मानिसले प्राकृतिक जीवनसँग बाँधिनुपर्छ 

मानिसले प्राकृतिक जीवनसँग बाँधिनुपर्छ । प्रकृतिसँगको नियमित सम्पर्कबिना मानिसको अस्तित्व सम्भव छैन । प्रकृतिसँगको सम्बन्धविच्छेद हुनु भनेकै मृत्यु हो । मृत्यु पनि प्राकृतिक नै हो । मानिस सामाजिक प्राणी हो । ऊ समाजसँग पनि निरन्तर सम्पर्कमा रहन्छ । त्यसैले मानिस न कहिले समाजसँग अलग हुन सक्छ न प्रकृतिसँग अलग रहन सक्छ । मानिसको कर्तव्य कर्म गर्नु हो । मानिसले आफ्नो आवश्यकता श्रमबाटै पूरा गर्छ । मानिसको श्रम प्रकृतिसँग जोडिएको हुन्छ, समाजसँग जोडिएको हुन्छ । अतः जीवनको प्रारम्भदेखि अन्तसम्म मानिसले समाज र प्रकृतिसँग गर्ने सन्तुलित व्यवहार नै बाह्य अनुशासन हो भन्दा अनुपयुक्त नहोला । बाह्य अनुशासनभित्र प्राकृतिक अनुशासन, सामाजिक अनुशासन, पारिवारिक अनुशासन र अतिरिक्त अनुशासन पनि समाहित भएको हुन्छ ।
प्राकृतिक अनुशासन 
प्रकृतिको स्वचालित प्रक्रियाको सन्तुलन कायम राख्न मानिसले गर्ने सन्तुलित कर्म हो, प्राकृतिक अनुशासन । प्रकृतिसँगको सम्झौतामा मानिस बाँचिरहेको हुन्छ । मानिसले आफ्नो जीवनको सहजताको लागि निरन्तर नयाँ ढंगले प्रकृतिको उपयोग गरिरहेको हुन्छ, प्रकृतिको गुणहरूको पहिचान गरी नयाँ किसिमले प्रयोग गर्दै नयाँ पद्धतिको विकास गरिरहेको हुन्छ । यही नै विकासवादी सिद्धान्त हो । त्यसैले मानिसको नयाँ खोज पनि कहिल्यै टुङ्गो लाग्दैन र विकासको क्रम पनि रोकिँदैन । यो शास्वत सिद्धान्त हो । मानिसले गर्ने यो नयाँ खोज, विकास र उपयोगका कारण प्रकृतिको स्वरूपमा निरन्तर परिवर्तन भैरहेको हुन्छ, असर परिरहेको हुन्छ । मानिसले आफ्नो स्वार्थ अनुकुल प्रकृतिको उपयोग गर्दा प्रकृतिको स्वतन्त्रतालाई बाधा पुग्न नदिनु प्राकृतिक अनुशासन हो जसले प्रकृतिको स्वचालित प्रक्रियाहरूमा बाधा पु¥याउँदैन र प्रकृतिको सन्तुलन कायम रहन्छ । जबसम्म प्रकृतिको सन्तुलन सुरक्षित हुन्छ तबसम्म मानिसको अस्तित्व पनि सुरक्षित हुन्छ तर मानिसले भविष्यमा हुने संकटलाई वास्ता नै नगरी प्रकृतिको विनाश गर्नु प्राकृतिक अनुशासनहीनता हो । जसको कारण पृथ्वीमा अनेकौ उथलपुथल हुन्छ । स्वभाविक रूपमा प्राकृतिक विपत्तिहरू आउँछन् । मान्छेले आफ्नै कारण यी सबै विपत्तिहरू भोग्नैपर्ने हुन्छ, भोगिरहेका पनि छन् । निश्चित छ अझ थुप्रै डरलाग्दो संकटहरू भोग्दै जानुपर्छ । वैज्ञानिकहरूको अनुसार वर्तमान अवस्थामा मानवले अंगिकार गरिरहेको