आर्थिक सम्वृद्धिको लागि युवा उद्यमशीलता

  

युवा शक्ति समाज परिवर्तनका संवाहक हुन । युवा शक्ति विना कुनै पनि सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपान्तरण संभव छैन । विभिन्न देश तथा संस्थाहरुले १५ देखि ३५ वर्ष उमेर समूहलाई समेटेर परिभाषित गरेको पाईन्छ । नेपालको सन्दर्भमा  राष्ट्रिय युवा नीति २०७२ ले देश भित्र रहेका १६ देखि ४० वर्ष उमेर समुहका सक्रिय व्यक्तिलाई युवा भनि परिभाषित गरेको छ ।
नेपालको जनसंख्याको बनौटलाई हेर्दा करिब ४० प्रतिशतको हाराहारीमा युवा जनशक्ति रहेको पाइन्छ । युवा अवस्था भनेको आँट, क्षमता, उच्चमनोबलले भरिएको उर्जाशील अवस्था हो । यदि यो उमेर समुहका जनशक्तिलाई देशले उचित सदुपयोग गरी उद्यमशील बनाउन सकेमा देशको आर्थिक पाटो सबल तथा सफल बन्न सक्दछ ।
उद्यमशीलता भनेको नवीनतम व्यावसायको तयारी गर्ने, व्यावसायको स्थापना गर्ने, त्यसको अनुसन्धान गर्ने सञ्चालनको लागि तिव्र इच्छाशक्ति र सृजनशीलताको क्षमताहुनुनै उद्यमशीलता हो । जीविकोपार्जन, स्वरोजगार वा आय आर्जनको लागी गरिने सिर्जनात्मक, आर्थिक क्रियाकलाप, व्यावसाय वा उद्योग जस्ता कार्यहरुमा जोखिम बहन गरी लगानी गर्ने व्यक्ति वा समुहलाई उद्यमी भनिन्छ । उद्यमशीलता महत्पूर्ण उत्पादनको साधन पनि हो । युवा वर्गमा उद्यमशील संस्कृतिको विकासले नागरिक पेशा व्यावसायि प्रति आकर्षित गराई जोखित बहन गर्न र सृजनशील कार्यलाई आर्थिक क्रियाकलापसँग आबद्ध गर्न मद्दत गर्दछ । तसर्थ, स्थानीय स्तर देखिनै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारीको सिर्जना गरि अर्थतन्त्रलाई गतिशीलता दिन उद्यमशीलता विकास महत्वपूर्ण आयाम हो ।
समाजका महत्वपुर्ण आयामहरु मध्ये उद्यमशीलता, युवा र अर्थतन्त्र बिच गहिरो अन्तर सम्बन्ध हुन्छ । जसले आर्थिक, सामाजिक, भौतिक, नैतिक, सस्कृतिक रुपमा गासिँएको हुन्छ । त्यसैले समाजको अर्थिक विकास गर्नको लागि उद्यमशीलता र युवा पूर्व आवश्यक तत्वहरु हुन ।
राष्ट्रिय विकासमा युवावर्गको सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, सामाजिक र आर्थिक अधिकारहरुको पूर्ण उपयोग गर्ने वातावरण तयार गरी युवाको सर्वाङ्गीण विकास सशक्तीकरण र युवा उद्यमशीलताको लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायताका क्षेत्रमा विशेष अवसर प्रदान गर्न नेपालमा नीतिगत तथा संवैधानिक व्यवस्था  गरएिको छ ।
संयुक्त राष्ट्र संघले तय गरेको दिगो विकास लक्ष्य २०३० र युथ भिजन २०२५ ले समेत युवाको विकास र सहभागितामा विशेष जोड दिएको छ । नेपालको कुल जनसंख्याको ४० प्रतिशत युवा रहेको जनसांख्यीक लाभको अवसरलाई पुँजीकृत गरी मुलुकको आर्थिक सम्वृद्धिमा युवाको योगदानलाई सुनिश्चित गर्न सकिन्छ । तसर्थ राष्ट्रको आर्थिक विकासको लागी उद्यमशीलतको महत्पूर्ण भूमिका हुन्छ । यो आर्थिक विकासको मुलआधार पनि हो । मुख्यतय, पाँच प्रकारका गतिविधीहरुलाई उद्यमशीलता भनिन्छ ः

