जीवनलाई कसरी परिभाषित गर्ने ?

जीवन के हो ? जीवनलाई कसरी परिभाषित गर्ने ? यो प्रश्न जटिल भएपनि अति आवश्यक छ । मानवको विचार, कर्म, स्वभाव र व्यवहार यस प्रश्नको वरपर नै घुमिरहेको हुन्छ । जीवनको सफलता र असफलता यसैमा निर्भर हुन्छ । सुख र दुःखको अनुभूति यसैले गराउँछ । हिन्दु धर्मको विश्वास अनुसार जीवन चौरासी लाख योनिको एउटा रूप हो, बाइबलका अनुसार ईश्वरको स्वरूप हो । बौद्ध दर्शनअनुसार निर्वाणको अवसर हो भने भौतिक विज्ञानका अनुसार प्रकृतिको रूप हो । विद्वानहरूले धेरै किसिमबाट जीवनलाई परिभाषित गरेका छन् । विलियम शेक्सपियरको अनुसार जीवन विश्व रङ्गमञ्चको एउटा कलाकार हो भने कार्लमाक्र्सको अनुसार जीवन संघर्ष हो । कसैको दृष्टिमा जीवन सुख र दुःखको योग हो, एक खेल हो, विश्वास हो, एक चक्र हो, खोज हो, घटनै घटनाको श्रृङ्खला हो, जीवन जिउने कला हो । मानिसको सोचाइ जस्तै जीवनका बारेमा पनि अनेकौँ अनेक परिभाषाहरू भेटिन्छन । आखिर जीवन हो के ? यस विषयमा विश्वास आ–आफ्नै, तर्क आ–आफ्नै छन् । यहाँ यस विषयमा वादविवाद खोजेको होइन, कुन चाहिँ ठिक भनेर दाँज्न खोजेको पनि होइन्, तर्कहरू खोजेको पनि बिल्कुलै होइन् । यहाँ केवल व्यवहारगत जीवनको भोगाइका विषयमा मन्थन खोजेका हौँ । दैनिक जीवनमा अनुभूत गरेका यथार्थ घटनाहरूलाई चिरफार गर्ने प्रयास मात्र गर्न खोजेका हौँ । जसले जे कुरामा विश्वास गरेको भएता पनि, जो जुन धर्म, जाति, सम्प्रदाइसँग सम्बन्धित भएता पनि सत्य त सत्य नै हो । सत्य त जातिअनुसार, धर्मअनुसार, सम्प्रदाइअनुसार फरक हुने विषय होइन् । न भूगोलअनुसार फरक हुन्छ न रङ्ग, स्वभावअनुसार नै फरक हुन्छ । सत्य त एउटै छ, एउटै हुन्छ र एउटै नै हुनेछ । बस ! त्यही सत्यको पहिचान गरी त्यसलाई आत्मसात गर्ने प्रयास खोजेका हौँ । अरू कसैले गरेको जीवनको परिभाषामा नअल्मलिनुस्, आफैमा खोज्नुस् र जीवन आफ्नो हो, यसलाई आफै परिभाषित गर्नुस् ।
जीवनलाई अझ गहिराइमा बुझ्ने हो भने जल, अग्नि, आकाश, पृथ्वी र वायु तत्वको योग नै जीवन हो । जसलाई हामी पञ्चतत्व भन्छौँ । ब्रम्हाण्ड यस पञ्चतत्वको विशाल रूप हो भने जीवन सानो अंश हो । त्यसैले विद्वानहरू भन्छन््, संसारमा जे जति वस्तुहरू छन्, सबै नै ब्रम्हाण्डको अंश हुन् र मानव जीवन पनि ब्रम्हाण्डको सानो रूप हो । पञ्चको अर्थ गणितीय हिसाबले पाँचको समूह हो । पाँचवटा तत्वहरूको समूह हो, पञ्चतत्व । पञ्चतत्वलाई पञ्चमहाभूत पनि भन्ने गरिन्छ । हिन्दु