नवनियुक्ति आईजीपी थापामाथि चुनौतिका चाङ

काठमाडौं । नवनियुक्त आईजीपी थापासामु चुनौतिका चाङ छन् । विगतमा एकजना महानिरीक्षकमा नियुक्त भएलगत्तै प्रतिष्पर्धीसँग पानी बाराबारको स्थिति हुने गरेको थियो । तर, यसपालि थापा र प्रतिस्पर्धी हरिबहादुर पालले दुवैजना एकअर्कामा आरोप प्रत्यारोप नगरी अघि बढ्ने पूर्वघोषणा गरेका थिए ।

सरकारले दुईमध्ये जसलाई आईजीपी बनाए पनि स्वीकार गर्ने दुवैले बताएकाले विगतमा जस्तो दुई ब्याचीबीच तिक्ततापूर्ण सम्बन्ध नहुने अपेक्षा गरिएको छ । कार्यकालभरि यो सम्बन्धलाई कायमै राख्न सके थापाको नेतृत्व उदाहरणीय बन्ने छ ।

अहिले प्रहरी कर्मचारीमा संगठनप्रति विश्वास देखिँदैन । प्रहरी निरीक्षकभन्दा तल्लो तहका अधिकृत पनि सरुवा, बढुवाका शक्ति केन्द्र धाउने गरेका छन् ।

प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यस्तो परिस्थितिमा थापाले कसरी संगठन हाक्लान् भन्ने निकट भविष्यले बताउनेछ ।

हालका आईजीपी ठाकुर ज्ञवालीकै अनुभव हेर्ने हो भने उनलाई एक तालिम केन्द्रमा सरुवा हुन शक्ति केन्द्रका ५ जना व्यक्तिबाट सिफारिस आए । तर, ज्ञवालीलाई नै भेटेर कसैले पनि त्यहाँ जाने इच्छा व्यक्त गरेनन् ।

यो ज्ञवालीले संगठनको आन्तरिक सम्बोधनमा उल्लेख गरेको उदाहरण हो । त्यसैले नवनियुक्त महानिरीक्षक थापाको सबैभन्दा ठूलो चुनौति संगठनप्रति गुमेको कर्मचारीको विश्वासलाई फर्काउनु हुनेछ ।

सरुवा–बढुवामा अहिले राजनीतिक दलका नेताको तीब्र हस्तक्षेप देखिन्छ । यसलाई मुक्त गर्न थापाले सक्लान् कि नसक्लान् भन्ने पनि चासोको विषय हुनेछ । र, यसको सुरुवात केही दिनपछि हुने एआईजी बढुवाबाट हुनेछ ।

रिक्त रहेको एआईजीको दुई पदका लागि थापाकै ब्याची प्रद्युम्न कार्की, निरज शाहीलगायत प्रतिस्पर्धामा छन् । वैकल्पिक टोलीका विश्वराज पोखरेल, सहकुल थापाहरु पनि अहिले एआईजीमा बढुवा भएर २९ औं महानिरीक्षकको स्थान सुरक्षित गर्ने होडमा छन् ।

महामारीका बीचमा नेतृत्व सम्हालेका थापाको फौजलाई सुरक्षित राखेर शान्ति, सुरक्षा कायम गराउनुपर्ने चुनौति पनि छ । कोरोना (कोभिड–१९) का बीच लकडाउन खुकुलो भएसँगै अपराधको स्वरुप र विम्व परिवर्तन हुने थापाकै ब्याजी एआईजी हरिबहादुर पाल नेतृत्वको अपराध अनुसन्धान विभागको निष्कर्ष छ ।

यो अवधिमा चोरी, डकैती, हत्या, घरेलु तथा महिला तथा बालबालिकासम्बन्धी हिंसा, आर्थिक अपराध लगायत हुनसक्ने विभागको रिपोर्ट छ । तीसँगै अहिले प्रविधि जोडिएका अपराध पनि बढी रहेको छ ।

प्रहरीमा नेतृत्व परिवर्तन हुँदै पिच्छे नयाँ सांगठानिक प्राथमिकता ल्याउने चलन छ । गृहमन्त्री फेरिँदैपिच्छे पनि नयाँ कार्ययोजना आउने गरेका छन् । त्यसैले थापाले कस्तो रणनीति, प्राथमिकता र कार्ययोजना तय गर्छन् भन्ने पनि महत्वपूर्ण हुनेछ ।