१ उपभोक्ताहरु अहिलेसम्म जनकार नभएका नयाँ बस्तु तथा सेवाहरुलाई बजारमा प्रवेश गराउनु ।
२ उत्पादनको नयाँ तरिका सुरुवात गराउनु वा वस्तु तथा सेवाको व्यापार गर्न नयाँ तरिका अपनाउनु ।
३ वस्तु तथा सेवाको कारोबारका लागी कुनै नयाँ क्षेत्रमा बजार खोल्नु वा बजार अस्तित्वमै नरहेका ठाउँमा बजार निर्माण गर्नु ।
४ कच्चा पदार्थ वा अर्ध प्रशोधित वस्तुको आपूर्ति श्रोत व्यावसायिक ढङ्गले नियन्त्रण गर्नु ।
५ कुनै उद्योगलाई नयाँ ढङ्गले व्यवस्थित गर्नु ।
अर्थतन्त्र विकासको लागि उद्यमीको भूमिका पुँजी निर्माण, रोजगारी सृजना, उत्पादकत्व अभिवृद्धि, निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापन, सन्तुलित तथा न्यायपूर्ण विकास, औद्योगिकिकरणको आधार, गुणस्तरीय जीवनयापन, कुल गाहर््स्थ उत्पादन वृद्धि गर्ने जस्ता कार्यहरुमा रहन्छन् । उद्यम गर्दैमा तुरुन्तै प्रतिफल पाइन्छ भन्ने होइन तर राम्रो तरिका अपनाएर लगानी (सीप, श्रोत, साधन) गर्ने हो भने छोटो समयमानै प्रतिफल पाउन सकिन्छ । उपलब्ध श्रोत साधनको समेत उचित प्रयोगबाट उत्पादनका साथ साथै निर्यात वृद्धि तथा आयातमा कमि ल्याउन सहयोग पुर्याउछ र देशको विश्वव्यापी व्यापारको आयतनमा वृद्धि हुन्छ । यसबाट युवा वर्गमा सीप र दक्षताको विकास हुन्छ साथै नयाँ खोज अनुसन्धान गरेर विज्ञान र प्रविधीसँग जोडेर पनि देशमा थप उद्यमशीलताको विकास गर्न सकिन्छ ।


आजको युवाशक्तिलाई व्यवहारिक ज्ञान सिप र धारणालेयुक्त वनाई उद्यमशीलताको माध्यमबाट आय आर्जन र रोजगारी सँग जोड्न सकेमादेशको आर्थिक समृद्धि यहीँ पुस्तामा सम्भव छ भन्ने भनाइलाई चरितार्थ गर्न सकिन्छ ।
उद्यमशीलता अभिवृद्धिसँगै रोजगारी त बढदछनै साथै देश भित्रै उपलब्ध स्रोत साधनको खोजि तथा समुचित प्रयोग पनि बढ्दै जानेछ ।

नेपालमा उद्यमशीलताको अवस्था र संभावना ः
नेपालमा उद्यमशीलताको हालको अवस्था विश्वको साथसाथै दक्षिण एशियाको तुलनामा पनि अत्यन्तै कमजोर रहेको छ तर जनस्तरबाट राम्रो प्रयास गर्न सकिएको खण्डमा यसले छिटै गति लिन सक्दछ । नेपालमा रहेको कृषि, पर्यटन तथा सेवा क्षेत्रमा मानव पुँजी तथा वित्तीय स्रोतको सहि सदुपयोगबाट उचित प्रतिफल पाउन सकिन्छ । तर यसको लागी सरकारको तर्फबाट अनुसन्धान तथा विकासको योजना तय गर्नुको साथै कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको छ ।
देशको आर्थिक परिदृश्य ः