बाटोले प्रकृतिको संरक्षण असम्भव छ । विकास र शक्तिको होडमा विश्व चुर्लुम्म डुबेको कुरा अहिलेको यथार्थ हो जसको कारण वायुमण्डल यति प्रदुषित भैसकेको छ कि वैज्ञानिक तथ्यको आधारमा भन्ने हो भने बिस्तारै पृथ्वी क्रमिक रूपमा तातिँदै छ, हिमालमा हिउँ कम हुँदै गइरहेकोे छ । यो प्रकृतिको सन्तुलन बिँग्रदै गइरहेको संकेत हो । विकासले विनास निम्त्याउँछ भन्ने गरिएको पाइन्छ । वैज्ञानिक स्टीफन हकिङको अनुसार ‘मानव आफ्नै कारणले अन्त हुँदैछन्’ । पृथ्वी तातिएर नै मानवको अन्त हुन्छ । मानिसहरूको कार्यशैली यस्तै रहिरहने हो भने अबको एक सय वर्षदेखि मानव जगतको विनाश शुरु हुनेछ । छ सय वर्षमा पृथ्वी शुक्र ग्रह जतिकै तातो हुन्छ र एक हजार वर्षमा पृथ्वी आगोको गोलो बन्नेछ । स्टीफन हकिङको यो विचारलाई मानव जगतको लागि चेतावनी मानौँ या खबरदारी ? वैज्ञाानिक तथ्य अनुसार संसारबाट जीवहरूको अन्त हुने क्रम जारी छ । विश्वबाट डाइनोसर लोप भैसकेको वैज्ञानिक तथ्यले बताउँछ । त्यस्तै बाघ, गिद्ध, मौरी संकटमा परिसकेको कुरा वैज्ञानिकहरूले भन्ने गरेको पाइन्छ । यो मानव संकटको संकेत हो । यदि संकटबाट बच्ने हो भने मानिसले प्राकृतिक अनुशासनलाई अंगिकार गर्नैपर्छ । यसभन्दा बाहेक कुनै अर्को विकल्प छैन ।
समाजिक अनुशासन
मानिसले समाजसँग गरिने सन्तुलित व्यवहार नै सामाजिक अनुशासन हो । सामाजिक अनुशासनलाई मानवबिचको अनुशासन पनि भन्न सकिन्छ किनभने मान्छेले मान्छेसँग गरिने सन्तुलित व्यवहार नै सामाजिक अनुशासन हो । सामाजिक अनुशासनलाई योगको भाषामा ‘यम’ भनिन्छ । आफ्नो समाजको मूल्यमान्यता र पहिचानलाई आत्मसात गर्नु सामाजिक बन्नु हो । समाज अनुकुल ब्यवहारिक बन्नु समाजिक अनुशासनमा बाँधिनु हो । सामाजिक अनुशासनले सामाजिक सद्भाव कायम राख्छ । समाजलाई एउटै छातामुनि राख्न मद्दत गर्छ । सामाजिक एकता नै समाजको तागत हो । जब समाजमा एकता कायम रहन्छ, तब मात्र समाजको विकास र परिवर्तनको सम्भावना रहन्छ । सामाजिक अनुशासनमा रहनेले जहिले पनि आफ्नो बोली, व्यवहार र कर्मले आफूलाई पनि हित होस् र समाजको सद्भावमा पनि आँच नपुगोस भनेर सोचविचार गरेर व्यवहार गर्ने गर्दछ । सामाजिक सद्भाव, विश्वासको जगमा अडेको हुन्छ । इष्टमित्र, साथीभार्ई, छरछिमेकी सबैसँग सुखदुःखमा सरसहयोग र आत्मियता नै विश्वासको आधार हो । ईष्र्या, द्वेष, घृणा समाजका शत्रु हुन । यसले सामाजिक अनुशासन भंग गर्छ र सामाजिक सद्भाव