अहिले नेपाली प्रहरीलाई संघीय संरचनामा लैजाने प्रक्रिया सुरु भएको छ । यो अवस्थामा थापासामू समायोजन प्रक्रियालाई अघि बढाउने चुनौति पनि छ । ‘संगठन संक्रमणकालीन अवस्थामा रहेका वेला संघीय संरचनामा सही ढंगले लैजानु पर्ने उनमा चुनौति छ ।

त्यस्तै, साढे ३३ किलो सुनकाण्डदेखि निर्मला हत्या प्रकरणसम्ममा अनुसन्धान अधिकृत नै आरोपित बनाइएका छन् । यो स्थितिमा प्रहरीको गिरेको मनोबल उकास्नुपर्ने चुनौति पनि थापासामू छ ।

विगतमा आरोपित बनेका केही अधिकृतलाई अदालतले ‘क्लीन चिट’ दिइसकेको छ भने कतिपयमाथिको आरोप तथ्यहिन साबित भइसकेको छ । त्यसैले निलम्बन र कारबाही फुकुवाको थप प्रक्रिया कसरी अघि बढ्छ भन्ने पनि चासोका साथ हेरिनेछ ।

प्रहरीले गर्नुपर्ने अपराध अनुसन्धानका जिम्मेवारी सरकारले निजामती सेवाका व्यक्तिलाई नेतृत्व दिएर छानविन समिति बनाउने प्रवृत्ति देखिएका छन् । जसले अनुसन्धान थप गिजोलिएका उदाहरणहरु छन् । थापाले यो अवस्थाबाट संगठनलाई कसरी टाढा राख्न सक्लान् भन्ने पनि हेर्न लायक हुनेछ ।

प्रहरीमा शक्ति केन्द्र निकट व्यक्तिको स्वार्थका लागि मनमौजी रुपमा नीतिगत निर्णय हुने गरेका छन् । यसका लागि सरकारले प्रहरी अधिकृतहरुसँग छलफल र परामर्श पनि गर्ने गरेको छैन । ज्ञवालीका पालामा डीआईजीको दरबन्दी कटौति गर्न खोज्दा गृह सचिव महेश्वर न्यौपानेसँग भनाभन नै प¥यो । थापाले अब संगठन कसरी हाक्लान् भन्ने चाहिँ भविश्यले नै बताउला ।

थापाको सङ्गठनमा यस्तो छ योगदान

विसं २०४९ वैशाख १९ मा प्रहरी प्रशिक्षण प्रतिष्ठानमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थापा राजधानीबाहिर सिन्धुपाल्चोक, सल्यान, धादिङ, झापा, कास्कीमा बसेर सेवा गरेका छन् ।

प्रहरी नायब महानिरीक्षक हुँदा थापाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीको समेत नेतृत्व लिएका थिए । त्यसअघि लामो समयमा प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरे । तीनवटा युएन मिशनमा समेत सहभागी थापा कुशल सङ्गठकका रुपमा चिनिन्छन् ।

प्रहरी समूहका ९८औँ व्याजमा उनीसँगै हालका एआइजी पाल पनि प्रवेश गरेका थिए । थापासँगै प्रहरी सङ्गठनमा प्रवेश गरेका उनका सहकर्मीहरु केही डिआइजी त भने केही एसएसपी नै छन् । नवनियुक्त आईजीपी थापा व्यवस्थापकीय जिम्मेवारीमा अब्बल मानिन्छन् । पाल भने कमान्ड नियन्त्रणमा पोख्त छन् ।

प्रहरी निरीक्षक हुँदा प्रतिष्ठानसँगै सल्यान र सिन्धुपाल्चोकमा खटिएका थिए । प्रहरी नायब उपरीक्षक हुँदा धादिङ जिल्लाको नेतृत्व गरे । प्रहरी उपरीक्षक भएपछि उनले झापा र कास्की प्रहरीको नेतृत्व सम्हाले । उनी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) हुँदा केन्द्रीय प्रहरी प्रवक्तासमेत बने । उनी एआईजी भएपछि भने प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागको प्रमुख भए ।

