स्वास्थ्यबिना जीवनको अस्तित्व छैन

सार्थक जीवनको लागि स्वास्थ्य अनिवार्य विषय हो । स्वास्थ्य नै जीवनको अमूल्य धन हो भनिएको पाइन्छ । स्वास्थ्य जीवनको एउटा अभिन्न अङ्ग हो । स्वास्थ्यबिना जीवनको अस्तित्व नै सम्भव छैन । सार्थक जीवनको सम्भावना नै हुँदैन । त्यसैले जीवनसँग गाँसिएर स्वस्थताको गहिराइलाई आत्मसात गर्नु पनि उतिकै अनिवार्य छ । स्वास्थ्यबिना सम्भावनाको बाटै खुल्दैन । शारीरिक रूपमा अस्वस्थ मानिसहरूको कुनै मूल्य नै छैन भन्ने अर्थ बिल्कुलै होइन् । शारीरिक अस्वस्थ मानिसहरू पनि सबल मानिसजस्तै सक्षम छन भन्ने कुराको थुप्रैथुप्रै उदाहरणहरू छन् । वैज्ञानिक स्टीफन हकिङ यसको ज्वलन्त उदाहरण हुन । जसले न बोलि छ, न शरीरको कुनै अङ्ग चल्छ तर पनि विश्वको अनौठो वैज्ञानिकको रूपमा चर्चित भए । त्यस्तै नेपाली साहित्यकार झमककुमारी घिमिरेकै उदाहरण लिन सकिन्छ । दुई खुट्टाका तीनवटा औँला मात्र चल्ने उनले त्यही तीनवटा औँलाको सहायताले थुप्रै साहित्य लेखेर आफूलाई सबल साबित गरेकी छिन । यी व्यक्तिहरूबाट सफल जीवनको लागि शारीरिक सबल वा निर्बल भन्दा पनि दृढ इच्छाशक्ति र लगनशीलता नै महत्वपूर्ण हो भन्ने कुरा बुझ्न सक्छौँ । तर शारीरिक स्वस्थता त्यति महत्वको विषय होइन भनेर बुझ्नु पनि मूर्खता नै हुन्छ । यी व्यक्तित्वहरूबाट मानसिक स्वस्थताको महत्वलाई नै पुष्टि गरेको छ । सिर्जनाको मुहान मानसिक स्वस्थता हो । मानसिक अस्वस्थता जिउँदो लास सरह नै हुन्छ । स्वास्थ्यको कुरा गर्दा सिधा शारीरिक र मानसिक स्वास्थ्यको बारेमा सोच्छौँ । स्वास्थ्यको क्षेत्र मानसिक र शारीरिकमा मात्र सिमित छैन । विचारमा स्वस्थता, व्यवहारमा स्वस्थता पनि उचिकै महत्वपूर्ण छन् । त्यति मात्र पनि होइन, अरू थुप्रै स्वास्थ्यका विषयहरू पनि छन् । स्वास्थ्यलाई कसरी परिभाषित गने ? कसैले स्वास्थ्य भनेको के हो ? भनेर प्रश्न ग¥यो भने त्यसको सिधा जवाफ हुन्छ । हानी–नोक्सानी नहुनु, क्षय नहुनु, बाधा अवरोध नहुनु, नबिग्रनु, रोगविहिन हुनु आदि । यसलाई यसरी पनि भन्न सकिन्छ, प्राकृतिक रूपमा जेजसरी छ, त्यसको स्वतन्त्रता सुरक्षित हुनु नै स्वस्थता हो । यसो भन्दा स्वतन्त्र प्रकृतिमाथि अतिक्रमण नगर्नु नै प्राकृतिक स्वस्थता हो । त्यस्तै मानव शरीरमा स्वतःस्फुर्त रूपमा संचालित अङ्गहरू र अङ्गहरूसँग सम्बन्धित नाडीहरूमा अवरोध नपु¥याउनु शारीरिक स्वस्थता हो । त्यस्तै मनमा उठ्ने संवेदनाहरूलाई तटस्थ भई साक्षीभावले देख्नु वैचारिक स्वस्थता हो । स्वास्थ्यको क्षेत्र विशाल छ । पारिवारिक स्वस्थता, सामाजिक स्वस्थता, राज्यको स्वस्थता, मानव जगतको स्वस्थता, पृथ्वीकै स्वस्थता । पञ्चतत्व मध्ये कुनै एक तत्वको सुस्तता, अकर्मण्यता नै अस्वस्थता हो । अस्वस्थताको अवस्थालाई हामी रोग भन्छौँ । प्राकृतिक असन्तुलन, प्रकृतिको रोग हो । भ्रष्टाचार राज्यको क्यान्सर हो । म र मेरोमा केन्द्रित स्वार्थ, समाजिक रोग हो । त्यस्तै अविश्वास र घृणा, पारिवारिक रोग हो । मनमा उठ्ने अनियन्त्रित आवेगहरू, मानसिक रोग हुन् । शरीरको स्वचालित अङ्गहरूमा हुने बाधा शारीरिक