धर्मशास्त्र अनुसार पञ्चतत्वलाई नै भगवानको नाम दिएको पाइन्छ । भ+ग+व+आ+न मिलेर ‘भगवान’ शब्द बनेको छ । ‘भ’ को अर्थ भूमि, ‘ग’ को अर्थ गगन, ‘व’ को अर्थ वायु, ‘अ’ को अर्थ अग्नि र ‘न’ को अर्थ नीर (जल) हो । यसले के देखाउँछ भने हाम्रो पुरातन धर्मशास्त्रले प्रकृतिको पञ्चतत्वलाई नै ‘भगवान’ को रूपमा मान्दै आइरहेको भन्न सकिन्छ । 
हाम्रा पुर्खाहरूले पञ्च अथवा पाँचको समूहलाई व्यवहारमै महत्व दिने गरेका थुप्रै उदाहरणहरू भेटिन्छन् । पञ्च, पञ्चायत, पञ्चभलादमी, पञ्चामृत, पञ्चरस, पञ्चरत्न, पञ्चलौह, पञ्चेन्द्रिय, पञ्च महापाप, पञ्चशस्य( धान, मुगी, तिल, मास र जौ), पञ्चशील, पञ्चबुद्ध, पञ्चरङ्ग, पञ्चाङ्ग (तिथि, वार, नक्षत्र, योग र करण पाँच अङ्क भएको), पञ्चकन्या आदि । इतिहास कालमा भद्रभलादमीहरूको भेला बसेर न्यायनिसाफ गर्ने र थिति बाँध्ने प्रचलन व्यापक चलेको देखिन्छ । पाँच वा सोभन्दा धेरै भलादमीहरूको समूहलाई पञ्चभलादमी भन्ने गरिन्थ्यो । पाँच मात्र भेला भए पनि निर्णायक हुन्थ्यो, त्यसैले पञ्च भलादमी भनियो । पञ्च भलादमी भेला हुने कार्यलाई पञ्चायत बस्ने भन्थे । यसको विकसित रूप नेपालमा पञ्चायती शासन व्यवस्था चलेको मान्न सकिन्छ । पञ्चायतको नेतृत्व गर्नेलाई पञ्च भनियो । त्यस्तै इतिहासकालदेखि नै सार्वजनिक हितका लागि धन, सम्पत्ति दान गर्दा, देवीदेवतालाई चढाउँदा, पाटीपौवा, चैत्य, मन्दिर आदि सार्वजनिक महत्व राख्ने सम्पदाहरूको निर्माण गर्दा समेत पञ्च महापापको मन्त्रले बाँधेर संरक्षणको प्रयास गरेको प्रशस्तै भेटिन्छन् । पञ्च महापाप भन्नाले ब्रम्हहत्या, सुरा (मदिरा) पान, चोरी, गुरुस्त्रीगमन र कामवासनाले लाग्ने पाप हुन् । त्यस्तै पञ्चशील बौद्ध धर्मावलम्बीका उपासकहरूले पालना गर्ने पाँच किसिमको आचरण हो । चैत्यहरू पञ्चबुद्ध (अमिताभ, अमोदसिद्धि, विरोचन, रत्नसम्भव र अक्षभय) का प्रतिक हुन् । नैवेद्यमा उच्च पञ्चामृत (गाईको दूध, दही, घिउ, मह र चिनी), रत्नमा श्रेष्ठ पञ्चरत्न (हिरा, मोती, नीर, मुगा र मणि), पवित्रतामा पञ्चगब्य (गाईको दूध, दही, घिउ, गहुँत र गोबर), लौहमा पञ्चलौह (सुन, चाँदी, पीतल, तामा र फलाम), इन्द्रियमा श्रेष्ठ पञ्चेन्द्रिय हुन् । शुभ कार्यको शुभारम्भ, स्वागत आदिमा पञ्चकन्याको उपस्थिति अद्यापि चलिरहेको छ । यी सबै पञ्चतत्वको प्रतीकको रूपमा व्यवहारमा चलिरहेका चलनहरू भन्दा अनुपयुक्त नहोला । तिहारमा मनाईने यमपञ्च, नेवार समुदाइले भार्ईटिकामा लगाईने