भिक्षु ज्ञानपूर्णिक महास्थविरको राष्ट्रिय सम्मानसहित अन्त्येष्ठि

 

८१ वर्षको उमेरमा निधन भएका नेपालका सातौं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरको शंखमुल घाटमा राष्ट्रिय सम्मानसहित अन्तेष्ठिी गरिएको छ । संघनायक भिक्षु ज्ञानपूर्णिक महाअस्थविरको गत शुक्रबार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली सेनाको एक टुकडीले भिक्षुप्रति सलामी अर्पण गरेको थियो । सेनाले भिक्षुको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएको भिुक्षुका शिष्या भिक्षु निग्रोधले जानकारी दिए ।

उनको निधनप्रति दुःख व्यक्त गर्दै देश–विदेशबाट समवेदना सन्देश आउने क्रम जारी छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भिक्षुको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदाना व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीको समवेदना सन्देश सांसद कृष्णगोपाल श्रेष्ठले ल्याएका थिए । राष्ट्रपतिको सन्देशमा भनिएको छ, ‘उहाँको निधनले दुखित् तुल्याएको छ । शोकको यो घडीमा परिवार, साधु, भिक्षु, शिष्यसहित समस्त बौद्ध धर्मावलम्बीप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उनकी पत्नी राधिका शाक्यले भिक्षुप्रति श्रद्धाञ्जलि व्यक्त गरेकी छिन् । त्यसक्रममा उनले प्रधानमन्त्रीको समवेदना सन्देश भिक्षुका शिष्यलाई हस्तान्तरणा गरिन् । प्रधानमन्त्रीको समवेदना सन्देशमा भनिएको छ, ‘बुद्ध दर्शनका क्षेत्रमा संघनायक महास्थविरले देखाउनु भएको बाटो अनुकरणिय छ ।’

श्रीलंकाका प्रधानमन्त्री महेन्द्र राजापाक्षे समवेदना सन्देश पठाउँदै भिक्षुको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस्तै श्रीलंकाको धार्मिक मन्त्रालय तथा थाइल्याण्डको संघराजा राजगुरु, बर्माका राजगुरुले भिक्षुको निधनप्रति दुःख व्यक्त गर्दै समवेदाना सन्देश  पठाएका छन् ।

गत शुक्रबार निधन भएका भिक्षु ज्ञानपूर्णिक महास्थविरको पार्थिव शरीर बानेश्वस्थित विश्वशान्ति विहारमा २ दिनसम्म राखिएको थियो । स्व. भिक्षुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न राजनीतिक दलका नेता तथा शुभेच्छुकसहित करिब ६ हजार भन्दा बढी बौद्धमार्गी एवं शुभेच्छुकको घुइचो लागेको भन्तेका शिष्य भिक्षु निग्रोधले खोजतलासलाई जानकारी दिए । कोरोना भाइरसको त्रास रहेका कारण सामाजिक दूरी कामय गरी भिक्षुप्रति व्यक्त गर्न आउनेसबैलाई मास्क तथा स्यानिटाइजर उपलव्ध गराएर श्रद्धाञ्जलि व्यक्त गर्ने अवसर प्रदान गरिएको थियो । शंखमुल घाटमा गरिएको भिक्षुको अन्तेष्ठी कार्यक्रममा सहभागी हुन करिब ३ हजार मानिस भेला भएका थिए ।

भिक्षुप्रति श्रद्धाञ्जलि व्यक्त गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराई, सांसदहरू तथा विभिन्न देशका राजदूतहरू आएका थिए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी विश्व शान्ति विहार पुगेर तथा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु मजर्हनले शंखमुल घाटमा पुगेर भिक्षुप्रति अन्तिम श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेकाका पूर्व महामन्त्री प्रकाशमान सिंह पनि विश्व शान्ति विहार गएर संघनायकप्रति श्रद्धाञ्जलित व्यक्त गरेका थिए ।

