमा मास्क लगाउने र भौतिक दूरी कायम गर्ने बेला आइसक्यो’, डा. केसीले भने । कसैलाई कोरोना संक्रमण देखिइहाले एम्बुलेन्स पठाउन खबर गर्ने, तुरुन्तै अक्सिजन दिनेलगायत उपाय अपनाउन उनले नागरिकलाई आग्रह गरे ।

हाल कर्णालीका विभिन्न अस्पताल, आइसोलेसन सेन्टर, सुरक्षाकर्मी आइसोलेसन, अन्य संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा रहेका कोभिड-१९ का बिरामी सुर्खेतमा १८ जना छन् । तीमध्ये प्रदेश अस्पतालको आइसोलेसनमा १ जना, होम आइसोलेसन वीरेन्द्रनगरमा १७ जना गरी जम्मा १८ जना आइसोलेसनमा रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले बताएको छ ।
 
कर्णालीमा हालसम्म ४ हजार बढीलाई कोभिड-१९ संक्रमण पुष्टि भइसकेको छ भने २२ पुरुष ९ जना महिलाको मृत्यु भएको तथ्यांक छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्