गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति गरेका छौँ : मन्त्री पुन

3.8k Shares

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले गणतन्त्र ल्याएको डेढ दशकमा विकासले फड्को मारेको बताएका छन् । शनिबार माओवादी निकट वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको भेलालाई सम्बोधन गर्दै मन्त्री पुनले गणतन्त्र स्थापना गरेको बेला देशमा ५ हजार किलोमिटर बाटो कालोपत्रे भएकोमा अहिले १८ हजार किलोमिटर बाटो कालोपत्रे भएको बताए ।

गणतन्त्र अघि देशमा २० हजार किलोमिटर सडक रहेकोमा अहिले १ लाख ५ हजार किलोमिटर सडक पुगेको उनले बताए ।   उनले यो वर्ष हुम्ला सडक सञ्जालले जोडिएकोले अब कुनै पनि जिल्ला सडक सञ्जालबाट बाहिर नरहेको उल्लेख गरे । गणतन्त्रको १६ वर्षमा धेरै भौतिक प्रगति भए पनि अब त्यसलाई  गुणस्तरमा बदल्नेगरी बजेट आएको उल्लेख गरे । अन्य जागरणका कुरामा पनि परिवर्तन भए पनि जुन रूपमा जनताको जीवनस्तर फेर्नुपर्ने थियो त्यो रूपमा फेर्न नसकेको पुनले बताए ।

विश्व भूमण्डलीकरण भएकोले अहिले युवाहरू संसारभर पुगेको र त्यहाँको विकासलाई नेपालसँग तुलना गरेर असन्तुष्टि बढेको उनले बताए । उनले ३ सय वर्षअघि पृथ्वीनारायण शाहले आधुनिक नेपाल बनाउँदै गर्दा बेलायत र अमेरिकामा औद्योगीकरणको विकास सुरु भएको बताउँदै अहिले विश्वमा भएको विकास खोज्नु र त्यहीअनुसार विकास गर्नु अहिलेको चुनौती भएको बताए । 

उनले भने– ‘अहिले हामीले गठबन्धन मार्फत, सरकारमार्फत सुरु गर्न खोजेको कुरा नेपालमा गर्न सम्भव छ भनेर आशा जगाउने, नेपाली जनता, युवाले केही गर्न सक्छन्, हामी जहाँ भए पनि नेपाल राष्ट्र निर्माण गर्न सक्छौँ भन्ने सोच ल्याउन खोजेका छौँ । सन् १९६० मा नेपाल र कोरियाको अवस्था उस्तै उस्तै थियो, हामी उनीहरूलाई चामल बेच्थ्यौँ । उनीहरू युरोप अमेरिकाको अनुदानको मकै खान्थे । अहिलेकै युवा पुस्ताले सामसङ, हुण्डाई जस्ता ठुला ठुला बहुराष्ट्रिय कम्पनी बनाएका छन् । एउटा पुस्ताले दुःख भोग्यो र अर्को पुस्ताले देश उठाएको छ ।’

उनले कुनै बेला चीनको पनि आधा जनसङ्ख्या भोकमरीमा रहेको तर अहिले पूर्ण रूपमा चीनले गरिबीको अन्त्य गरेको बताउँदै त्यसतर्फ ध्यान दिनुपर्ने बताए । अहिले राजनीति र सङ्गठनमा आलोचना बिक्ने गरेको बताउँदै सकारात्मक सोच राख्न आवश्यक रहेको बताए ।

 

 
 
सम्बन्धित समाचार