पञ्चरङ्गको टिका, मण्डवमा सजाउने तेल, खैरो चामल, गेडा मास, कालो भटमास र पानी पञ्चतत्वकै प्रतीक देखिन्छ । त्यस्तै नेवार समुदाइले सगुनको रूपमा प्रयोग गरिने बारा, अण्डा, माछा, मदिरा र दही पञ्चतत्वकै रूप मान्न सकिन्छ । यी सबै परम्पराको रूपमा व्यवहारमा चलाउँदै आईरहेका चलनहरू पञ्चतत्व बोधजन्य हुन् । अतः यी परम्पराहरूलाई पञ्चतत्वको महत्व दर्शाउने थितिको रूपमा लिन सकिन्छ । 
के हो त जीवनको तथ्य ? जन्म, विकास अनि अन्त यही हो जीवनको तथ्य । शरीर नाशवान छ, संसार अनित्य छ, नश्वर छ । यो नै सत्य हो । यसलाई न कुनै धर्मले, न कुनै तन्त्रले न कुनै वादले न कुनै शक्तिले बदल्न सम्भव छ । यसलाई चाहे भाग्यको खेल भन्नुस्, चाहे प्रकृतिको नियम भन्नुस्, चाहे ईश्वरको लेखा भन्नुस्, जसले जे भने पनि यो सत्यलाई नकार्ने कुनै शास्त्र छैन । सबै धर्मले, सबै शास्त्रले स्विकार गरेको कुरा यो नै हो, संसार परिवर्तनशील छ, नाशवान छ । जीवन गतिशील छ । यहि नै प्रकृति हो । प्रकृति नै सत्य हो । सत्य नै धर्म हो । जसको जे स्वभाव छ, जसको जे गुण छ, त्यो नै सत्य हो । स्वभाव अनुरूपको व्यवहार नै धर्म हो । राप र ताप आगोको स्वभाव हो । वायुको बहने स्वभाव हो । मानवको स्वभाव मानवता हो । ब्रम्हा, विष्णु, महेश, बुद्ध, महावीर, जिजस्, अल्लाह, साईबाबा आदि धर्मसँग जोडिएका प्रमुख पात्रहरू हुन् । यी मध्ये लेखकले कल्पना गरेका कोही काल्पनिक पात्रहरू हुन् त कोही कथाकारले उभ्याएका पात्रहरू हुन्, कोही आफ्नो जीवनकालमा मानवतालाई आत्मसात गरेका महापुरुषहरू हुन् । यी सबै पात्रहरूबाट मानवताका ज्ञान लिनु र त्यसलाई व्यवहारमा ल्याउनु नै बुद्धिमानी हुन्छ । यसलाई यतिमै पूर्णविराम लगाऔँँ । 
प्रकृति द्वन्द्व हो । दुई विपरित तत्वहरुको द्वन्दबाट नयाँ तन्वको जन्म हुन्छ र पुरानो तत्व नष्ट हुन्छ । यहि हो द्वन्दात्मक भौतिकवाद । नयाँ तत्वमा पनि द्वन्द चलिरहन्छ र नयाँ रूपमा रूपान्तर हुन्छ । अणु, परमाणु, सजीव, निर्जीव, जल, वायु संसारका सबै चिजहरूमा द्वन्द चलिरहन्छन् । जसको कारण विकसित हु्ँदै, पुरानो हुँदै नष्ट हुन्छन् र नयाँ रूपमा रूपमान्तरण हुन्छन् । यो निरन्तर चलिरहने प्रक्रिया हो । जहाँ नष्ट हुन्छ, त्यहिँबाट नयाँ उत्पतिको आधार बन्छ । नष्ट हुनु भनेकै एउटा अवस्थाबाट अर्को अवस्थामा परिणत हुनु हो । चर्को घाममा पानी तातो हुन्छ, बाफमा परिणत हुन्छ र विस्तारै बिलाउँदै जान्छ । आगोमा जल्दा खरानी हुन्छ, धुँवा