रोग हो । अस्वस्थ शरीर कसरी सहज हुन्छ ? अस्वस्थ मानसिकता कसरी आनन्दित हुनसक्छ ? अस्वस्थ समाज, अस्वस्थ वातावरण कसरी सुन्दर हुनसक्छ ? हाम्रो समाजमा जताततै रोगैरोगहरू छन्, समस्या नै समस्या छन् । कारण के ? कसरी यस्तो अवस्था रह्यो ? समस्याको जननी मानव प्रवृत्ति नै हो । वैज्ञानिक हकिङ्गले चेतावनी दिएर जानुभयो कि मानव आफ्नै कारणले अन्त हुँदैछन । यति गम्भिर यो भनाइप्रति संवेदनशीलता खोई ? भन्न त हामी आफूलाई उच्चकोटिको प्राणी, विवेकशील, चेतनशील मानव भन्छौँ, हुन पनि हो तर हाम्रो कर्महरू के विवेकशील छन् त ? अस्वस्थताभित्र स्वस्थता खोज्ने हाम्रो प्रवृत्ति कति विवेकशील ? तितो सत्य त यही हो कि मानव कर्म विवेकपूर्ण छैन । अहिलेकोे अवस्थामा भन्ने हो भने त मानवताबिनाको मानव भएका छौँ हामी । समस्या यही नै हो । 
    रोगको जड मानव नै हो किनभने यो संसारलाई मानवले नै आफ्नो अनुकुल उपयोग गर्दै आईरहेको छ । आफ्नो अनुकुल खोज्नु प्राणीको स्वभाव हो, यो अनुचित पनि होइन् तर आफ्नोे अनुकुलताले अरूको अनुकुलता खोस्नु चाहिँ अनुचित हो । मानिस यति धेरै स्वार्थी हुँदै जान थालेका छन् कि आफू बाहेक अरू त देख्नै छोडिसके । आफू अनुकुल भए ठिक, नभए बेठिक । अर्थात आफूलाई फाइदा हुने मात्र राम्रो, अरूको मतलबको विषय नै होइन । आफू भलो त जगतै भलो । यो सोच नै समस्याको जड हो । के यो जगत मानवको मात्र हो ? के जगतका सबै प्राणीको अस्तित्व समाप्त गरेर मानव अस्तित्व मात्र सम्भव छ ? सबैले जानेकै हो, सम्भव छैन तर सबै नै शासक बन्ने होडबाजीको दौडमा आफ्नो आयु छोट्याईरहेका छन् । शासक बन्न शक्ति र धनको सञ्चय गर्न थाल्दैछन् । शक्तिको लागि शक्तिशाली हतियारहरूको निर्माण गर्दैछन् । धनको निम्ति जेपनि गर्न थालिसके । शक्ति र धनको खेलमा संसार अशान्त छ । शक्तिकै होडबाजी चलेको छ । त्यहि होडबाजीको खेलमा केही सेकेण्डमै जगतै समाप्त हुने भयानक आणविक हतियारहरूको निर्माण गर्न थाले । आज हामी कुनै पनि क्षण समाप्त हुने उच्च जोखिममा बाँचिरहेका छौँ । यो संसारको अस्तित्व एकजना मान्छेको हातमा अडेको छ भन्दा अनुपयुक्त नहोला । अर्कोतिर प्रकृतिमाथिको हस्तक्षेपले प्रकृतिको सन्तुलन दिनप्रतिदिन प्रतिकुल बन्दै गएको कुरा वैज्ञानिक अध्ययनले देखाएको छ । कुनै पनि बेला जहाँसुकै पनि प्राकृतिक प्रलयको जोखिम उच्च बनेको छ । हामी यो भयानक परिस्थितिमा बाँचिरहेका छौँ । रुखको टुप्पोमा बसेर आफैले फेदी काट्दै गरेको कालिदास जस्तै । 
    राज्यको रोग, भ्रष्ट मनोवृत्ति हो । एउटा भ्रष्टले अरूलाई पनि भ्रष्ट नै बनाउन खोज्छन किनकी एक्लै हुँदा बल पुग्दैन् । अरू पनि साथ पाउँदा सुरक्षित महसुस गर्छन् । केटाकेटीमा हामीले भोगेका छौँ कि दुईजना साथीहरू सँगसँगै हिँडिरहेको बेला एकजनालाई हिलो लाग्यो भने हिलो लाग्नेलाई रुन मन लाग्छ तर सँगै हिँडेको साथीलाई पनि हिलो लाग्यो भने रुन खोजेको मानिस हाँस्न थाल्छ । नेपालमा अहिले भ्रष्टहरूबिच भ्रष्टाचारीमा होडबाची चलेको छ । सरकारी कार्यालयमा जाँदा सरकारी दस्तुर बाहेक चिया खर्च भनेर सामान्य रूपमै जसले पनि