तपाईंलाई रगत चाहियो ? प्रेमसागरलाई सम्झनुस् 


खोजतलास संवाददाता 
१६२ औं पटक रक्तदान गरिसकेका प्रेमसागर कर्माचार्यले आफ्ना छोरा–छोरीलाई पनि रक्तदान गर्नेहरूको लश्करमा उभ्याइसकेका छन् । प्रेमसागरका दुई छोरी र एक छोरा छन् । उनले छोरोको १८ औं जन्मदिन रगत दान गरेर नै मनाए । १८ औं जन्मदिन रक्तदान गरेर मनाउने तय गरिसकेका ५ सय जति साथीहरूको सूची छोराले देखाउँदा उनी आफ्नो अभियानले सार्थकता पाएको ठान्छन् । युवा अवस्थामा प्रवेश गर्नेलाई १८ औं वर्षको जन्मदिन रक्तदान गरेरै मनाउन लगाउने अभियायानमै छन् उनी । प्रेमसागर आफूले भेटेका जतिलाई निरन्तर रक्तदान गर्न प्रोत्साहन गर्छन् । उनको अभियानलाई छोरा–छोरीले पनि साथ दिन थालिसकेका छन् । १८ वर्षको युवाले रक्तदानलाई अंगाल्ने हो भने देश नै स्वस्थ्य रहन्छ उनी भन्छन् । 
१६ वर्षे उमेरबाटै रक्तदानको सुरुवात गरेका उनी ५६ वर्षमा पुग्दा एक सय ६२ औं पटक रक्तदान गरिसकेका छन् । भन्छन्, ‘शरीरमा रोग नलागे ७० वर्षसम्म या त्योभन्दा पछिसम्म । रक्तदान गरिरहन्छु ।’
प्रत्येक तीन–तीन महिनाको अन्तरालमा रक्तदान गर्ने बानी नै लागेको छ उनलाई । रगत दिएपछि सेवाभावले उनको मन प्रसन्न हुन्छ। शारीरिक रूपमा पनि उनी आफूलाई हल्का र ताजा भएको महसुस गर्छन् । 
‘१८ वर्ष उमेर पुगेको ४५ केजी तौल भएका तथा कुनै औषधि सेवन नगरेका व्यक्ति रक्तदानका लागि योग्य हुन्छन्’, उनले भने । प्रेमसागर नेपालमासबैभन्दा धेरैपटक रक्तदान गर्ने व्यक्ति हुन् । उनको रगतले कति बिरामीको ज्यान जोगियो गणना छैन । रगत नपाएर जीवन जोखिममा परेकाहरूका लागि उनी रगत दाता खोज्न दिनरात नभनी लागिपर्छन् । बिरामीलाई रगत उपलब्ध गराउन उनी र उनीजस्तै रक्तदाता मिलेर ‘नेपाल स्वयंसेवी रक्तदाता समाज’ खोलेका छन् । रक्तदाताका रगतको सदुपयोग गर्न रक्तदाताहरू नै मिलेर २०६२ माघमा संस्था स्थापना भएको हो । उनी संस्थाका अध्यक्ष हुन् । ‘स्वयंसेवी रक्तदाता समाज’ का लागि आवश्यक रगत र रक्तदाता जम्मा गर्न उनी देशका विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम लिएर पुगेका छन् । समाजका अहिले ९ हजार सदस्य छन् । ४२ जिल्लामा फैलिएको समाजले रक्तदान शिविरहरू सञ्चालन गर्दैआएको छ । 
समाजको स्थापना नै नेगेटिभबाट भएको बताउँछन् प्रेमसागर । उनी भन्छन्, ‘संस्थाको स्थापना नै ‘छैन’ भन्ने शब्दबाट भएको हो । ‘हामी रक्तदाता मानिसको ज्यान बचाउनु आफ्नो अहोभाग्य सम्झन्छौं । दिनरात नभनी रक्तदान गर्छौं तर बिरामी रगत लिन ब्लड बैंक जाँदा सधैं ‘रगत छैन÷रगत छैन’ भनेको मात्र सुन्न पर्छ’, उनी दुःखी हुँदै भन्छन्, ‘एकातिर निरन्तर रक्तदान भएको छ अर्कातिर रगतको अभाव यथावत् छ ।’
खोजतलाससँग कुराकानी गरिरहेका बेला पनि उनलाई सुमेरु अस्पतालमा भर्ना भएकी एकजना बिरामीका आफन्तले फोन गरी रगतको बारेमा सोधिरहेका थिए । ति बिरामीका आफन्तले आफूसँग २ पोका रगत रहेको जानकारी गराएका थिए । दोस्रो पोका चढाएपछि मलाई फोन गर्नुहोला म जहाँबाट भएपनि रगत अपलब्ध गराउँछु’, प्रेमसागर अथाह प्रेमका भण्डार हुन् भन्ने कुरा उनको यो भनाइबाटै प्रष्टै झल्किन्थ्यो । आफ्नो रगतले बिरामीको ज्यान जोगाउन लागिपरेका प्रेमसागर साँच्चै नै प्रेमका सागर हुन् । 
