काठमाडौं । वर्षेनी २७ हजार नेपालीको ज्यान लिने सुर्तीमा कर वढाउन नदिनका लागि उद्योगीहरुले भ्रमपूर्ण प्रचार गर्न थालेको छ ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल, नेपालले गरेको अध्ययन अनुसार नेपालमा सुर्ती नियन्त्रणमा उद्योगीको हस्तक्षेप छ भन्ने कुरालाई थप पुष्टि गर्दै नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्दै आएको करका विषयमा भ्रम छरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले उद्यमीहरुले गलत आंकडा प्रस्तुत गरेर सुर्तीमा ७१ प्रतिशतसम्म कर रहेको प्रचारवाजी गरेको बताए ।
नेपालमा हाल चुरोटमा करको भार ३३ प्रतिशतमात्र रहेको बताउँदै उनले आयात कर, भन्सार करलगायतका कुरालाई समेत जोडेर करको दर बढी रहेको भ्रम छरेको स्पष्ट पारे ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानका कार्यकारी सदस्य तथा संयोजक डा. जयकुमार गुरुङ्गले जतिसुकै लचिलो भएर सुर्ती करको विषयमा अध्ययन गर्ने हो भने पनि ४० प्रतिशत ननाघेको स्पष्ट पारे । सुर्तीमा करसम्वन्धि अध्ययन गरिरहेका उनले अन्तशुल्क र स्वास्थ्यकरबाहेक मुल्य अभिवृद्धि करसम्मलाई मात्र सुर्तीमाथि लाग्ने करको रुपमा लिइने अन्तराष्ट्रिय मान्यता रहेको बताए ।
नेपालमा सुर्ती सेवनबाट २७ हजार मर्ने गरेकोमा अहिले आएर ३७ हजार ५ सय पुगेको ग्लोबल बर्डेन अफ डिजिजले स्पष्ट पारिसक्दा पनि सरकारमा चेत नआएको र उद्योगीको प्रत्यक्ष अप्रत्यक्ष हस्तक्षेपमा पर्ने गरेको बताए ।
सुर्ती उद्योगको हस्तक्षेपसम्बन्धी अध्ययनकर्तासमेत रहेका स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जालका अध्यक्ष शान्तलाल मुल्मीले उद्योगीको हस्तक्षेप अनि उनीहरुको दबाब तथा प्रभावमा परेर कर वृद्धि गर्नमा आनाकानी हुने गरेको अध्ययनबाट पाइएको बताए । आजको राजधानी दैनिकबाट