संघनायकप्रति सम्मान व्यक्त गर्न जापानले विश्व वौद्ध सम्मेलन स्थल अबे सहरस्थित बोधी गार्डेनमा भिक्षु ज्ञानपूर्णिकको अस्तु राखेर चैत्य (स्तुपा) निर्माण गर्ने घोषणा गरेको छ । भिक्षु ज्ञानपूर्णिक बौद्ध सम्मेलनमा नेपालको कन्ट्र रिप्रिजेन्टेटिभका रूपमा सहभागी हुन्थ्ये । भन्तेको योगदानको कदर स्वरुप जापानले चैत्य निर्माणको प्रस्ताव गरेको हो । नेपालका बौद्ध गुरुहरूको अस्तु लगेर चैत्य निर्माण गर्न लागिएको यो नै पहिलो हो । बोधी गार्डेनमा थाइल्याण्डका राजगुरु निधन हुँदा चैत्य निर्माण भइसकेका छन् ।

भिक्षुको सम्झनामा सात दिनसम्म गुणनास्मरण पाठ भइरहेको छ । यो क्रम बिहीबारसम्म जारी रहनेछ । उनको सम्झनामा वर्ष दिन भरी नै  संघ दान तथा भोजन दान कार्यक्रम गरिनेछ । भिक्षुको जन्मस्थल तानसेन तथा लुम्बिनीमा श्रद्धाञ्जलिका विविध कार्यक्रम हुनेछन् भने वार्षिक पुन्य तिथीमा उनको योगदान समेट्ने गरी स्मृति ग्रन्थ प्रकाशन गर्ने कार्यक्रम छ ।

दुबै मिर्गौला फेल भएका संघनायक भिक्षु ज्ञानपूर्णिक महास्थविर गत वैशाख १८ गते सुमेरु अस्तालमा भर्ना भएका थिए । दुबै मिर्गौला काम नगरेपछि एक वर्ष अघिदेखि उनले डायलासिस गराइरहेका थिए । भिक्षु ज्ञानपूर्णिकलाई नशासम्बन्धी रोग पनि थियो । मुटुको एन्जीओप्लास्ट गरिएका उनीमा प्रोस्टेटग्लान्डको पनि समस्या थियो ।

को हुन् डा.भिक्षु ज्ञानपूर्णिक

नेपालका सातौं संघनायक डा.भिक्षु ज्ञानपूर्णिक महास्थविरका जन्म वि.सं. १९९६ मंसिर ६ गते लुम्बिनी अञ्चल, पाल्पा जिल्ला सदरमुकाम तानसेनमा बुबा सूर्यलाल शाक्य र आमा चन्द्रमाया शाक्यको कान्छो छोराको रूपमा भएको हो । उनको गृहस्थी नाम हिरालाल शाक्य हो ।

संघनायकसम्मको यात्रा

तानसेनको टक्सारस्थित शील पाठशालामा प्रारम्भिक शिक्षा अध्ययन गरेका हिरालाललाई उनकी आमा चन्द्रमाया शाक्यले ११ वर्षको बाल्य अवस्थामै भिक्षु बनाउन पूज्यपाद भिक्षु बुद्धघोष महास्थविर (पछि नेपालका पाँचांै संघनायक) लाई छोरा अर्पण गरेकी थिइन् । बुद्धघोष महास्थविरको छत्रछायाँ र सामीप्यमा रही हीरालालले केही वर्ष बुद्ध शिक्षा र पालि भाषाको प्रारम्भिक ज्ञान लिए ।

नेपालमा थेरवाद बुद्धधर्मको पुनर्जागरण पश्चात् पहिलो थेरवादी भिक्षु महाप्रज्ञा, प्रथम संघमहानायक प्रज्ञानन्द, आचार्य भिक्षु अमृतानन्दजस्ता वरिष्ठ भिक्षुहरूको प्रेरणा एवं आशिर्वाद उनलाई प्राप्त भयो । भिक्षु बुद्धघोष महास्थविरको अथक प्रयासले १६ वर्षकै उमेरमा बुद्धधर्मको उच्चशिक्षा त्रिपिटक अध्ययनका लागि उनी बर्मा (म्यानमार) पुगे ।