धेर माग्ने चलन भैसक्यो । मानौँ, कानुनले दिएको धेरार हो, समाजमा चलेको चलन हो । मानिस किन भ्रष्ट हुन्छन् ? पहिलो कारण हो अविश्वास । कस्तो अविश्वास त ? आफैलाई आफ्नै अविश्वास । आफ्नोे कर्मप्रति अविश्वास । आफ्नो परिवार, प्रियजनप्रति अविश्वास । साथीभाई, छरछिमेकी, समाज, राज्यप्रतिको अविश्वास । अन्ततः आफ्नोे भविष्यप्रति अविश्वास । जहाँ अविश्वासले डेरा जमाउन थाल्छ, त्यहाँ प्रेम घृणामा परिणत हुन थाल्छ । अनि असमझदारी प्रारम्भ हुनथाल्छ, द्वन्द्व शुरु हुन्छ । जब मानिसमा आफूले गरेको कर्मले सोचे अनुरूपको सहज जीवन पाउने विश्वासको आधार देखिँदैन । न परेको बेला लोग्ने, स्वास्नी, आमा, बुबा, छोराछोरी, दाजुभार्ई, आफन्त, छरछिमेकी, साथीभार्ईको साथ पाउने कुरामा विश्वस्त हुनसक्छ, न आफैबाट सुरक्षित छु भनि विश्वास गर्छ, त्यतिबेला मानिसमा डर उत्पन्न हुन्छ । त्यस डरबाट मुक्ति पाउन मानिसहरू धनको पछि लाग्छन् र धेरैभन्दा धेरै, छिटोभन्दा छिटो धन आर्जन गर्न व्यग्र हुन थाल्छन् र यो अतृप्त तृष्णामा परिणत हुन्छ । मान्छे धनका लागि अन्धा हुन्छन । भ्रष्टताको दोश्रो कारण हो, डर । डरले मानिसमा बेचैनी बढ्छ, छट्पटी बढ्छ । अनेक किसिमका चिन्ताले सताउँछ । मन सधैं अस्थिर हुन्छ । मानिस चिन्ताबाट मुक्ति पाउन अनेक प्रयासमा लागेपनि अन्ततः ऊ भ्रमको जालमा फस्छ । जब मानिस सम्पूर्ण चिन्ताको निवारण केवल धनमा देख्छ, तब त्यही भ्रमको कारण मानिस धनको पछि लाग्छन । धन कमाइन्छ पनि, धनमाथि धनको अभिलाषा, सुविधामाथि सुविधाको अभिलाषा आखिरमा अन्तहिन यात्रामा पुग्छन । मानिस लालचको दलदलमा फस्छन र त्यहीँ जीवनको अन्त हुन्छ । त्यसैले मानिस भ्रष्ट हुनुको एउटा कारण भ्रम पनि हो । भ्रमित मानिसले कसरी राज्य संचालनमा सहि दिशा दिन सम्भव हुनसक्छ ? भ्रष्ट मनोवृत्तिले धाक तथा छलछामको सहारा लिन्छ । सबै कामहरू पैसासँग जोडिन थाल्छ । यसबाट सबै बेथितिहरू प्रारम्भ हुन थाल्छन अनि यहीँ नै न्यायको अवसान हुन्छ । जब न्याय हात्तीको देखाउने दाँत मात्र बन्नपुग्छ, संविधान, ऐन कानुन कागजमा मात्र सिमित हुनथाल्छ् तब राज्यआतंक प्रारम्भ हुन्छ । राज्यबाटै जनता आतंकित हुन थाल्छन् । एक किसिमले देशमा रावणराज प्रारम्भ हुन्छ । नेताहरू कुर्सीको लागि अथवा शक्तिको निम्ति तुच्छ बन्छन् र सभ्यता, शिष्टता त्याग्छन । निर्लज्ज नाङ्गो नाँच नाच्न थाल्छन । लँुछाचुडी, घम्साघम्सी, कुटाकुट मात्रै हुँदैन, नेताहरू नै खसीबोका जस्तै किन्ने, बेच्ने कार्यमा समेत लाग्न थाल्छन । यसका लागि हत्या समेत हुन थाल्छ । यता समाजमा लुटपाट, डकैती, हत्याहिंसा, बलात्कार दैनिकी बन्छ । गरीब, निमुखा, कमजोरहरू जुत्तामुनि निरीह बन्न थाल्छन् । न सामाजिक सद्भाव बाँकी रहन्छ न मानवता नै बाँकी रहन्छ । सिंगो देश अशान्तिको भुमरीमा फस्छ । देशको गति ब्रेकबिनाको साइकल जस्तै बन्छ र जनता कुनै पनि बेला ठुलो दुर्घटनाको त्रासमा बाँच्न बाध्य हुन्छ । त्यसबेला एउटा स्वाभिमानी नागरिकको अवस्था के होला ? उसको जीवनशैली, मानसिकता कस्तो होला ? क्रमशः
 


तपाइको प्रतिक्रिया दिनुहोस्