उड्छ । जलेको वस्तु नष्ट हुँदै जान्छ, खरानी र धुँवामा परिणत हुँदै जान्छ । प्राणीको शरीरमा पुराना कोषहरू नष्ट हु्ँदै जान्छन र नयाँ कोषहरूको निर्माण पनि हुँदै जान्छन । शरीरमा पुराना रगत नष्ट हुन्छ र नयाँ रगतको निर्माण प्रक्रिया चलिरहन्छ । दिन जान्छ, अँध्यारो प्रारम्भ हु्न्छ, रात बित्छ, उज्यालो आउन थाल्छ । अध्यात्मिक मान्यता अनुसार जन्मसँग मृत्यु र मृत्युसँगै पुनर्जन्मको चक्र चलिरहन्छ । भौतिक विज्ञानले जन्मपछिको मृत्युलाई त स्विकार गरेको छ तर मृत्युपछिको पुनर्जन्ममा विश्वास गरेको देखिँदैन तर नयाँ जन्मको आधार तयार हुन्छ भनेर विश्वास गरेको देखिन्छ । जस्तैः एउटा मकैको बिउ बोट भएर उम्रन्छ र कैयौँ मकैका बिउहरू छोडेर अन्त हुन्छ । त्यस्तै प्राणीहरू पनि सन्तान जन्माएर अन्त हुन्छन् । माउसँग सन्तानको डि.एन.ए. मिल्नु भनेको यही नै हो । सायद यसैलाई अध्यात्मले नयाँ जन्म भनेको हुनुपर्छ ।
संघर्षको पर्याय नै जीवन हो । प्राणीहरूले जन्मदेखि मृत्युसम्म नै प्रशस्त संघर्ष गर्छन् । जन्मको प्रारम्भमा उचित वातावरण रहँदासम्म नष्ट हुने प्रक्रिया कमजोर हुन्छ र निर्माणको प्रक्रिया सबल हुन्छ । त्यतिबेला शरीरको विकास हुन्छ र शक्तिशाली पनि बन्छ । जब शरीरमा नष्ट हुने प्रक्रिया बलियो बन्दै जान्छ र निर्माणको प्रक्रिया कमजोर बन्दै जान्छ । बिस्तारै जीउ अशक्त, शक्तिहीन बन्दैबन्दै अन्तमा नष्ट हुने प्रक्रिया वा मृत्युले पूरै छोप्छ र मानिसको अन्त हुन्छ । आमाको गर्भबाट प्रारम्भ भई मृत्युको शैयामा टुंगिने जीवनको हरेक पाइलामा आईपर्ने समस्याहरुको विरुद्ध संघर्ष गर्नु र समाधानको प्रयास गर्नु मानवीय चरित्र हो । त्यसैले त जीवनलाई संघर्षको उपज भनिएको हो । जहाँ संघर्षको अन्त हुन्छ, त्यहाँ जीवनको पनि अन्त हुन्छ । यो शाश्वत सत्य हो । जीवन मरणको संघर्ष स्वचालित संघर्ष हो । कसैले न रोक्न सक्छ न कसैको प्रभावमा बदलिन्छ न रूप फेरिन्छ । हामीले त मात्र संघर्षमा जीवन्त पक्षलाई सबल बनाउन सहयोग पु¥याउन भने धेरै सम्भव छ । जीवन्त पक्ष जति बलियो हुन्छ, त्यति नै जीवनको अस्तित्व सबल हुन्छ । मुटुले नियमित रक्तसञ्चार गरिरहन्छ । फोक्सोले अक्सिजन लिने र कार्बोन डाइअक्साइड फाल्ने काम गरिरहन्छ । आन्द्राले पाचन प्रक्रिया चलाईरहन्छ र शरीरले पोसिलो तत्व लिन्छ । विजातिय तत्वहरू बाहिर फाल्ने कार्य नियमित गरिरहन्छ । त्यस्तै किड्नीले पनि शरीरभित्र बन्ने विजातिय तत्वलाई तरलको रूपमा बाहिर