विगत तीस वर्षको आर्थिक वृद्धिलाई नियाल्ने हो भने कुनै कुनै वर्षहरुमा बाहेक आर्थिक वृद्धिदर ५ प्रतिशत भन्द कम रहेको छ । यसले के देखाउछ भने नेपाली अर्थतन्त्रको आधारभूत तह कमजोर छ ।
नेपाल कृषि प्रदान देश हो भनेर परिभाषित गरेको ७ दशक वितिसक्यो तर कहिल्यै राष्ट्रिय प्राथामिकतामा परेन बरु यसको योगदान वर्षेनी घटदै छ र विगत १ दशक दखि कृषिमा परनिर्भरता बढदै छ ।
नेपाल सरकारले निर्यात प्रवद्र्धनका विभिन्न कार्यक्रमहरु सञ्चलनमा ल्याए पनि अहिले सम्म निर्यातको आयतनलाई १ खर्ब पुर्याउन सकेको छैन बरु आयातको आयतन वर्षेनी चुलिँदै छ । यसले अर्थतन्त्रलाई कमजोर बनाउँदै लगेको छ । देशमा उद्यमशीलता विकास गर्न सके देश भित्रको श्रोत र साधनको समुचित प्रयोगबाट अर्थतन्त्रको आधारभूत तह बलियो बनाउन सक्दछ ।
अर्थशास्त्री डा. मोहम्मद युनुसका अनुसार “प्रत्येक मान्छे जन्मजात उद्यमी हुन्छन् कसैेले आफ्नो क्षमता देखाउने अवसर पाउँछन  त कसैले पाउँदैनन्, कतिपय त आफुभित्रको त्यो क्षमता छ भन्ने बुझ्न पाउँदैनन्” ।
उद्यम भनेको ठूला उद्योग, कलकारखान सञ्चालन गर्नु मात्र होइन की जीविकोपार्जनका लागि गरिने सेवा, व्यापार, व्यावसाय, पेशा पनि उद्यम हुन । उद्यम गर्नको लागि कुशलता, सृजनशीलता, नवप्रर्वन र जोखिम वहन गर्ने क्षमता हुनुपर्दछ ।  उद्यम र व्यापार धेरै फरक कुरा हुन ।
श्रमशक्ति सर्वेक्षण २०७५÷७६ ले वर्पेनी करिब ५ लाख नयाँ श्रमशक्ती बजारमा आउँछन भनेको छ तर त्यसको आधारमा रोजगारी सृजना नहुनुकै कारण दैनिक हजारौको संख्यामा विदेशिन बाध्य छन् । त्यसको लागि पनि उद्यमशीलताको विकास गरि देश भित्रै रोजगारी वृद्धि गर्नु आवश्यक छ ।यो तथ्याँकले नै नेपालमा उद्यमशीलताको दर्दानक अवस्थालाई दर्साउँछ ।
नेपालको अर्थतन्त्र  विप्रेषणमा अन्तरनिर्भर रहेको छ । कुलगाह्र्रस्थ उत्पादनको एक चौथाई हिस्सा विप्रेषणले ओगटेको छ । तर यसको अध्ययनले अधिकांश हिस्सा अनुत्पादन क्षेत्रमा खर्चहुने कारणले देशले प्राप्त गर्ने विप्रेषणले देश भित्र उत्पादन तथा रोजगारीमा खासै योगदान पुर्याउन सकेको छैन ।