तहसनहस बनाउँछ । नेपाली समाज सामाजिक सद्भावको संरचनाभित्रकै समाज हो तर पनि समाज समस्यामुक्त छ भन्नसक्ने अवस्था छैन । ईष्र्या, द्वेष र घृणाको कारण समाज अशान्त भइरहन्छ । समाज किन अशान्त हुन्छ त ? समाजमा फरकफरक विचार र स्वभावका व्यक्तिहरू हुने भए । उनीहरूको इच्छा, चाहना र उद्देश्य पनि भिन्नभिन्न नै हुने भए । जसको कारण कार्यक्षेत्र फरक, कमाई फरक अनि जीवनशैली पनि फरक नै हुने भयो । कोही धनमा बलियो त कोही जनमा बलियो, कोही पहुँचमा बलियो त कोही सिपमा बलियो । यस प्रकारको भिन्नताको कारण कसैमाथि कसैको दबाब, थिचोमिचो, हेला गर्ने काम हुन्छ र ईष्र्या, द्वेष, घृणाको जन्म हुन्छ । प्रत्यक्ष बोलीवचनले पनि हुनसक्छ, अप्रत्यक्ष व्यवहार पनि हुनसक्छ । समाजमा बोलीले होस् या व्यवहारले, कसैलाई घोचपेच, घृणा गर्नु नै सामाजिक अनुशासनको उलङ्घन हो । जब सामाजिक अनुशासनको उल्लङ्घन हुन्छ, तब सामाजिक सद्भाव भताभुङ्ग हुन्छ । यो एक किसिमको सामाजिक समस्या हो । कहिलेकाहीँ व्यक्तिव्यक्तिका समूह उग्र पनि हुन्छ त्यतिबेला सामाजिक अगुवाहरूको प्रयासमा समस्यालाई मत्थर बनाउने काम पनि हुन्छ । त्यस्तो अवस्थामा कहिलेकाहीँ भने कानुनी कारवाही पनि हुन्छ । समाजमा यस्तो अवस्था आउन नदिन सामाजिक अनुशासन नै अनिवार्य छ । समाजमा चियोचर्चा गर्नुहुँदैन, टिकाटिप्पणी गर्नु हुँदैन । कुरा काट्ने र कुरामा खेल्ने प्रवृत्तिलाई त्याग्नुपर्छ अनि स्वार्थ हटाउनु पर्छ । वचनमा शिष्टता, व्यवहारमा नम्रता ल्याएमा समाजमा सामाजिक अनुशासन कायम हुन्छ । अब्राहम् लिङ्कन भन्नु हुन्छ, ‘नम्रता कमजोरी होइन’ । सामाजिक अनुशासनले मात्र शान्त, स्वस्थ र समृद्ध समाजको सम्भावना सम्भव छ । कसैलाई लाग्दो होला, अहिलेको जमानामा यो सब सम्भव हुनसक्छ ? यो त लेखाइ वा बोलाइको सुन्दरताको लागि प्रयोग हुने आदर्शका कुरा मात्र हुन् । व्यवहारमा सम्भव छ ? निश्चिय नै सम्भव छ । म एक्लै अनुशासित भएर के गर्ने ? अरू पनि त अनुशासित हुनुप¥यो नि भन्ने सोचलाई नै बदल्नुपर्छ । म अरूलाई राम्रो सोच्छु, अरूले पनि त मलाई राम्रो सोच्नुपर्छ भन्ने चिन्तनबाट मुक्त हुनैपर्छ । अरूबाट भएका नराम्रा कुराहरू अघि तेस्र्याएर आफूले गरेको अनैतिक कामलाई वैध साबित गर्ने प्रवृत्ति असल हुन सक्दैन । अरूले सेफ चोरेको उदाहरण दिएर आफूले करुवा चोरेको विषय कुन ठूलो हो र भनि तर्क गर्नु जायज मान्ने सक्दैन । कसले कति ठूलो सामान