अफगानिस्तानमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक रिचर्ड बेनेटले तालिबानलाई गैर९सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका छन् । अफगानिस्तानस्थित खामा प्रेसले उल्लेख गरे अनुसार महिला अर्थतन्त्रका लागि महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा बन्देज नलगाउन आग्रह गरेका हुन् ।
तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा उनले उक्त टिप्पणी गरे । गैरसरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथि तालिबानले गरेको प्रतिबन्धले अफगानिस्तानमा महिलाहरूले सामना गरिरहेको निरन्तर प्रतिबन्धलाई उजागर गरेको पनि खामा प्रेसले बताएको छ।
सन् २०२२ दिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो । तालिवानको निर्णयप्रति स्वदेशी तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्थाहरूले कडा प्रतिक्रिया दिएका थिए।
यसैबीच, संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले अफगानिस्तानमा गैरसरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्धले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको अफगानिस्तानस्थित टोलो न्युजले जनाएको छ।
मानवीय सहायतामा भर परेको देश अफगानिस्तानको अर्थतन्त्र अहिले महिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण झनै खस्कँदै गएको छ।