नेपाल विकासको क्रममा पछाडी पर्नुको एक प्रमुख कारण उद्यम गर्ने उद्यमीको कमि हो ।बिगतको दुई दशकमा नेपालको द्वन्द, राजनीतिक अस्थिरता तथा मूलतः सरकारको भिजनको आभावका कारण उद्यमशीलताको वातावरण बनेन ।त्यसैले नेपाली युवाहरुको वाध्यत्मक विकल्प बैदेशीक रोजगारी  बन्न पुग्यो र यो आज पनि जारी छ । दैनिक हजारौ युवाहरु वैदेशिक भूमिमा रगत र पसिना बगाउन बाहिरि रहेका छन् । यसको विकल्प देशभित्र उद्यमशीलता हुन सक्थ्यो र सक्छ तर यसमा सरकारको भूमिका आसाध्यै गहन हुन्छ । कच्चा पदार्थको उपलब्धता देखि पूंजीको व्यवस्था मिलाउने, बजारको सुनिश्चितता गराउने देखि औद्योगिक वातावरण बनाउने सम्म सरकारको महत्वपूर्ण भूमिका रहन्छ ।
नेपालमा उद्यमशीलता विकासमा पछाडी पर्नुमा विविध कारणहरु छन् । नागरिकमा उद्यमशील सोचको कमि हुन एक प्रमुख कारण हो । त्यस सँगै पूँजी र प्रविधिको अभाव अर्को प्रमुख कारण हो । व्यवसाय गर्नुपूर्व योजना तर्जुमा गर्ने तथा सोको विश्लेषण गर्ने सीपको अभाव। नयाँ उद्यम गर्न चाहने युवालाई सफल उद्यमशील व्यक्तिहरुसँगको पहुँचमा कमि, उद्यमशीलतालाई प्रवद्र्धन गर्ने खालको र सुहाउँदो शिक्षा नीतिको अभाव, उद्यम गर्न चाहनेलाई आवश्यक तालिम तथा सीपको अभाव, वित्तीय पहुँचमा कमि, बजारको अभाव, छिमेकी मुलुक भारत र चीनको बजारमा प्रतिस्पर्धा गर्न नसक्नु,  कमजोर बजार व्यवस्थापन, आवश्यक आधारभूत पूर्वाधारको कमि, गुणस्तर मापदण्डमा समानता नहुनु , इनोभेटिभ सोच नहुनु लगायका कारणहरु रहेको पाइन्छ । यस बाहेक नेपालका युवामा विभिन्न कारणले जोखिम बहन गर्ने क्षमता  नहुनु र उद्यमशीलता तर्फ भन्दा अरु नोकरीतर्फ आकर्षित हुने मोविज्ञान बढदै गएको पाइन्छ । नेपालमा युवा उद्यमशीलताको अवस्था निकै कमजोर छ फलस्वरुप नेपाल विश्व युवा विकास सुचकाङ्कमा १४५ औं स्थानमा छ ।
नेपालमा उद्यमशीलता विकासमा किन पछाडी ?
Ø    उद्यमशील सोचको कमि ।
Ø    सुहाउँदो शिक्षा नीतिको अभाग, सैद्धान्तिक शिक्षामा जोड ।
Ø    आवश्यक तालिम तथा सीपको अभाव ।
Ø    वित्तीय पहुँचमा कमि
Ø    कमजोर बजार व्यवस्थापन
Ø    गुणस्तर मापदण्डमा समानता नहुनु
Ø    अनुसन्धान तथा विकास वजेटको कमि
Ø    आवश्यक आधारभूत पूर्वाधारको कमि
Ø    विपे्रषणबाट हुने आम्दानीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुनु
Ø    अनउत्पादनमुलक सामाजीक तथा सांस्कृतिक पछौटेपन
Ø    व्यवसाय गर्नुपूर्व योजना तर्जुमा गर्ने तथा सोको विश्लेषण गर्ने सीपको अभाव
Ø    नयाँ उद्यम गर्न चाहने युवालाई सफल उद्यमशील व्यक्तिहरुसँगको पहुँचमा कमि
उद्यमशिलता विकासका लागि लगानी वा पूँजीको स्रोत ः
उद्यमशीलताका लागि पहिलो तथा अपहरीहार्य शर्त भनेको पूँजी हो । आफ्नै पुँजीले मात्र उद्यमशिलता सम्भव हुँदैन । नेपालमा विद्यमान पुँजीका सरल स्रोतहरु निम्न छन ।
Ø     आफै -Self_ 5C

  •     Capital –पूजी (व्यक्तिसँग भएको पूजि)
  •     Collateral- धितो( व्यक्तिसँग सँग भएको धितो)
  •     Capacity – क्षमता(व्यक्तिसँग भएको क्षमता)
  •    Condition– अवस्था (व्यक्तिको अवस्था )
  •     Character– चरित्र (व्यक्तिकोचरित्र)