फाल्ने कार्य अनवरत रूपमा गरिरहन्छ । शरीरका सबै अङ्गहरूले आ–आफ्नै कार्य नियमित रूपमा गरिरहेका हुन्छन् । यी सबै कार्यहरू स्वचालित हुन । कुनै अङ्गको कार्यको लागि कुनै योजना बनाउनु जरुरी छैन । यसलाई चाहे प्राकृतिक भनूँ या दैवी । जे होस्, शरीरका यी स्वचालित प्रक्रिया जब अन्त हुन्छन, त्यस समय जीवनको पनि अन्त हुन्छ । शरीरका यी स्वचालित कार्यहरू रोकियो भने त्यससलाई पुनः स्वचालित गर्न प्राय असम्भव नै हुन्छ । हामीले यी अङ्गहरूको कार्यमा बाधा अड्चन आउन नदिन सक्छौँ, अङ्गहरूलाई तन्दुरुस्त राख्न सक्छौँ । स्वस्थ बनाई राख्न भने अवश्य सक्छौँ । 
संसारमा प्राणीहरू सबै आ–आफ्नो स्वभावमा बाँच्छन र नष्ट हुन्छन् । मान्छेहरू पनि आफ्नै स्वभावमा बाँच्छन तर मान्छेको जीवनशैली अरू प्राणीहरूको भन्दा फरक छ । मान्छे प्राणीहरूमा सर्वश्रेष्ठ प्राणी हो । विवेकशील प्राणी हो । सबैको चेतनाको स्तर बराबर छैन । फरकफरक चेतनास्तर अनुसार जीवनशैली पनि फरकफरक हुनु स्वभाविक नै हो । कोही रागमा त कोही बैरागमा बाँचेका हुन्छन । कोही अन्तरागमा त कोही बेमतलब बाँचेका हुन्छन । चाहे रागमा बाँचेको होस्, चाहे अन्तरागमा या बैरागमा बाँचेको होस । सबैले सुखकै आशा गरेका हुन्छन । भौतिक सम्पन्नतामा सुखी देख्नेहरू रागमा बाँच्ने गर्छन । सांसारिक जीवनमा दुःख देख्नेहरू बैरागमा बाँच्ने गर्छन । त्यस्तै सांसारिक जीवनलाई अंगाल्दै भौतिक सम्पन्नताको सन्तुलन चाहनेहरू अन्तरागनमा बाँच्ने गर्छन् । यति मात्र होइन कोही त आँखा चिम्लेर जसोतसो बेहोसमा बाँच्ने पनि छन् । सफल जीवन कुन हो ? कस्तो जीवनलाई सफल भन्ने ? कसैले ठूलो व्यापारी, उद्योगपति बनेर अकुत सम्पत्ति कमाएका होलान्, कोही डाक्टर, इन्जिनियर, पाइलट, प्रोफेसर बनेर नाम, दाम, सम्मान कमाएका होलान् । कोही सरकारी उच्च तहको कर्मचारी होलान । कोही नेता, मन्त्री बनेका होलान् । यी सबैको जीवनलाई सफल मान्न सक्छौँ ? मानिसहरू आलिशान महलको सुविधायुक्त जीवनलाई सफल जीवन भन्ने गर्छन् । मजदुरी, खेतीपातीको संघर्षपूर्ण जीवनलाई प्रगतिविहिन जीवन भन्ने गर्छन् । यो सत्य होइन, भ्रम हो । सफलताको मापदण्ड धन, पद, शक्ति, मान, सम्मान बिल्कुलै होइन् । सफलताको मापदण्ड मात्र सुख हो । जुन जीवन सन्तुष्टमय छ, जुन जीवन निन्द्रामय छ, आनन्दमय छ, त्यो जीवन सुखमय हो । जुन जीवन सुखमय छ, त्यहि जीवन सफल जीवन हो । सफल जीवन नै सार्थक जीवन हो । क्रमशः
 


तपाइको प्रतिक्रिया दिनुहोस्