‘हिन्दु राष्ट्र’ को मुद्दा कस्ले बोक्ला ? 

काठमाडौं । अब कसैले रोकेर पनि धर्मको मुद्दा रोक्न नसकिने अवस्था बनेको छ । देशभित्र र बाह्य शक्तिको प्रभावले यो मुद्दा बलियो बन्दै गरेको छ । दलहरुभित्र धर्मको मुद्दाले जरा हाल्दै गएको छ । विशेषगरी संविधानबाट धर्मनीरपेक्षता हटाउन योजनावद्ध तरिकाले ठूलो शक्ति लागेको छ । त्यसले मुख्य दलभित्र निकै ठूलो तरंग ल्याइदिएको छ । अब यो मुद्दा कुन प्रभावशाली नेताहरुले बोक्ने हो ? चासोको विषय बनेको छ । 
धर्मको मुद्दा नै मुख्य हुने गरी राजनीतिक घटनाक्रम विकास हुँदै गएको छ । अबको राजनीतिक ध्रुवीकरण पनि यही मुद्दाको आधारमा हुने संकेतहरु देखिएका छन् । २०७२ सालमा जारी संविधानमा हिन्दु राष्ट्र हटाएर धर्मनीरपेक्ष उल्लेख गरेपछि एकथरी राजनीतिक शक्ति निकै असन्तुष्ट थिए । यो बाह्य शक्तिको दबाबमा थोपरिएको भन्दै हिन्दु राष्ट्रका पक्षधरले सार्वजनिक रुपमा बोल्दै आएका थिए । 
हिन्दु राष्ट्रको मुद्दा उठाएर कमल थापा नेतृत्वको राप्रपाले दोस्रो संविधानसभामा समानुपातिकतर्फ २५ सिट जितेको थियो । तर, थापा नेतृत्वको तत्कालीन राप्रपा नेपालले संविधानसभाबाट संविधान जारी गर्दा फरक मतसहित समर्थन गरे । यसले उनको हिन्दुराष्ट्रको मुद्दा उठानमाथि नै प्रश्न उठ्यो । यद्यपि थापाले राजसंस्थासहितको हिन्दुराष्ट्रको मुद्दा उठाउँदै आएका छन् । संविधान जारी भएपछि नेपाली काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा जोडतोडले उठ्यो । काँग्रेसभित्र खुमबहादुर खड्काले यसको नेतृत्व नै लिए । तर, भ्रष्टाचारको मुद्दामा जेल बसेर फर्किएका खड्काले मुद्दा उठाउँदा खासै प्रभावकारी हुन सकेन । उनको निधनपछि यो मुद्दालाई केन्द्रीय सदस्य शंकर भण्डारीले खुलेरै उठाउँदै आएका छन् । 
महामन्त्री डा.सशांक कोइरालाले धर्मको विषयमा विचार गर्नुपर्ने धारणा व्यक्त गर्दै आएका छन् । यसबारे जनमतसंग्रहको विषय पनि उठाए । तर, उनी हिन्दुराष्ट्रको पक्षमा खुलेका भने छैनन् । कोइराला परिवारकै डा. शेखर कोइरालाले पनि हिन्दुराष्ट्रको मुद्दाप्रति लचिलो धारणा व्यक्त गरेका थिए । पछिल्लो समय उनले धर्मबारे खासै बोल्न छाडेका छन् । काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दा खुलेरै उठाउने प्रभावशाली नेतामा शंकर भण्डारी मात्र छन् । तर, पछिल्लो समय सभापति शेरबहादुर देउवाले हिन्दुत्वको मुद्दाप्रति लचिलो भएको संकेतहरु दिन थालेका छन् । उनकी पत्नी डा. आरजु देउवाले सामाजिक सञ्जालमा यज्ञ र पूजाहरुका तस्बिर र भिडियो राख्न थालेकी छिन् । देउवासहितको यस्तो तस्बिर राखेर उनले हिन्दुत्वको मुद्दामा लचिलो बनेको सन्देश दिइरहेकी छिन् । 