Ø    युवा तथा साना ब्यवसायी स्वरोजगार कोष
Ø    साना किसान बैंक
Ø    प्रधानमन्त्री रोजगार कार्यक्रम
Ø    लघुवित्त वित्तीय संस्था
Ø    सहकारी संस्था
Ø    गरिवी निवारण कोष
Ø    बैंक तथा वित्तीय संस्था
Ø    गैह्र सरकारी संस्थाहरु
उल्लेखित संस्थाहरुले सरकारको नीतिमा आधारीत भई ऐन, कानुन अन्तर्गत कार्यविधी निर्माण गरि उद्यमशीलताको विकास तथा प्रोत्साहनका लागि पुँजीको उपलब्धता प्रदान गर्नुको साथसाथै सीप तथा तालिम समेत प्रदान गर्दै आएका छन् ।
नेपालमा उद्यमशिलतालाई प्रवद्र्धन गर्न सरकारको नीतिगत व्यवस्था र थप गर्नु पर्ने काम
नागरिकलाई उद्यमशिलता तर्फ आर्कषण गर्न नेपाल सरकारले केहि नीतिगत व्यवस्था गरेको छ ।
१. युथ भिजन—२०२५
२. राष्ट्रिय युवा नीति —२०७२
३. राष्ट्र संघको दिगो विकास लक्ष्य २०३०
४. नेपाल राष्ट्र बैंकको सहुलियत कर्जा निर्देशिका
५. राष्ट्रिय युवा परिषद ऐन, २०७२
६. वार्षिक रुपमा सरकारले प्रस्तुत गर्ने वित्त तथा मौद्रिक नीति
उल्लेखित नीतिगत व्यवस्थाहरु मात्र काफी छैन । यी नीतिहरुमा व्यवस्था गरिएका विषयहरुमा स्पष्टता तथा व्यवहारमा उतार्न कार्ययोजनाहरु तय गर्नुको साथै कार्यान्वयनमा जोड दिनु आवाश्यक छ ।
Ø    सैद्धान्तिक तथा व्यावसायिक शिक्षामा फरक छुट्याई दुवै किसिमको शिक्षा नीति तय गरि शिक्षामा लगानी अभिवृद्धि गर्ने ।
Ø    सी टी ई भी टी बाट प्रदान गरिने व्यावासायिक तालिमको दायरा फराकिलो र व्यापक बनाउने तथा प्रदेश स्तरीय कार्यालयको स्थापना गरि थप कार्यक्रमहरु सञ्चालनमा ल्याउने ।
Ø    हाल विद्यमान रहेको सरकारको वित्तीय नीति, केन्द्रीय बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन आदीलाई वित्तीइ पहुँच वृद्धि गर्न थप प्रभावकारी बनाउँदै जाने।
Ø    सरकारले बजार व्यवस्थापनलाई प्रमुख मुद्दामा राखेर मुल उत्पादकले पनि आफ्नो उतपादनको उचित प्रतिफल पाउने अवस्था सृजना गर्ने ।
Ø    अनुसन्धान तथा विकासको लागी छुट्टै निकायको व्यवस्था गरी वार्षिक कार्यक्रम तय गरी थप प्रभावकारी बनाउँदै जाने ।
Ø    शिक्षा तथा सञ्चारको अधिकतम प्रयोगबाट सामाजिक तथा सांस्कृतिक चेतना विकास गरी युवा वर्गमा उत्पादकत्व वृद्धि गर्न भूमिका खेल्ने ।
Ø    उद्यम व्यवसायका लागि आवश्यक आधारभूत पूर्वाधारको विकास तथा विस्तार गर्नुपर्ने ।
Ø    उद्यम गर्न चाहने युवाहरुलाई सफल उद्यमीसँग प्रत्यक्ष भेटघाट तथा छलफलको लागी अवसर प्रदान गर्नुपर्ने ।
Ø    विप्रेषणबाट देशभित्र भित्रिने पुँजीलाई उत्पादनमूलक क्षेत्रमा लगाउनको लागि विषेश नीति अवलम्बन गर्नुपर्ने ।
अन्त्यमाः
विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९को कारण विश्व अर्थतन्त्रमा बहुआयामिक असर पारेको छ । फलस्वरुपः ज्यान गुमाउनेको संख्यामा वृद्धि भए सँगसँगै रोजगारी गुमाउनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । त्यसैले यस्तो समयमा देश भित्रै उद्यमशील युवाहरुमा उद्यमशीलताको अभिवृद्धि गरि रोजगारीको मुलफुटाउनु पर्दछ । जसले देशको अर्थतन्त्रलाई उचित तवरबाट सिञ्चीत गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ ।


घिमिरे नेपाली काग्रेस तरुण विभाग केन्द्रिय सदस्य
एवं युवा उधमशिलता विकास तथा
प्रशिक्षण समिति संयोजक


तपाइको प्रतिक्रिया दिनुहोस्