चोरी ग¥यो भन्ने कुरा समस्या होइन । समस्या त चोर्ने मनसाय हो । यस्तो विचारलाई निरुत्साही गर्नुपर्छ । आफू त ठिकै छु, अरू मात्र बेठिक । आफूले गर्दा ठिक, अरूले त्यहि चिज गर्दा बेठिक । आफूले मात्र गर्न पाइन्छ, अरूले पाइँदैन् । यी आफू केन्द्रित मनोरोगहरूबाट मुक्त हुनैपर्छ । स्वस्थ समाज सम्भव छ । ‘संसारलाई बदल्नु छ, प्रारम्भ आफैबाट गर्नु पर्छ’ । अरूको कुरा नगरेर आफू अनुशासित हुनु आवश्यक छ । स्वस्थ समाजको प्र्रारम्भ यहीँबाट प्रारम्भ हुन्छ । 
समाज निर्देशक पनि हो, निर्देशित पनि छ । हाम्रो भूमिका के ? निर्देशित या निर्देशक ? धेरै मानिसहरू समाजको निर्देशन स्विकार गरेर बाँच्छन । अस्पष्ट, असन्तुष्ट भएर पनि सवालजवाफमा सहभागी हुँदैनन । तर कोहीकोही मानिस समाजलाई समयानुकुल परिवर्तनको लागि मन्चमा उभिन्छन । ती मानिस नै समाजका अगुवा हुन । समाजले पनि उसको अगुवाई स्विकार गर्छ । समाजका मूल्यमान्यता, आदर्श समयानुकुल परिवर्तन गर्नु जरुरी हुन्छ । त्यसो भएन भने समाजका मूल्यमान्यता नै अग्रगमनको पंगु बन्छ । गोरेटो छेक्ने पहाड हुन्छ । समाजका हरेक व्यक्तिको लागि अप्ठ्यारो गलगाँठ जस्तो हुन्छ जसलाई बाध्यताले स्विकार गर्न सकिन्छ, गर्वले होइन । समयको माग बमोजिम समाजको रूपान्तरण जरुरी छ तर समाजको मूल मर्म र पहिचानलाई जोगाउन पनि त्यतिकै विचार पु¥याउनु अत्यन्त आवश्यक छ । समाजको पहिचान गुम्यो भने समाज पनि जोगिँदैन । कुनै पनि परम्परालाई पछिसम्म जीवन्त राख्ने हो भने समयानुकुल त्यसलाई परिवर्तन गर्नैपर्छ । परिवर्तनको लागि समाजका अगुवाहरूले नेतृत्व गर्छन् । उदाहरणको रूपमा यहाँ एउटा ऐतिहासिक घटनालाई राख्न चाहन्छु । 
राणाकालमा उपत्यका वरपरका काँठ क्षेत्रका नेवारी गाउँहरूका जनताले हरेक वर्ष राणाहरूको अड्डामा गएर हात्ती, घोडाको लागि घाँस पु¥याउन जानुपर्ने बाध्यता थियो । त्यस्तै तेल उद्योग (साः) हरूबाट द्वारे मार्फत तेल कर तिर्नुपर्ने बाध्यता पनि थियो । यो अवस्था ठेचो गाउँमा पनि थियो । त्यस बेलाका ठेचोमा रहेका सबै तेल उद्योगहरूबाट नियमित वर्षेनी तेल कर तिर्दै आइरहेका थिए । जनता भित्रभित्र राजनीतिक रूपमा राणा शासनको विरुद्ध संगठित हुन थाले र राणा शासनको विरुद्ध देशभर आवाज उठ्दै थियो । राणाहरूले शहिद धर्मभक्त, गंगालाल, दशरचन्द र शुक्रराजहरूलाई फाँसी दिए । जसको कारण पनि राणाहरूको विरुद्ध जनतामा एक किसिमको आक्रोश उत्पन्न भएको