पहिलो पटक रगत दिँदाको क्षण सम्झनलायक भएको बताउँछन् उनी । पहिलो पटक ‘रगत दिनुपर्छ’ भनेर दिएका थिएनन्उनले । ‘अहिले ट्रमा सेन्टर भएकै ठाउँमा २०३६ सालमा ‘लक्ष्मी ब्लड बैंक’ थियो । त्यही बाटो भएर आउँदा जाँदा भरियादाइहरूसँग रगतका लागि सौदाबाजी गरेको सुन्थेँ’, उनले भने, ‘एक दिन भित्र कस्तो रहेछ भनेर हेर्न पसेको थिएँ। उनीहरूले रगत दिनुपर्छ भनिहाले ।’
पहिला रगत दिने मानिस अहिलेजति पाइँदैनथ्यो । जो भेटिन्छ उसैको रगत लिइहाल्ने उनले बताए । रगत दिन १८ वर्ष हुनुपर्ने मापदण्ड छ । मानिस नै नपाइने भएर १६ वर्षमा उमेरको मापदण्डलाई पूरा नगरी उनको रगत लिइएको थियो ।
तत्कालीन ‘लक्ष्मी ब्लड बैंक’का प्रमुख वासुदेव शर्माले रगत दिन उक्साएर मात्र रगत दिएका थिए प्रेमसागरले । ‘मैले रुचि नलागीकन पहिलो पटक रगत दिएँ । पछि फेरि आउजाउ गर्दा यो त सेवाको काम जस्तो लाग्यो। त्यसपछि लगातार तीनतीन महिनामा दिन लागेँ’, उनले भने,‘मैले दश पटक रगत दिइसक्दा पनि घर परिवारलाई जानकारी थिएन । बुबाले कताबाट थाहा पाउनु भएछ, त्यसपछि उहाँले हाम्रौ टोलमा रक्तदान शिविर नै सञ्चालन गर्नुभयो ।’
बाबुबाट प्रेरित
आफ्नो बाबुको कामबाट प्रेरित भएर सेवाकर्ममा लागेको प्रेमसागर बताउँछन् । बाबु प्रेमपूर्ण कर्माचार्य सामाजिक अभियन्ता थिए । कृषि विभागअन्तर्गत ‘फार्म सिचाइँ तथा जल उपयोग शाखा’का जागिरे थिए उनी । सामान्य चोटपटक लागेर आएका मानिसहरूको प्राथमिक उपचार घरमै गर्थे उनी। बुवाको यो सेवाभाव नै उनको जीवनको उत्प्रेरणा बन्यो । 
प्रेमसागरको जन्म २०२० सालमा मजिमपाटमा भएको हो । २०२८ सालमा उनको परिवार बागबजार बसाइँ स¥यो । त्यति बेला उनको घरबाट टुँडिखेलतिर हेर्दा पूरै जंगल देखिन्थ्यो । वरिपरी खेत थिए । खेतमा काम गर्ने किसानलाई चोटपटक लाग्दाउनको घरमा उपचार गर्न आउँथ्ये । उनका बुवा प्रेमपूर्णले उनीहरूको सामान्य उपचार गरिदिन्थे।किसानहरू स्वस्थ भएर काममा फर्कंन्थे । बुवाको यसरी बिनासर्त सेवा गर्ने तरिका प्रेमसागरको मनमा गढेर बस्यो। त्यही प्रेरणाले जीवनपर्यन्त उनले आवश्यक व्यक्तिलाई रगत दिएर वा उपलब्ध गराएर बिताउने निर्णय गरे र यसैमा लागे ।
रक्तदानले निरोगी
५६ वर्षको उमेरसम्म लगातार तीन–तीन महिनाको अन्तरालमा रक्तदान गरिरहँदा पनि उनलाई कमजोरी अनुभव भएन । भन्छन्, ‘मलाई अहिलेसम्म कुनै ठूलो रोगले समातेको छैन । यसको एकमात्र कारण रक्तदान नै जस्तो लाग्छ ।’
एउटा स्वस्थ्य पुरुषको शरीरमा प्रतिकेजी ७६ एमएल र महिलामा ६६ एमएल रगत हुन्छ । मानिसको शरीरलाई प्रतिकेजी ५० एमएल रगत भएपुग्छ । बढी हुने रगत त यसै खेर जाने हो । रक्तदान गर्दा पनि हाम्रो शरीरलाई चाहिने भन्दा बढी नै रगत बाँकी रहन्छ । त्यसैले स्वस्थ्य मानिस सबैले रगत दान गर्नु पर्छ उनले भने । ‘सरकारले यो कुरा बुझेको छैन, हामीले त्यही कुरा बुझाउन प्रयास गरिरहेका छौं’, उनले भने । 