राप्रपा हुँदै नेपाली काँग्रेसमा प्रवेश गरेको हिन्दु राष्ट्रको मुद्दा अहिले कम्युनिस्ट पार्टीमा पनि फैलिइरहेको छ । यसको संकेत सत्तारुढ नेकपा एमालेमा धर्मनीरपेक्षतामाथि बहस हुनुपर्ने भन्दै महेश बस्नेतले राखेको माग प्रस्तावबाट देखिन्छ । एमालेभित्र हिन्दुत्वको मुद्दाले स्थान बनाउँदै लगेको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिन्दुत्वलाई अँगिकार गर्दै गएको सन्देश दिइरहेका छन् । अयोध्यामा राम मन्दिर निर्माण देखि पशुपतिनाथमा जलहरी चढाउने सम्मको कदम आफैमा सन्देश हो । त्यसमाथि ओलीले आध्यात्मिक प्रवचन नै भाषणमार्फत् दिने गरेका छन् । ओली एकातर्फ ऋषिमुनी नेपालमा जन्मिएको र राम पनि नेपालमै जन्मिएको भन्छन् अर्कोतर्फ हिन्दुत्वलाई जोडतोडका साथ उठाइरहेका छन् । यसलाई हिन्दु राष्ट्रवादलाई ओलीले एजेन्डा बनाउन लागेको आँकलन पनि गरिरहेका छन् । 
जनता समाजवादी पार्टीभित्र पनि हिन्दुराष्ट्रको मुद्दाले बलियो ठाउँ बनाइसकेको छ । जसपाको महन्थ ठाकुर पक्षधरका नेताहरु गेरुवस्त्रमा देखिन थालेका छन् । महन्थ ठाकुर सार्वजनिक कार्यक्रममा गेरुवस्त्रमा देखिन्छन् । अनिल झा, राजकिशोर यादवलगायत नेताहरु पनि त्यस्तै सिका गर्न थालेका छन् । चन्दा चौधरीको शक्तिपीठको दर्शनको तस्बिर सामाजिक सञ्जालमा आइरहन्छ । जसपाको उपेन्द्र यादव र डा.बाबुराम भट्टराई पक्षधर भने धर्मनीरपेक्षकै पक्षमा छ । उपेन्द्र यादवले धर्मबारे खुलेर बोलेका छैनन् । भट्टराईले भने धर्मनीरपेक्षता जोगाउनुपर्नेमा जोड दिदै आएका छन् । 
राजनीतिक दलभित्र फैलिइरहेको धर्मको मुद्दाले अबको चुनावमा ठूलो असर पार्ने देखिन्छ । हिन्दु राष्ट्र कि धर्मनीरपेक्ष भन्नेमा दलहरुभित्रै ध्रुवीकरण हुन थालेको छ । यसमा बाह्य शक्तिको पनि ठूलो चासो देखिदैछ । यतिबेला भारतमा भारतीय जनता पार्टी सत्तारुढ छ । हिन्दुत्वलाई भाजपाले अंगिकार गरेको छ । नेपालमा पनि हिन्दुत्वको एजेन्डाले महत्व पाओस् भन्ने उसको चाहना प्रकट हुँदै गएको छ । अर्कोतर्फ, नेपालमा धर्मनीरपेक्षता संविधानमा राख्न पश्चिमाहरुले भूमिका खेलेको विषय उठ्दै आएको छ । यसलाई जोगाउन उनीहरुको भूमिका हुनसक्छ । धर्मको मुद्दाले बाह्य शक्तिको भूमिका नेपालमा अझ बढ्न सक्ने देखिन्छ । त्यसै पनि आर्थिक र सुरक्षाको विषयमा भारत, चीन, अमेरिका र युरोपेली मुलुकहरुको चासो रहेकै छ । अब धर्मको मुद्दा जोडिएकाले नेपालमा बाह्य शक्तिको सक्रियता बढ्न थालेको छ । 
काँग्रेसभित्र को को हिन्दुराष्ट्रको पक्षधर
मुलुकको राजनीतिमा धर्मको मुद्दाले स्थान बनाउँदै लगेको छ । सत्तारुढ कम्युनिस्ट पार्टी नेकपा एमालेभित्र पनि धर्मबारे बहसको मागसहितको प्रस्ताव पुगेको छ । यसले अबको राजनीतिमा धर्मको मुद्दा नै मुख्य हुनसक्ने संकेतहरु देखिएको छ । सत्तारुढ नेपाली काँग्रेसभित्र धर्मको मुद्दा बलियो बन्दै गएको छ । विगतमा खुमबहादुर खड्काले उठान गरेको हिन्दुराष्ट्रको मुद्दालाई उनीपछि शंकर भण्डारीले खुलेरै उठाइरहेका छन् । तर, प्रमुख नेताहरु अझै खुल्न सकेका छैनन् । 
महामन्त्री डा. सशांक कोइरालाले गणतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा जनमतसंग्रह हुनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए । उनले हिन्दुराष्ट्रप्रति लचकता पनि देखाएका थिए । तर, पछिल्लो समय उनी धर्मको मुद्दामा गम्भीर छैनन् । काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि धर्मको मुद्दा उठाएका थिए । उनले पनि हिन्दुराष्ट्रबारे पर्नुविचारको विषय उठाएका थिए । तर, कोइराला पनि पछिल्लो समय यसबारे बोल्न छाडेका छन् । 
