कलाकारितासँगै समाजसेवामा अगाडि बढ्दै मिस कोशी

सन् २०१७ सालमा मिस कोशीको उपाधी चुमेकी सुस्मीता श्रेष्ठ पछिल्लो समय कलाकारितासँगै समाजसेवामा पनि अग्रणी भूमिका खेल्दै अगाडि बढिरहेकी छिन् ।
झापा जिल्लाको दुर्गम स्थान मानिने सईनिकमा जन्मिएकी श्रेष्ठले कलाकारिता क्षेत्रमा पछिल्लो समय खारिएको कलाकारको रुपमा आफूलाई परिचित गर्न सफल बनेकी छिन् । झापा जिल्लामा जन्मिए पनि आफ्नो बाल्यकाल सुनसरीको इटहरीमा बिताएको श्रेष्ठ बताउँछिन् । बाल्यकालदेखि नै कलाकार बन्ने सपना बोकेकी सुस्मीतालाई आमाबाट साथ र सहयोग मिले पनि आमाको निधन पछि आमाको सपना पूरा गर्न तल्लिन सुस्मीता नेपालको प्रतिभाशाली मिस कोशी नेपाल बन्न सफल भइन् ।

उनले मिस कोशीमा ५४ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस कोशीको उपाधि चुम्न सफल भएकी थिइन् । त्यसपछि विभिन्न म्यूजिक भिडियो, ठूला पर्दाका सिनेमामा नायिकाको भूमिका निर्वाह गर्न अफर बाढी नै आउन थाल्यो । त्यसपछि सुस्मीताले चारवटा ठूलो पर्दाको चलचित्रमा सफल अभिनय गरिसकेकी छिन् भने दर्जनौं म्यूजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । 
यसै क्रममा सुस्मीताले २०१९ अमेरिकामा भएको एनआरएनले आयोजना गरेको वल्र्ड नेपाल म्यूजिक एवार्ड जित्न सफल भएकी थिइन् । हालै काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा नेपाली फिल्मी जगतको बक्स अफिसले गरेको प्रोग्राममा नेपाली फिल्मी अवार्ड हात पार्न सफल भइन् । 
हाल सुस्मीता राष्ट्रिय संगीतकर्मी संघ ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकाको संयोजकको भूमिका निर्वाह गरिरहेकी छिन् । समाजसेवामा पनि उत्तिकै खट्ने सुस्मीताले गत वर्षदेखि कोरोना भाइरसबाट पीडित बनेकाहरुलाई नगदसहित खाद्यान्न सहयोग गरेकी थिइन् । हाल बालबालिका, अपाङ्ग, एकल महिला, वृद्धाश्रममा आफूले मेहनत गरेर कमाएको पैसाले सहयोग गर्दै आइरहेकी छिन् । 


तपाइको प्रतिक्रिया दिनुहोस्