‘बिरामीलाई रगत दिएर बचाउन सकेको समय सबैभन्दा बढी आनन्दमय लाग्छ । हामीले दिएको रगत नसामा बगेर कोही यो संसारमा जीवित छ भन्ने कुरा नै मेरो खुसीको उच्च बिन्दु हो’, हामीसँगको कुराकानीमा उनले गर्वका साथ भने ।
खुसीको एउटा घटना सुनाउँदै उनले थपे, ‘मेरो लगभग रगत दिने समय भएको थियो । ब्लड बैंकबाट ‘ल प्रेमजी, ब्लड चाहियो। तुरुन्त आइदिनु प¥यो’ भनेर फोन आयो । 
त्यहाँ पुगेपछि सधैंजसो रगत लिने काम भयो । रगत दिएर निस्किन लागेको थिएँ । ‘ल प्रेमसागरजी एकछिन पख्नुस्, म तपाईंको रगतले कति काम भयो देखाउँछु भने’, उनले खुसी हुँदै बताउँदै गए, ‘एकछिनमा नाकबाट रगत बगेको एकजना महिलालाई त्यहाँ सुताइरहेको रहेछ । उनको नाकबाट बगिरहेको रगत शरीरमा मेरो रगत चढाएपछि थामियो । उनको जीवन आफ्नो रगतले बाँचेको देख्दा मन निकै प्रसन्न भयो ।’
रगतको व्यापारविरुद्ध
उनी सरकार र अस्पतालसँग आजित छन् । बिरामीलाई आवश्यक सहयोग नगरी रगत ल्याउन आदेश दिने र जिम्मेवारीबाट पन्छिने स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको व्यवहार अमानवीय लाग्छ उनलाई ।
ठूल्ठूला अस्पतालले नै दाताले ‘फ्री’मा दिएको रगतको उच्च मूल्य लिएर गरेको व्यापारलाई कटाक्ष गर्दै उनले एउटा नारा नै बनाएका छन्, ‘स्वयंसेवी रक्तदाता दुहुनो गाई÷रक्त व्यवस्थापन मंसिरको दाइँ’ ।
उनीहरूको संस्थाले रेडक्रसलाई निःशुल्कको छाप लगाएर दिएको रगतलाई पनि उचित प्रयोगमा ल्याउन नसकेको उनको आरोप छ । प्रेमसागर रगतमा नाफाको उद्देश्य राखेर ब्यापार भएकोमा नमिठो मान्छन् । हामीले निःशुल्क दिएको रगत रेडक्रसले ४४७ रुपैयाँमा बिरामीलाई बेचेकोमा उनलाई नरमाइलो लागेको छ । रगतका सबै प्रक्रिया पूरा गर्दा २७५ देखि ३०० रुपैयाँ जतिमा हुन्छ, रेडक्रसले ४७५ मा बेचेको छ । अझ निजी अस्पतालले एक पोका रगतको १७ सय रुपैयाँसम्म लिएको भन्दै बिरामीका आफन्तले गरेको दुखेसोले उनको मन कुडाँएको छ । भन्छन्, निजी अस्पतालको यो कार्यले स्वयं सेवी रक्तदाताको अपमान गरेको छ ।’ 
समाजले नै ब्लड बैंक स्थापना गर्न सक्दैन ? खोजतलासको प्रश्नको उत्तरमा उनी भन्छन, ‘हामी स्वयंसेवीलाई यो काम गर्न गाह्रो हुन्छ । दाताहरूले हामी बनाइदिन्छौं त भन्नु भएको छ, तर यसको व्यवस्थापनको पाटो जटिल छ । हामीले पनि निजी क्षेत्रलाई जिम्मा दिनुपर्छ । निजी क्षेत्रले नाफा नकमाई यो कार्य गरिदिँदैन । अहिले रेडक्रसले नै गरिरहेको छ । त्यसैलाई व्यवस्थित गर्नु पर्छ भन्ने मान्यता हो ।’
हामीले निःशुल्क दिएको रगत बिरामीलाई निःशुल्क दिने अवस्था नबन्दासम्म आवाज उठाइरहने बताउँछन् उनी ।
अर्थशास्त्रमा बीए गरेका उनले जागिर खाने र पैसा कमाउने उद्देश्य कहिल्लै राखेनन् । उनले आफ्नो सफलतालाई पैसासँग दाँजेनन् । पैसाको पर्वाह नगरी मानव सेवाका लागि जीवन अर्पण गर्ने उनको दृढ संकल्पलाई हाम्रो पनि सलाम । 
 


तपाइको प्रतिक्रिया दिनुहोस्