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धर्मको विषयमा सन्देशहरु दिन थालेका छन् । देउवा पत्नी आरजु देउवाले यसै महिना धर्मकर्मका तस्बिर र भिडियो फेसबुकमा राखेकी छिन् । उनले देउवासहित हिन्दु धर्मसंस्कार अनुसारको पूजाको तस्बिर र भिडियो फेसबुकमा राख्नुलाई हिन्दुत्वप्रतिको आस्थाको सन्देशका रुपमा बुझिएको छ । देउवा हिन्दुराष्ट्रको मुद्दामा भने मौन छन् । उनले धर्मबारे केही बोलेका छैनन् । यसलाई अर्थपूर्ण मानिएको छ । काँग्रेसभित्र धर्मको मुद्दाले जोडदार प्रवेश पाइरहँदा देउवा दबाबमा पर्दै गएका छन् । उनलाई कुनैपनि समय यो मुद्दालाई सम्बोधन गर्ने एजेन्डा तयारीको दबाब पर्न सक्छ । 
काँग्रेसभित्र सहमहामन्त्री सुनिलबहादुर थापा हिन्दुराष्ट्रका पक्षधर हुन् । उनी राप्रपामा रहँदा पनि यसकै पक्षमा थिए । काँग्रेसमा प्रवेश गरेपनि सुनिलबहादुर थापाले हिन्दुराष्ट्रको पक्ष छाडेका छैनन् । उनी यसमा अडिग छन् । थापा ठूलो शक्तिसहित काँग्रेस प्रवेश गरेकाले उनले उठाउने धर्मको एजेन्डाले दबाब बढाउन सक्छ । काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र महेश आचार्य पनि हिन्दुत्वको मुद्दामा लचिलो छन् । आचार्य हिन्दुराष्ट्रको मुद्दामा नरम रहेको बुझिएको छ । 
कोइराला परिवारका सदस्यमध्ये डा. सशांक कोइराला र डा. शेखर कोइरालाले हिन्दुराष्ट्रको मुद्दालाई उठाउने संकेतहरु गरेपनि खुलेर उठाएनन् । शेखर कोइराला पर्ख र हेरको अवस्थामा छन् । सुजाता कोइराला धर्मबारे मौन बसेकी छिन् । उनी हिन्दुराष्ट्रको पक्षमा नदेखिएपनि पछिल्लो समय लचिलो बन्दै गएको बुझिएको छ । काँग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंह गत शनिबार दक्षिणकाली मन्दिर पुगेर तस्बिर नै शेयर गरे । यो आफैमा धर्मबारे उनले दिएको सन्देश हो । सिंहले धर्मबारे पछिल्लो समय मौनता साँधेका छन् । 
काँग्रेस केन्द्रीय सदस्य गगन थापा पनि धर्मबारे मौन देखिन थालेका छन् । अर्का नेता प्रदीप पौडेल पनि मौन नै देखिएका छन् । हिन्दु धर्मको मुद्दाले काँग्रेसको आगामी महाधिवेशनमा ठूलो असर पार्ने देखिएको छ । यसप्रति नेताहरु सचेत हुन थालेका छन् । केही महिनाअघि काँग्रेस उपसभापति विमलेन्द्र निधिले पार्टी कार्यक्रममा धर्मनीरपेक्ष भन्दा भक्तपुरको कार्यक्रममा स्थिति नै तनावग्रस्त भएको थियो । त्यसपछि निधिले धर्मबारे बोल्न छाडेको बुझिएको छ । 
धर्मनीरपेक्षताको पक्षधर भइसकेको काँग्रेसभित्र हिन्दुराष्ट्रको मुद्दाले स्थान बलियो बनाउँदै लगेको छ । तर, यो मुद्दालाई काँग्रेसले आधिकारिक रुपमा उठाउने सम्भावना भने कमजोर छ । काँग्रेसको नेतृत्व तहमा पुग्न सक्ने कुनैपनि नेता खुलेरै यो एजेन्डा उठाउन तयार भएका छैनन् । तर, काँग्रेसका नेताहरुमाथि कार्यकर्ता तहबाट एक किसिमको दबाब भने छ । 
 


तपाइको प्रतिक्रिया दिनुहोस्