हालका प्रहरी महानिरीक्षक ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट एकैचोटि बढुवा भएर महानिरीक्षक बनेका थिए । उनीको नियुक्तिमा भने सरकारले प्रशंसा पाएको थियो । प्रहरी सङ्गठनमा हालका थापाको नियुक्तिलाई पनि स्वच्छ निर्णयका रुपमा हेरिएको छ ।

विगतमा महानिरीक्षक नियुक्तिको विषय अदालतमा समेत पुगेको थियो । कनिष्ठलाई नियुक्ति गरिएको भन्दै कतिपय प्रहरी अधिकृतले राजीनामा दिएको उदाहरण छ । यसपटक निर्विकल्प रुपमा उनको नाम गएको एक प्रहरी अधिकृतले बताए ।

चार वर्षअघि जयबहादुर चन्द आईजीपी हुँदा प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल अदालत पुगेका थिए । उपेन्द्रकान्त अर्याल आइजी हुँदा पनि प्रहरीमा विवाद बल्झिएको थियो । सर्वेन्द्र खनाल डिआइजीबाट बढुवा हुँदा तत्कालीन डिआइइजी रमेश खरेलले राजीनामा दिए । प्रहरी नियमावलीमा ज्येष्ठता, कुशल नेतृत्वकर्ता, कार्यक्षमता, प्रोत्साहन र परिचालन गर्ने क्षमता लगायतका आधारमा आइजीपी हुने आधार छ ।

यसअघि प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवाली प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाटै आईजीपीमा बढुवा भएका थिए । नवनियुक्त आईजीपी थापासँग एआईजीका रुपमा साढे तीन महिना काम गरेको अनुभव छ ।

थापाले प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत एवं प्रशासन विभागमा एआईजीका रुपमा काम गरेका छन् । अब महानिरीक्षकका रुपमा उनले २२ महिना नेपाल प्रहरीको नेतृत्व गर्नेछन् ।

पूर्वडीआईजीका छोरा

आईजीपीमा नियुक्त भएका थापा २३ मंसिर २०२५ मा भक्तपुर, कटुञ्जेमा जन्मिएका हुन् । बुबा शम्भु थापाका कान्छा छोरा शैलेशका दाजु कर्मचारी सञ्जय कोषमा कार्यरत छन् ।

राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका थापाका बुबा शम्भु नेपाल प्रहरीकै अवकाशप्राप्त नायब महानिरीक्षक (डीआईजी) हुन् । बुबाकै प्रेरणाले थापा संगठनमा प्रवेश गरेका हुन् ।

प्रहरी निरीक्षकका रुपमा १९ वैशाख २०४९ मा प्रहरी संगठनमा प्रवेश गरेका उनी संगठनभित्र बौद्धिक र इमान्दार अधिकृतका रुपमा चिन्छिन् ।

तत्कालीन समयमा लोक सेवा आयोगले लिने इन्स्पेक्टरको परीक्षामा उनी पहिलो नम्बरमा थिए । त्यसयता हरेक पदमा बढुवा हुँदा उनले आफूलाई ब्याजको पहिलो नम्बरमा उभ्याउन सफल भएका थिए । राजनीतिक पहुँच र लबिइङमा कमजोर मानिने उनी इमान्दार भएकै कारण वरियतामा संगठनले माया गरेको अधिकृतका रुपमा चिनिन्छन् ।

सरकारले ६ कात्तिक २०७५ मा थापालाई महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको नेतृत्व सुम्पियो । जहाँ उनलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित सत्तारुढ दलका अन्य नेतासँग सुमधुर सम्बन्ध बनाउने अवसर थियो । तर, थापाले त्यतातिर ध्यान दिएनन् । गृह मन्त्रालयका अधिकारीहरु त्यसवेला थापाले राम्रो अवसर गुमाएको बताउँछन् । तर, राजनीतिक दलका नेतासँगै खासै अनौपचारिक सम्बन्ध नराख्ने थापाको यही स्वाभावलाई मन पराउने पनि थुप्रै छन् । उनको व्यवसायिक जीवनको अधिकांश समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ । उनले इन्स्पेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदा एकेडेमी र सचिवालयमा काम गरेका छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्