हिरालाबाट श्रामणेर ज्ञानपूर्णिक

सन् १९५६ अगष्ट १५ का दिन बर्माका सुप्रसिद्ध अग्ग महापण्डित भिक्षु विशुद्धाभिवंस महास्थविरबाट श्रामणेर दिक्षा लिई हिरालाल श्रामणेर ज्ञानपूर्णिकको नामबाट बुद्धशासनमा प्रवेश गरे । यसपछि बर्मामा रही गुरुकुल परम्परामा धार्मिक शिक्षा अध्ययन गर्दागर्दै सन् १९५९ अप्रिल १२ का दिन बीस वर्षको उमेरमा अभिधज राष्ट्रगुरु सयादो सुरिया भिवंश महास्थविरको उपाध्यायत्वमा उनले भिक्षु उपसम्पदा (पूर्ण भिक्षुत्व)को दिक्षा लिएका हुन् । बौद्ध जगतमा गहन बुद्धशिक्षा र ध्यान अभ्यासको क्षेत्रमा सुप्रसिद्ध स्थल मानिएको यांगुनस्थित छैठौं संगायना सम्पन्न भएको महाखन्ध सीमा उपोसथागारमा उनको पूर्ण भिक्षुत्व जीवन प्रारम्भ भयो ।

उनले सन् १९६३ मा सासनधज धम्माचरिय उपाधि प्राप्त गरे । सरकारी पालि शिक्षामा धम्माचरिय प्राप्त गर्ने प्रथम विदेशी व्यक्तित्व नेपालकै तर्फबाट धम्मवती गुरुमां हुन् भने भिक्षुहरूमध्ये भिक्षु ज्ञानपूर्णिक हुन् ।

बौद्ध साहित्य यात्रा

उनले रंगुनस्थित विशुद्धाराम पालि तक्षशिला एवं माण्डलेस्थित विज्जालंकार विद्यालयमा थप विविध विषयमा उच्च अध्ययन गरेका छन् । सन् १९६४ देखि १९६६ सम्म म्यानमारकै बुद्ध सासन काउन्सिलको प्रकाशन संस्थामा रही पालि बर्मिज विश्व शब्दकोषको सम्पादनमा महत्वपूर्ण योगदान दिए । उनले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरू अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशन गरेका छन् ।

विपश्यना ध्यानयात्रा

उनले विश्व प्रसिद्ध विपश्यनाचार्य भिक्षु शोभन महास्थविर (महाशी सयादो)को छत्रछायाँमा रहीविपश्यना ध्यानको ज्ञान सिके । बर्मामा अध्ययनपछि उनले पुनः भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातक गरे । उनले त्रिविको स्नातकोत्तरसम्म अध्ययन गरे ।

सात भाषाका ज्ञाता

नेपाल भाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मी गरी ७ भाषाका ज्ञाताका रूपमा उनले बुद्धशासनिक काममा आफ्नो जीवन समर्पण गरे ।

युरोपबाट स्वदेश फर्केपछि उनले ललितपुरको ठेचोमा वेलुवनाराम विहार, मंगलबजार पटकोमा मणिमण्डप विहार, काठमाडांै नयाँ बानेश्वरमा विश्व शान्ति विहार स्थापना गरेका छन भने शंखमूलमा अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र स्थापना गर्नमा महत्वपूर्ण भूमिका निवाह गरेका छन् । 

नेपालको शैक्षिक क्षेत्रमा बुद्धशिक्षा परियत्ति विकासका लागि उनले परीक्षा नियन्त्रक र शिक्षाध्यक्षको रूपमा र अन्य  विभिन्न पदमा रही नेपाल बौद्ध परियत्ति शिक्षामा ५० वर्षसम्म निरन्तर योगदान पु¥याएका छन् ।

बौद्ध धर्म शिक्षामा योगदान

नेपालको बुद्ध, बुद्धधर्म, बौद्ध शिक्षा एवं संस्कृतिको उत्थानमा पनि उनको योगदान महत्वपूर्ण छ । प्रवजितहरूको संख्यात्मक र गुणात्मक रूपमा नयाँ पुस्ता तयार गर्न विश्व शान्ति विहारअन्र्तगत विश्व शान्ति बौद्ध शिक्षालय तथा थेरवाद बुद्धिष्ट एकेडेमी स्थापना गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयको संस्थापक प्राचार भई उनले बौद्ध शिक्षा प्रचारमा महत्वपूर्ण योगदान पु¥याएका छन् ।

उनलाई विसं २०७६ वैशाख १ गते अखिल नेपाल भिक्षु महासंघबाट नेपालको सातौं संघनायकको रूपमा पदासिन गरिएको हो ।


तपाइको प्रतिक्रिया दिनुहोस्