थियो । भूमिगत रूपमा संगठित आवाजहरू सडकमा उर्लिसकेका थिए त्यसैको प्रभावस्वरूप ठेचोका तेल उद्योगका नाइकेहरूको नेतृत्वमा राणा सरकारलाई तेल कर नबुझाउने निर्णय भयो र जनताले तेल कर बुझाउन छोडे । सिपाहीहरूले घरघरमा छापा मारेर नाइकेहरूलाई गिरफ्तारी गरे, यातना दिए । राज्यको माथिल्लो तहमा कानुनी बहस भएपछि अन्तमा तेल कर तिर्नु नपर्ने फैसला भयो । वि.स. २००७ सालको क्रान्तिपछि घाँस पु¥याउनुपर्ने प्रथा पनि अन्त भयो । यो ऐतिहासिक घटना सामाजिक नेतृत्वले भोग्नुपर्ने जोखिमको एउटा उदाहरण रूपमा उल्लेख गरिएको हो । यसरी समाजका अगुवाहरूले बेलाबेलामा जोखिमको सामना गर्ने आँट गरेनन भने कसरी समाजको परिवर्तन सम्भव हुनसक्छ ? अगुवाहरूलाई अनेक बाधा अड्चन, लाञ्छना, आरोप पनि लाग्छ, सम्मान पनि हुन्छ । जसले बाधा अड्चनको सामना गर्ने आँट गर्न सक्दैन, जसले लाञ्छना, आरोपलाई स्विकार गर्न सक्दैन, जसले सम्मान र प्रशंसा मात्र आशा गर्छ, त्यसले समाजको नेतृत्व गर्न सम्भव नै छैन । कसले के भन्छ भनेर जोडघटाउमा लाग्यो भने कहिले पनि समाजको काम अगाडि बढ्दैन् । कुनै पनि काम गर्दा रिसाउने र खुसाउनेको चक्रमा प¥यौं भने कामको प्रारम्भ नै हुँदैन । यसो भन्दा कुनै व्यक्तिलाई के कति असर पर्छ, कति हानी पुग्छ भनेर सोच्नै पर्दैन भन्ने अर्थ लाग्नु हुँदैन् । कसैलाई अहित नहुने र सबैको हित, समाजको हित, सर्वकल्याणलाई केन्द्रमा राखेर शुद्ध चित्तले निष्पक्षताले काम गर्दा मात्र समाजको काम अघि बढछ । यसरी गरेको काममा आइपर्ने हरेक प्रश्नको जवाफ पनि सजिलो हुन्छ । समाजको आवश्यकता अनुसार थोरैको नोक्सानीले धेरै भन्दा धेरैको हित हुने गरेर पनि अघि बढ्नुपर्ने हुन्छ । समाजको हितको विषयमा सोच्नु र समाजको काममा सहभागी हुनु समाजका हरेक व्यक्तिको कर्तव्य अनि दायित्व हो । त्यसैले त मानिसलाई सामाजिक प्राणी भनिन्छ । समाजको भन्दा आफ्नो निजी स्वार्थमा मात्र केन्द्रित हुने मानिस असामाजिक हो । सामाजिक अनुशासनका लागि स्वस्थ र सभ्य अनुशासन कायम हुनु अत्यन्त आवश्यक छ । हाम्रो समाजका हरेक व्यक्तिहरू अनुशासित हुनैपर्छ । अनुशासित समाजको निर्माणको लागि अनुशासित नेतृत्वको पनि उतिकै खाँचो हुन्छ । स्वस्थ र सभ्य समाजको लागि स्वस्थ अनुशासन अपरिहार्य छ । सामाजिक अनुशासनभित्र परिवारको अनुशासन र अतिरिक्त अनुशासन गरी दुई अनुशासन जोडिएका हुन्छन् । क्रमशः


तपाइको प्रतिक्रिया दिनुहोस्